सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशीमा बाढी आएको सात दिन बित्यो, जलविद्युत् आयोजनाका ९८३ जना अझै बेपत्ता

जलसरोकार
बुधबार, भदौ १७, २०८३ | १२:५०:२२ बजे

 

काठमाडौं : भोटेकोशी नदीमा विनाशकारी बाढी आएको सात दिन बितिसक्दा पनि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९८३ जना अझै सम्पर्कविहीन छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले उपलब्ध गराएको विवरणअनुसार बाढीबाट प्रभावित १२ जलविद्युत् आयोजनामा कार्यरत उनीहरूको अवस्था अझै अज्ञात रहेको हो ।

बाढीबाट रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ । तीमध्ये आठ आयोजना सञ्चालनमा रहेका छन् भने चार आयोजना निर्माणाधीन छन् ।

इप्पानका अनुसार रसुवामा मात्रै ६ जलविद्युत् आयोजना प्रभावित भएका छन् । ती आयोजनाको कुल क्षमता ४९४ मेगावाट छ । माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका हुन् । यी आयोजनासँग सम्बन्धित ७१० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै, नुवाकोटका त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिड्ल त्रिशूली गंगा र सौया जलविद्युत् आयोजना प्रभावित भएका छन् । यी आयोजनासँग सम्बन्धित २७३ जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ ।

बाढीबाट सबैभन्दा गम्भीर रूपमा प्रभावित आयोजनामध्ये ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ पनि हो । आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास जारी रहे पनि अहिलेसम्म उद्धार हुन सकेको छैन । सुरुङभित्र उद्धारकर्ता पठाउन ‘ड्रिफ्ट’ लिंक खन्न चारवटा स्काभेटर प्रयोग गरिएको छ । पानी बाहिर निकाल्ने तथा डेब्रिज हटाउने कामसमेत भइरहेको छ ।

२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा पनि उद्धार कार्य कठिन बनेको छ । भारतीय उद्धार टोली, नेपाली सेना लगायतले विद्युत्गृहसम्म पुग्ने बाटो सफा गरे पनि सुरुङसम्म मेसिनरी उपकरण लैजान नसक्दा उद्धारले अपेक्षित गति लिन सकेको छैन । विद्युत्गृहभित्र जम्मा भएको बाढीको लेदो र हिलो हटाएर पहुँच स्थापित गर्नु चुनौती बनेको छ ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट हराइरहेका ९१ जनाको अवस्था मंगलबारसम्म पनि अज्ञात रहेको छ । नेपाली सेनाको नेतृत्वमा स्थलगत अवलोकन गरिएको भए पनि थप उद्धार कार्य अघि बढाउन कठिनाइ भइरहेको विवरणमा उल्लेख छ । उद्धारका लागि आयोजनाले स्काभेटर खरिद गरी रसुवा लैजाने तयारी गरेको छ ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट पनि ४१ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि १३ जना प्राविधिक तथा विज्ञ परिचालन गर्ने तयारी गरिएको छ । आयोजनाबाट यसअघि १९ जनाको उद्धार भइसकेको जनाइएको छ ।

३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनामा निर्माण कम्पनी, परामर्शदाता तथा प्रवर्द्धक कम्पनीमा कार्यरत १९१ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । सुरुङमा फसेका २३ जना यसअघि आफैं बाहिर निस्किएका थिए भने पाँच जनाको शव फेला परेको कम्पनीले जनाएको छ ।

त्यस्तै, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा बाढी आएको दिन १ हजार ४३३ जना कार्यरत रहेको विवरण छ । उद्धार तथा सम्पर्कमा आएका ८७६ जनामध्ये विभिन्न कम्पनी तथा ठेकेदारसँग सम्बन्धित ३८५ जना अझै सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ । सुरुङभित्र लेदो तथा डेब्रिस भरिएकाले उद्धारमा थप चुनौती देखिएको छ ।

बाढीपछि विभिन्न आयोजनामा खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन व्यक्तिको सङ्ख्या तथा अवस्थाबारेको विवरण थप अद्यावधिक हुन सक्ने इप्पानले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीले जलविद्युत् आयोजनाका उत्पादन तथा निर्माण संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ । मानवीय क्षतिसँगै आयोजनाका सुरुङ, विद्युत्गृह, पहुँचमार्गलगायत संरचनामा क्षति पुगेपछि उद्धारसँगै आयोजनाको पुनःस्थापनासमेत चुनौतीपूर्ण बनेको छ ।

प्रकाशित मिति : बुधबार, भदौ १७, २०८३ | १२:५०:२२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

भर्खरै