आयोजनामा अन्तर्राष्ट्रिय चासो
IFC, ADB, AIIB, FMO लगायत नौवटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको संयुक्त लगानीमा नेपाल वाटर एण्ड ईनर्जी डेभलप्मेण्ट कम्पनीद्वारा निर्माणाधीन उक्त आयोजनाले अन्तराष्ट्रिय सामाजिक तथा वातावरणीय मापदण्ड पालना गर्दै अगाडि बढाइएको छ । विशेषतः आयोजना निर्माण तथा आजवियो लागू गर्ने उद्देश्यले आयोजना प्रभावित स्थानीय तामाङ समुदायसँग स्वतन्त्र तथा अग्रिम जानकारीसहितको सहमति-FPIC (Free, Prior and Informed Consent) प्रक्रिया सन् २०१८ मा सम्पन्न गरेको छ ।
सन् २०७५ मा कम्पनी, स्थानीय सरकार र आजवियो समुदायबीच भएको त्रिपक्षीय सम्झौता र FPIC प्रक्रिया पश्चात लागु गरेको आजवियो नेपालका लागि मात्र नभई अन्तर्राष्ट्रिय लगानीकर्ता तथा आदिवासी समुदायका लागि पनि प्रेरणादायी अभ्यास बनेको छ। यस विषयमा सन् २०१९ मा भएको अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन तथा संयुक्त राष्ट्रसंघको स्थायी फोरममा समेत नेपालमा पहिलो पटक लागु भईरहेको आजवियो प्रति चासो देखिएको थियो।
२०८१ मा हासिल गरेका उपलब्धिहरू
२०७५ मा प्रारम्भ आजवियो कार्यान्वयनमा सुरुवाती दिनमा भएको ढिलाइका कारण आयोजना प्रभावित स्थानीयहरु तथा अन्तराष्ट्रिय वित्तीय संस्थाहरुमा निरासा छाएको देखियो । यसका बाबजुद, पछिल्लो दुई वर्षमा आजवियो कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। आजवियोमार्फत रसुवाको तीनवटा गाउँपालिकाभित्र रहेका १३ समुदायहरूलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य राखिएको छ।
१. ५२ वटा कार्यक्रम समिति गठन, जसले निम्नानुसारका चारवटा मुख्य क्षेत्रहरूमा कार्यक्रम अघि बढाएका छन्;
– सांस्कृतिक सम्पदा
– सामाजिक विकास
– आर्थिक विकास
– क्षमता अभिवृद्धि
२. ५० वटा कार्यक्रम समितिसँग अनुदान सम्झौता, र १०० कार्यक्रमहरूको कार्यान्वयन
३. पहिलो वर्षमा ने. रु. ४९.४ मिलियन बराबरको अनुदान सम्झौता
४. ५१ वटा कार्यक्रम समितिले बैंक खाता खोलेको
५. क्षमता अभिबृद्धी कार्यक्रमहरु मार्फत लेखा व्यवस्थापन, अनुगमन र गुनासो सुनुवाइ सम्बन्धी क्षमता अभिवृद्धि
६. लागु गरिएका कार्यक्रमहरुको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न १३ सामुदायिक अनुगमन टोली, १ आन्तरिक अनुगमन टोली, र १ गुनासो सुनुवाइ समिति गठन र परिचालन
७. सहमतिबमोजिम ४९ वटा कार्यक्रम समितिद्वारा सबै ९५ वटा गतिविधिहरु सम्पन्न
८. सम्झौता भएको कुल अनुदान रकम (ने. रु. ४ करोड ९४ लाख) को ९५.७२ प्रतिशत भुक्तानी
समुदायमै आधारित निर्णय प्रक्रिया
आजवियो अन्तर्गत १३ वटा समुदायलाई आफ्नै आवश्यकता पहिचान गर्न तथा कार्यक्रम छनोट गर्न पूर्ण स्वतन्त्रता दिईएको छ। प्रत्येक कार्यक्रम छनोटअघि स्थानीयहरूसँग छलफल, सुझाव संकलन, र सहमतिको आधारमा कार्यक्रमको प्राथमिकता निर्धारण गरिएको छ र समुदायको तल्लो तहबाटै आफ्नो नेतृत्व तथा योजना छनोटमा सहभागितामूलक विकासको आदर्श अभ्यास स्थापित गरेको छ । कार्यक्रम छनौट तथा लागू गर्न पूर्व क्षमता अभिवृद्धि कार्यक्रमहरूले समुदायका सदस्यहरूलाई लेखा व्यवस्थापन, निर्णय प्रक्रिया, र समुहगत नेतृत्वमा आत्मनिर्भर बनाएको छ। आजवियो लागू गर्ने यस अभ्यासले पारस्परिक लाभलाई सुनिश्चित गरि विकास निर्माणसम्बन्धी आयोजना र स्थानीय समुदायबीचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुर्याउने देखिन्छ । नेपालमा नै पहिलोपटक लागू भएको यो समुदायिक बिकाससम्बन्धी मोडेल सफल भएमा वैदेशिक लगानी आकर्षणमा योगदान पुर्याउने बिश्वास लिईएको छ।
अनुदान परिचालनमा पारदर्शिता र अन्तर्राष्ट्रिय भरोसा
कम्पनीले आजवियो-२०८१ को अनुदान रकम परिचालनलाई पारदर्शी बनाउने हेतुले बैंकिङ प्रणालीमार्फत मात्र कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ। यसका अतिरिक्त, कार्यक्रम कार्यान्वयनको प्रत्येक चरणमा आन्तरिक अनुगमन टोली तथा कार्यक्रमको अन्तमा कार्यक्रमहरुको प्रभावको अनुगमन तथा मुल्यांकनको लागि बाह्य अनुगमनकर्ताहरूको प्रावधान राखेको छ। संचालनमा रहेका र सम्पन्न भइसकेका कार्यक्रमहरुमा स्थानीय सहभागिता तथा प्रगति अवलोकन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऋणदाताहरूको समेत नियमित स्थलगत भ्रमण भइरहेको छ। हालसम्ममा, कार्यक्रम कार्यान्वयनको क्रममा देखिएको पारदर्शिता तथा प्रभावकारिताले अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास जितेको देखिन्छ। यद्यपि, आजवियो-२०८२ लागु गर्ने क्रममा थप सुधार तथा परिमार्जनको आवश्यकता देखिएको छ ।
आजवियो कार्यान्वयनमा सुधारका उपायहरू
आजवियो-२०८१ अन्तर्गतको अनुदान रकम पारदर्शी तथा प्रभावकारी रुपमा उपयोग भएको देखिएता पनि आजवियो-२०८२ र आजवियो-२०८३ लाई थप सुदृढ बनाउनका लागि निम्नानुसार सुधार तथा परिमार्जनका उपायहरु अवलम्बन गर्न आवश्यक देखिन्छ:
आजवियो शासकीय संरचना पुनः स्थापनाको लागि खुला तथा निश्पक्ष प्रतिस्पर्धा
कम्पनीको अनुगमन संयन्त्रलाई बलियो बनाउन आजवियो सहयोग इकाईको थप सुदृढीकरण
लागू हुने कार्यक्रमको प्राविधिक डिजाइन र लागत अनुमतिको पूर्व तयारी
बाह्य अनुगमन टोलीका सुझावको कार्यान्वयन
पारदर्शिता तथा प्रभावकारिता सुनिश्चित गर्न सूचना प्रविधिको अधिकतम प्रयोग
कार्यक्रमका लाभग्राहीको छनौट गर्दा समाजको तल्लो वर्गलाई पहिलो प्राथमिकता
निष्कर्ष
अन्तराष्ट्रिय वित्त निगम (IFC) लगायत नौवटा अन्तराष्ट्रिय वित्तीय सँस्थाहरुको लगानीमा निर्माणाधीन माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजना (२१६ मे. वा.) अन्तर्गत नेपालमै पहिलोपटक लागू गरिएको यस आजवियोले पुरातन सामन्ती सोचलाई परास्त गर्दै स्थानीय आदिवासी तथा जनजाति समुदायहरुको तल्लो वर्गलाई समेत सबल, आत्म निर्भर, र विकास निर्माणमा सहभागी बनाएको छ। आजवियो अन्तर्गत लागु गरिएको यो नयाँ अभ्यास (Bottom-up approach) लाई थप सुधार गर्दै भविश्यमा निर्माण हुने अन्य पूर्वाधारसम्बन्धी परियोजनाहरूका लागि वैदेशिक लगानी जुटाउनसमेत एक उपयोगी उदाहरण बनाउनुपर्ने देखिन्छ ।
सुनको मूल्य निरन्तर उकालोतिर, आज कतिमा हुँदैछ खरिदबिक्री ?
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क
लोडसेडिङ हटे पनि अझै धेरै क्षेत्रमा अँध्यारो छ : कुलमान घिसिङ
‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यातबाट ६ खर्बदेखि ७ खर्ब पैसा कमाउन सकिन्छ : कुलमान
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर