दीपक खड्का नबिल बैंक सेयर बजार ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विद्युत् प्राधिकरणको नाफा ५ अर्ब ३९ करोड रुपैयाँले घट्यो

नाफा घटेको दोष विदेशी विनिमय दरमा वृद्धि

जलसरोकार
आइतबार, भदौ ०१, २०८२ | १०:५८:३३ बजे
प्राधिकरणको नाफा घटाउने खेलाडीहरु

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको नाफा ५ अर्ब ३९ करोड ५० लाख रुपैयाँले घटेको छ ।
ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य ल्याएको चार महिनाको अवधिमा नाफा अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले घटेको हो । 
प्राधिकरणले आज प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार नाफा घट्नुको मुख्य कारण विदेशी मुद्रा विनिमय दरमा भएको वृद्धि र ‘अवास्तविक असुलीयोग्य रकमका लागि प्रावधान बढाइएको’ लाई देखाइएको छ ।
प्राधिकरणले लिएको विदेशी ऋण भुक्तानी गर्नुपर्दा अमेरिकी डलर लगायत विदेशी मुद्राको विनिमय दरमा भएको वृद्धि र ट्रंक तथा डेडिकेटेड बक्यौता नउठाएर त्यसका लागि राखिएको प्रावधानका कारण नाफा घटेको हो ।
तर ग्लोबल इकोनोमीका अनुसार अघिल्लो वर्ष र गत वर्षको तुलनामा अमेरिकी डलरको विनिमय दरमा २.९९ प्रतिशत मात्र वृद्धि भएको छ । 
अघिल्लो वर्ष प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा (करअघि) कमाएको थियो । गत वर्ष भने यस्तो नाफा ९ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ । दुई वर्षअघि प्राधिकरणको नाफा १ अर्ब २३ करोड रुपैयाँले वृद्धि भएको थियो । यो वृद्धि १०.१९ प्रतिशत थियो भने हिेतेन्द्रदेवको चार महिने कार्यकालमा यस्तो नाफा ३७.३२ प्रतिशतले घटेको प्राधिकरणको वार्षिक प्रतिवेदनमा छ । 
यसबाहेक प्राधिकरणले नाफा घट्नुका दोष ‘ग्रामीण इकाइहरुको हस्तान्तरणका कारण प्रशासनिक खर्चमा भएको वृद्धि’ लाई पनि देखाएको छ ।


महालेखापरीक्षकका अनुसार प्राधिकरणले २२ अर्ब ८० करोड रुपैयाँ ट्रंक तथा डेडिकेटेड  लाइनबापतको बक्यौता उठाउन बाँकी छ । यही बक्यौता उठाउन खोज्दा नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गरेकी आरजु राणाको अन्तिम सहमतिमा ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन मन्त्रिपरिषदमा सिफारिस गरेका थिए । खड्काको सिफारिश बमोजिम प्रधानमन्त्री केपी ओलीले घिसिङलाई गत चैत ११ गते हटाएका थिए । 
गत चैत १२ गते प्राधिकरणको कार्यकारी निर्देशकमा खड्काले हितेन्द्रदेव शाक्यलाई ल्याएका थिए । गत आव (असार मसान्तसम्म) को करिब चार महिनाको अवधिमा प्राधिकरणको नाफा घटेको हो ।
शाक्यको आएको चार महिनामै प्राधिकरणको नाफा ५ अर्बभन्दा बढीले घट्नुको मुख्य कारण चुहावटमा आएको वृद्धि रहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । यद्यपि प्राधिकरणले अघिल्लो वर्षभन्दा ०.५ प्रतिशतले चुहावट घटेको देखाए पनि वास्तविक चुहावट १.१७ प्रतिशतले बढेको छ ।
कुलमानको पालामा ९.५९ प्रतिशत रहेको चुहावट प्राधिकरणले आफ्नो वार्षिक प्रतिवेदन प्रकाशन गर्नुअघि १०.७६ प्रतिशत थियो । उक्त चुहावटलाई सडक बत्तीमा खाँदेर प्राविधिक र अप्राविधिक (चोरी) समेत गरी १२.२६ प्रतिशत देखाइएको छ ।

 

प्रकाशित मिति : आइतबार, भदौ ०१, २०८२ | १०:५८:३३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया