नेपालमा वार्षिक सालाखाला कति पानी हुन्छ ? सरकारी दस्तावेजहरुका अनुसार २२५ अर्ब घनमिटर भन्ने पढ्न पाइन्छ । तर हो र ? १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्नेबारेको ‘दश वर्षीय जलविद्युत् विकास योजना तर्जुमा कार्यदल, २०६५’ को प्रतिवेदनलाई आधार मानेर विश्लेषण प्रारम्भ गर्छु है त । यस प्रतिवेदन को ‘२.३ नदीहरुको वहाव’ का अनुसार नेपालमा वार्षिक सालाखाला २२४.३ अर्ब घनमिटर पानी उपलब्ध छ, जसमध्ये ५०.५ अर्ब घनमिटर पानी तराईबाट निसृत हुन्छ ।
यसको मतलब, नेपालको तराइमा न्यूनतम पनि वार्षिक ५०.५ अर्ब घनमिटर पानी वर्षातबाट प्राप्त हुन्छ (अर्को पानीको श्रोत छैन नेपालको तराईमा) । यसै हिसाबले, परेको सवै पानी निसृत हुने हो भने तराईको २१ हजार एक सय वर्ग किलोमिटर क्षेत्रमा ५०.५ अर्ब घनमिटर पानी वार्षिक रुपमा उपलब्ध हुन २,३९३.३६ मिलिमिटर वार्षिक सालाखाला वर्षा हुनुपर्छ कि तराईबाट निसृत हुने पानीको अन्य श्रोत हुनुपर्छ ।
आकाशबाट पानी परेपछि केही पानी वाष्पीकरण हुन्छ भने केही पानी जमिनले सोस्छ र केही पानी भूमिगत जलभण्डार भर्न खर्च हुन्छ । त्यसो भए, नेपालको तराईमा वार्षिक सालाखाला कति पानी पर्छ त ? २,५०० मिलिमिटर? ३,००० मिलिमिटर ? तर मैले गरेको विश्लेषणले नेपालको तराईमा वार्षिक सालाखाला केवल १,८९९.६० मिलिमिटर मात्र पानी पर्दछ ।
सोही प्रतिवेदनको सोही अंशमा उल्लेख गरिएअनुसार १७३.८ अर्ब घनमिटर पानी नेपालको हिमालदेखि चुरे भावर क्षेत्रसम्मबाट निसृत हुन्छ र यो परिमाणको पानीमध्ये ५४ अर्ब घनमिटर पानी भारत र चीनबाट नेपाल प्रवेश गर्दछ । यसै प्रतिवेदनको तालिका २.१ मा प्रस्तुत गरिएबमोजिम महांकाली नदीबाहेकका पहिलो र दोश्रो श्रेणीका नदीहरुको वार्षिक सालाखाला बहाव ती नदीहरुमा जडान गरिएका जलमापन यंन्त्रका अनुसार १५४.५ अर्ब घनमिटर भएको देखिन्छ भने महाकली नदी वास्तवमा पूरै नेपाली नदी भए पनि सो नदीको कूल जलग्रहण क्षेत्र १२,१०० (??) वर्ग किलोमिटरमध्ये नेपालभित्र पर्ने जलग्रहण क्षेत्र सोही प्रतिवेदन बमोजिम २,२५० वर्ग किलोमिटर भएकोले समानुपातिक आधारमा नेपालभित्रबाट सो नदीमा प्रवाहित हुने पानीको वार्षिक सालाखाला परिमाण ३.६१ अर्व घनमिटरसमेत माथि उल्लिखित परिमाण १५४.५ मा जोड्दा १५८.११ अर्ब घनमिटर पानी नेपालको पहाडी क्षेत्रबाट प्रवाहित हुने देखिन्छ ।
यो परिमाणको पानी मापनस्थलहरु नदीहरु पहाडबाट तराई निस्कने स्थानमा भएकाले आकाशबाट परेको पानी तथा अन्य श्रोतबाट आएको पानीबाट नेपालको पहाडी क्षेत्रमा खर्च भएको पानीसमेतको हिसाब गर्न जरुरी हुन्छ । यसबाहेक, आकाशबाट पानी पर्नेबित्तिकै पानीको केही अंश वाष्पीकरणमा खर्च हुन्छ भने केही अंश जमिनको चिस्यान बढाउने काममा खर्च हुन्छ । त्यसैले, सम्पूर्ण पानीको हिसाब गर्दा यी सबै खर्चहरुको समेत हिसाब हुन जरुरी हुन्छ ।
नेपालमा प्रवाह हुने पानीको केही भाग चीनबाट बगेर आउँछ भने केही हिँउको एब्लेशनबाट प्राप्त हुन्छ । मैले गरेको अनुसन्धान–विश्लेषणले चीनबाट वार्षिक औसत नेपाल प्रवेश गर्ने पानीको कुल परिमाण ७.४९ अर्ब घनमिटर (नेपालको बाढी, बिजुली र सम्पत्ती बाट साभार) र एब्लेशनबाट आउने पानीको परिमाण २.१२ अर्ब घनमिटर (वाटर ब्यालेनस अफ नेपालबाट साभार) गरी जम्मा वार्षिक सालाखाला ९.६१ अर्ब घनमिटर पानीको श्रोत आकाशबाट आउने पानीको भन्दा फरक छ । त्यसैले, जलमापन केन्द्रमा नापिएको पानीमध्ये आकाशबाट सालबसाली रुपमा परेको पानी जम्मा १४८.५ अर्ब घनमिटर हुन आउँछ ।
नेपालमा वाष्पीकरण र माटोको चिस्यान बढाउने कार्यमा कति पानी खर्च हुन्छ भन्ने खासै राम्रो तथ्यांक उपलब्ध नभएकाले कर्णाली नदी बेसिनमा निकालिएको २५ प्रतिशत वाष्पीकरणमा हुने खर्च र मेरो अनुमानमा करिव १५ प्रतिशत माटोको चिस्यान बढाउने कार्यमा खर्च हुने हिसाब गर्दा कुल वार्षिक बहाव १४८.५ अर्ब घनमिटरको खर्च जम्मा ९९ अर्ब घनमिटर खर्च हुने देखिन्छ । आकाशबाट परेको पानीको केही अंश पानीका जलभण्डारहरु पुनर्भरण गर्ने कार्यमा पनि खर्च हुन्छ तर सो पुनर्भरणमा खर्च भएको पानीको अधिकांश अंश नदीनाला तथा जलकुण्डहरुलाई हिउँदको महिनामा जीवन्त राख्ने कार्यमा खर्च भई जलमापन यन्त्रले मापन गरेको हुनाले पानीको यस परिमाणलाई हिसाबमा छुट्टै समावेश गरिने छैन ।
२०७५ मा नेपाल सरकारले प्रकाशित गरेको श्वेतपत्रका अनुसार नेपालमा सिंचार्इंमा प्रतिवर्ष २८.८ अर्ब, उद्योगमा ०.५ अर्ब र अन्य सेवामा ०.०१ अर्व घनमिटर गरी जम्मा २९.३१ अर्ब घनमिटर पानी खपत भएको अनुमान छ । यसमा करिव १ अर्ब घनमिटर पानी घरायसी प्रयोगमा खर्च भएको अनुमान गर्दा जम्मा ३०.३१ अर्ब घनमिटर पानी सालबसाली रुपमा खर्च भएको अनुमान गर्न सकिन्छ । यो सवै पानीमध्ये तराईमा करिव १.९५ र पहाडमा करिव १.५ अर्ब घनमिटर भूमिगत पानीको प्रयोग हुने अनुमान गरिए पनि भूमिगत पानी पनि आकाशबाट आउने पानीबाट नै पुनर्भरण हुने भएकाले सो परिमाणलाई समेत आकाशबाट आउने पानीअन्तर्गत नै राखी हिसाब गरिन्छ ।
यो पानीको परिमाण मैले अनुमान गरेको वार्षिक पानीको खपतको अनुमानभन्दा निकै फरक भएको भए पनि सरकारी तथ्यांकलाई नै आधार मान्दा र पहाडमा खपत हुने पानीको परिमाणलाई कुल परिमाणको ४० प्रतिशत राखी हिसाब गर्दा पहाडमा खपत हुने पानीको परिमाण करिव १२ अर्ब घनमिटर हुन आउँछ ।
त्यसैले, नेपालमा जडित जलमापन केन्द्रहरुमा १५८.११ अर्ब घनमिटर पानी हुने हिसाब गर्दा नेपालको पहाडी क्षेत्रमा वार्षिक सालाखाला २५९.५ अर्ब घनमिटर पानी आकाशबाट परेको अनुमान गर्न सकिन्छ । यो परिमाणको पानी नेपालका पहाडी क्षेत्रको कुल जलग्रहणक्षेत्र एक लाख १४ हजार २ सय ३४ वर्ग किलोमिटरको हो । समानुपातिक हिसाबले बाँकी रहेको १२ हजार एक सय ४६ बर्ग किलोमिटरमा औसतमा वार्षिक २७.५९ अर्ब घनमिटर पानी आकाशबाट पर्ने हिसाब आउँछ । त्यसैले, नेपालको पहाडी क्षेत्रमा वार्षिक सालाखाला २८७.०९ अर्ब घनमिटर पानी हुन आउँछ । यसै हिसाबले नेपालको पहाडी क्षेत्रमा वार्षिक सालाखाला २,२७१.६५ मिलिमिटर वर्षा हुने देखिन्छ । तराई क्षेत्रमा भने माथि उल्लेख गरिएझैं वार्षिक सालाखाला १,८९९.६० मिलिमिटर वर्षा हुने देखिन्छ ।
माथि उल्लेखित सवै पानीको हिसाब गर्दा नेपालमा निम्न श्रोतहरुबाट निम्न बमोजिम परिमाणमा पानी वार्षिक रुपमा उपलब्ध हुन्छः
त्यसैले, नेपाल सरकारले नेपालमा वार्षिक रुपमा उपलब्ध हुने पानीको परिमाण सालाखाला २२५ अर्ब घनमिटर भन्ने कुरालाई राम्रैसँग सच्याउन जरुरी छ ।
यो परिमाणको पानीमध्ये नेपाल सरकारले प्रकाशित गरेको श्वेतपत्र अनुसार नेपालमा वार्षिक खपत हुने पानीको औसत परिमाण करिव ३०.३१ अर्ब घनमिटर छ भने मैले गरेको अनुसन्धान–विश्लेषण ले १६.०६ अर्ब घनमिटर मात्र देखिएको छ ।
माथि उल्लेखित कार्यदल को प्रतिवेदनको २.३ दफामा चीन र भारतबाट नेपाल आउने पानीको परिमाण संयुक्त रुपमा ५४ अर्ब घनमिटर भनी उल्लेख गरिएको छ । सोही अनुसार चीनबाट नेपाल आउने पानीको परिमाण ३९.३ अर्ब घनमिटर र भारतबाट नेपाल आउने पानीको वार्षिक परिमाण १४.७ अर्ब घनमिटर भनी खुलाइएको छ । चीनबाट सालबसाली रुपमा नेपाल आउने पानीको औसत परिमाण मेरो अनुमानमा माथि उल्लेख गरिए झै ७.४९ अर्ब घनमिटर भएकोले यी प्रस्तुत गरिएका चीनबाट नेपाल आउने पानीको परिमाण भनिएका अंकहरुमा परिभाषाको नै भिन्नता भएको हुन सक्ने भए पनि भिन्नता एकदमै धेरै भएकाले प्रतिवेदनमा दिइएको तथ्यांक गलत भएको अनुमान गरेको छु ।
अझ योभन्दा पनि आश्चर्यलाग्दो तथ्यांक त भारतबाट नेपाल प्रवेश गर्ने भनी उल्लेख भएको पानी को परिमाणमा छ किनभने मेरो विचारमा नेपालका सबै नदीहरु तथा पानी बग्ने खोल्साहरु उत्तर बाट दक्षिण बग्ने भएकाले नेपाल–भारत सिमानाका केही स्थानहरुमा केही नगण्य मात्रामा वर्षातको बाढी आएको समयमा धेरै सानो परिमाणमा पानी उल्टो बगेर नेपाल प्रवेश गरेको भए पनि यो तथ्यांक सर्बथा गलत छ । तर, उक्त प्रतिवेदनमा उल्लेख भएविपरीत भन्दा अत्यधिक महाकाली नदी समुच्चा नेपालको नै मानेर महाकाली नदीको औसत वार्षिक वहाव ९.३ अर्ब घनमिटर लाई ३.६ अर्ब घनमिटरको ठांउँमा राखेर हिसाब गर्दा पनि भारतबाट नेपाल आउने पानीको वार्षिक औसत परिमाण ५.७ अर्ब घनमिटर मात्र हुन्छ, प्रतिबेदनमा प्रस्तुत गरिए बमोजिमको १४.७ अर्ब घनमिटर हुँदैन ।
झन महांकाली नदीलाई सिमाना नदी वा साझा नदी भनेर आधा आधा पानीको हिसाब गर्दा त प्रतिवेदनमा समावेश गरिएको परिमाणमा भारतको पानी नेपाल प्रवेश गर्दैन । यस्ता माथि उल्लेखित गलत तथ्यांकहरुलाई नेपालमा विद्यमान वार्षिक औसत २२५ अर्ब घनमिटर भनिएको पानीको परिमाणबाट घटाउने हो भने करिव ५०–६० अर्ब घनमिटर पानी घटाउनु पर्ने हुन्छ र पानीको कूल परिमाण २२५ होइन बढीमा १७५ अर्ब घनमिटर मात्र हुन आउँछ । तर, उक्त प्रतिवेदनमा जेसुकै लेखिएको भए पनि मैले निकालेका तथ्यांकहरु नै वास्तबिक तथ्यांकहरुको नजिक हुने कुरा मा विश्वस्त छु ।
त्यसैले, सोही तथ्यांक प्रयोग गर्दा नेपालमा वार्षिक रुपमा प्राप्त हुने ३३६.७८ अर्ब घनमिटर पानी मध्ये वाष्पीकरण र माटोको चिस्यान बढाउने कार्यमा खर्च हुने पानी घटाएर बाँकी रहेको २०३.३६ अर्ब घनमिटर पानीमा तराईका जलभण्डार भर्न सालबसाली रुपमा खर्च हुने पानीको औसत परिमाण ८.८६ अर्ब घनमिटर पानीसमेत घटाउदा वार्षिक सालाखाला १९४.५० अर्ब घनमिटर पानी नेपालको जमिनको सतहबाट बग्ने गर्दछ । यस परिमाणको पानीमा नेपालभित्र वार्षिक रुपमा खर्च हुने पानीको औसत परिमाण ३०.३१ अर्ब घनमिटर घटाउंदा १६४.१९ अर्ब घनमिटर जमिनको सतहमा बग्ने पानी नेपालभित्र प्रयोग–योग्य छ । यसबाहेक, नेपालको तराईका जलभण्डारहरु पुनर्भरणमा खर्च हुने ८.८६ अर्ब घनमिटर पानी मध्ये नेपालमा १.९४ अर्ब घनमिटर पानी मात्र खर्च हुने र बाँकी ६.९२ अर्ब घनमिटर पानी भूमिगत जल भण्डारबाट वर्षेनीि अदृश्य रुपमा विदेशिएको देखिन्छ ।
अरुण–४ को मुहान संरचनास्थलमा पहिरो आएपछि माथिल्लो अरुणलाई असर नपर्ने गरी सारिने
धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा
आज पनि पहाडी भूभागमा पानी पर्ने सम्भावना
चल्यो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन
आज पहाडी भू-भागका आकाश ५० प्रतिशतसम्म बादलले ढाकिने
यी हुन् ऊर्जा मन्त्रीले सय दिनमा गर्न नसकेका कामहरु