सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिलिमेमा सम्पर्कविहीनका परिवारलाई ऊर्जा मन्त्रीको भरोसा : ‘अन्तिम सम्भावनासम्म खोजी गर्छौँ, आशा नमार्नुहोस्’

जलसरोकार
बुधबार, भदौ १७, २०८३ | १४:५५:२३ बजे

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेटेर कठिन परिस्थितिमा पनि सरकारले खोजी तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने बताएका छन्। उनले एक सातासम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउनुको पीडा अत्यन्त गहिरो हुने भन्दै परिवारजनलाई ‘अझै आशा मार्ने बेला नभएको’ बताएका छन्।

परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी पाउन नसक्दा सरकार पनि उत्तिकै मर्माहत रहेको बताए। उनले हरेक जीवन अमूल्य रहेको भन्दै एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्न नहुने धारणा व्यक्त गरे।

‘हरेक जीवन अमूल्य छ। एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ मन्त्री श्रेष्ठले भने।

उनका अनुसार खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि तथा उपलब्ध स्रोतसाधन परिचालन गरिएको छ। उद्धार प्रयासमा प्रविधि, दक्ष जनशक्ति र स्रोतको कुनै कमी हुन नदिइएको दाबी गर्दै उनले एक सातासम्म पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढ्दै गएको बताए।

मन्त्री श्रेष्ठले कठिन परिस्थितिका बाबजुद खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिँदै परिवारजनलाई धैर्य नगुमाउन आग्रह गरे। ‘हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहनेछौँ। अझै आशा मार्ने बेला भएको छैन। प्रयास र प्रार्थना सँगसँगै गरौँ, आशा जीवित राखौँ,’ उनले भने।

उनले सरकार सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकका परिवारसँगै रहेको बताउँदै कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

भेटका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सरकारका विभिन्न निकायबीच समन्वय र सहकार्य गर्दै खोजी तथा उद्धारको काम अघि बढिरहेको जानकारी दिइन्। नागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएकाले त्यसैअनुसार उपलब्ध सबै उपायको प्रयोग भइरहेको उनको भनाइ थियो।

चिलिमे जलविद्युत् कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठले पनि परिवारजनलाई हालसम्म भइरहेका खोजी तथा उद्धार प्रयासबारे जानकारी गराएका थिए। उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन कम्पनीका तर्फबाट आवश्यक सबै प्रयास भइरहेको उनले बताएका थिए।

भोटेकोशी तथा त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछि चिलिमे जलविद्युत् आयोजनामा कार्यरत केही कर्मचारी तथा राष्ट्रसेवक सम्पर्कविहीन छन्। उनीहरूको अवस्थाबारे एक सातासम्म पनि यकिन जानकारी प्राप्त हुन नसकेपछि परिवारजनमा चिन्ता बढिरहेको अवस्थामा ऊर्जामन्त्रीले परिवारसँग भेट गरी सरकारको तर्फबाट खोजी तथा उद्धारका लागि भइरहेको प्रयासबारे जानकारी दिएका हुन्।

प्रकाशित मिति : बुधबार, भदौ १७, २०८३ | १४:५५:२३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया