म्याग्दीका पाखापानी र पात्लेखेतमा केन्द्रीय विद्युत् विस्तार
जलसरोकार
म्याग्दी: रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत चिमखोलाबाट यी दुबै बस्तीमा प्रसारण लाइन पुर्याइएको हो ।
मुख्य र शाखा लाइनका पोल गाड्ने, तार तान्ने तथा १०० केभीए क्षमताको ट्रान्सफर्मर जडान सम्पन्न भएपछि शनिबार गरिएको परीक्षण सफल भएको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिए । उनका अनुसार अब उपभोक्ताको घरघरमा मिटर जडान भएपछि विद्युतीकरण कार्य सकिनेछ। यस विस्तारबाट पात्लेखेत र पाखापानीका करिब १०० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
यसअघि चिमखोला र नामीला टोलमा केन्द्रीय लाइन पुगेको थियो । त्यहाँका बासिन्दाले हालसम्म उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । ठेकेदार कम्पनी न्यू ढुङ्गाना निर्माण सेवा का सञ्चालक दिनेश ढुङ्गानाका अनुसार बर्खायामको प्रतिकूल मौसम र यातायात अवरुद्ध भए पनि काम पूरा गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीका १४ स्थानका २,१८३ घरधुरीमा केन्द्रीय विद्युत् सुविधा विस्तारका लागि आर्थिक वर्ष २०८०÷८१ देखि रु २२ करोडको आयोजना सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत यसअघि मालिका गाउँपालिकाको निस्कोट, रुम, डाडागाउँ, पात्ले, ओखरबोट लगायतका करिब ६०० घरधुरीमा, धवलागिरि गाउँपालिकाका मलम्पार, बुल, चिउरीबोट गरी ३२५ घरधुरीमा विद्युतीकरण सम्पन्न भइसकेको छ ।
त्यसैगरी, धवलागिरि गाउँपालिकाको लुलाङमा प्रसारण लाइन पुगे पनि उपभोक्ताले मिटर जडान गर्न बाँकी रहेको र मल्कवाङमा विद्युतीकरण अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । सो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका सबै बस्तीमा विद्युत् विस्तार भइरहेको छ ।
प्राधिकरणले अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीय स्थल मोहरेडाँडासम्म पनि निकट भविष्यमै केन्द्रीय विद्युत् सुविधा पु¥याउने योजना अघि सारेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी