सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

२०८३ को बाढी : काठमाडौँ कत्तिको तयार छ ?

कोशी सम्झौतामा भारतले नेपाललाई ठगेको भन्ने छ तर भारतले बिहार र बिहारीलाई पनि ठगेको छ।

गोविन्द शर्मा पोखरेल
मंगलबार, जेठ १२, २०८३ | १०:१७:५८ बजे

आज जेठ महिनाको १२ गते। १२ गतेको कुरा आउँदा सबैभन्दा पहिले २०७२ साल वैशाख १२ गते नेपालमा गएको ठूलो भूकम्पको सम्झना आउँछ। यो किन पनि आउँछ भने बाढी र भूकम्प दुवै नेपालमा प्रकोप ल्याउने प्रमुख प्राकृतिक प्रक्रिया वा प्राकृतिक घटना हुन्। नेपालमा यस्ता प्राकृतिक प्रक्रियाबारे कुरा गर्दा ‘विनाशकारी’ जस्तो विशेषण प्रयोग गर्ने प्रचलन छ। तथापि, यी प्राकृतिक प्रक्रियाहरू कुनै विनाश गर्ने हेतुले घटित घटना भने होइनन्। यस्ता प्राकृतिक प्रक्रिया त प्राकृतिक रूपमा घटित हुन्छन्, तर यस्ता घटनाका कारण आउन सक्ने प्रकोप भने केवल हामीले हिमालयजस्तो जोखिमयुक्त स्थानमा हजारौँ वर्षदेखि बसोबास गर्दा पनि सुरक्षित भएर बाँच्न नसिकेका कारणले हो। यी घटना प्राकृतिक हुन्, तर यी प्राकृतिक घटनाका कारण हुने प्रकोप भने अधिकांशतः मानवसिर्जित हुन्। त्यसैले प्रकोपका अगाडि लगाइने ‘प्राकृतिक’ भन्ने विशेषण नै गलत छ।

नेपालमा बाढी र (भल) पहिरोका कारण वर्षेनी हजारौँ नेपालीको ज्यान जाने गरेको छ। यसबाट घाइते हुने तथा घरबारविहीन हुने नेपालीहरूको संख्या दशौँ हजारमा पुग्छ। यो समस्या कम गर्न नेपाल सरकारले केही सकारात्मक कार्य गरे पनि समस्या झन् बढ्दो छ। नेपालका पहाडी क्षेत्रमा पहिरो र भलपहिरोको व्यापकता पाइन्छ भने तराई क्षेत्रमा बाढी र डुबानको व्यापकता पाइन्छ। यो एक हदसम्म प्राकृतिक रूपमा हुने कुरा हो। तर बाढी नियन्त्रणका लागि निर्माण गरिएका संरचनाका कारण पनि प्रकोपमा व्यापक वृद्धि भएको विज्ञहरूको भनाइ छ। पहाडी क्षेत्रमा थपिने विपद्का कारकमा नेपाल सरकारले निर्माण गर्ने वा गराउने विभिन्न सिभिल संरचनाहरू पनि पर्दछन्। सुन्दर पहाडी क्षेत्रमा बसोबास गर्ने, तर सो भौगोलिक क्षेत्रसँग सम्बन्धित जोखिमबारे बेवास्ता गर्ने प्रवृत्तिका कारण पहाडी क्षेत्रका जोखिम झन् व्यापक बनेका हुन्।

नेपालका भीषण बाढीहरूको कुरा गर्दा विभिन्न प्राकृतिक तथा मानवसिर्जित कारणहरूले पहाडी क्षेत्रहरूमा बाढीको व्यापकता बढेको हो। यस्तो प्रकोप बढाउने प्राकृतिक प्रारम्भिक कारणमा भीषण वर्षा, हिमताल विस्फोटन, जलवायु परिवर्तन आदि पर्दछन् भने पहिरो, भलपहिरो तथा प्राकृतिक रूपमा थुनिएका नदीहरूका बाँध फुट्नुजस्ता घटना पनि पर्दछन्। मानवसिर्जित कारणहरूमा नदीछेउका अव्यवस्थित बस्ती, नदी संकुचन, अविवेकी सिभिल संरचनाको रेखांकन, डिजाइन तथा निर्माण, निर्माणका क्रममा निस्कने ढुंगा-माटोको अविवेकी व्यवस्थापन, अविवेकी नदी दोहन आदि पर्दछन्। नेपालको पहाडी भूगोलमा प्रारम्भ भएका बाढीहरू क्रमिक रूपमा बग्दै तराईमा पुगेर अझ भीषण रूप लिन्छन्। तराईमा यस्ता बाढी तथा डुबानले नदीको प्राकृतिक सीमासमेत परिवर्तन गर्ने अवस्था सिर्जना गर्छ।

काठमाडौँका ऐतिहासिक बाढी

काठमाडौँको बाढीको कुरा गर्दा धेरै बुढापाकाहरू विक्रम संवत् २०११ को बाढी सम्झन्छन् भने २०११ सालपछि आएका करिब आधा दर्जन भीषण बाढीबारे विभिन्न स्रोतसामग्रीहरूमा उल्लेख गरिएको पाइन्छ। यस्ता ऐतिहासिक महत्वका बाढीहरूमा २०२१ सालको बाढी, २०३८ सालको बाढी, २०५० सालको बाढी तथा पछिल्ला २०७५, २०७६, २०७८ र २०८० सालका बाढी सम्झन सकिन्छ।

२०११ सालको बाढी सप्तकोशी क्षेत्रमा अत्यधिक ठूलो थियो भनी विभिन्न नेपाली र भारतीय दस्तावेजहरूमा उल्लेख गरिएको पाइन्छ। वास्तवमा यही २०११ सालको भीषण बाढीका कारण बिहारको पटना लगायतका धेरै क्षेत्रमा व्यापक क्षति भएकाले भारत सरकारको आग्रहमा यस्तो विकराल बाढी आउँदा त्यसलाई व्यवस्थापन गरी प्रकोप न्यूनीकरण गर्ने उद्देश्यसहित कोशी ब्यारेजको परिकल्पना, डिजाइन तथा निर्माण गरिएको थियो भन्ने कुरा सम्बन्धित दस्तावेजहरूले देखाउँछन्।

तर विडम्बना के भने, सन १९५४ को नेपाल-भारत सन्धिअनुसार सन् १९६४ मा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको कोशी ब्यारेजले बाढी नियन्त्रण गर्न सक्दैन, किनभने बराज वास्तवमा बाढी नियन्त्रण गर्ने सिभिल संरचना नै होइन। यसरी कोशी बराजसम्बन्धी नेपाल-भारत सम्झौतामार्फत भारतले नेपाललाई ठगेको भन्ने धेरै नेपालीको धारणा छ भने मेरो विचारमा बराजले कोशीको बाढी नियन्त्रण गर्छ भनेर भारतले बिहार र बिहारीलाई पनि ठगेको छ।

विक्रम संवत् २०११ मा आएको कोशी नदीको उच्चतम बहाव करिब ९ लाख क्युसेक (करिब २५ हजार क्युमेक्स) भएको अनुमान गरिएकाले कोशी बराजको डिजाइन १० लाख क्युसेकमा गरिएको थियो भन्ने सुनिन्छ। तर कोशी बराज सञ्चालनमा आएको चार वर्ष पनि नबित्दै सन् १९६८ मा साढे नौ लाख क्युसेक (करिब २७ हजार क्युमेक्स) बराबरको उच्चतम बहाव भएको बाढी कोशी बराजमै मापन गरिएको थियो।

तर काठमाडौँमा विक्रम संवत् २०११ मा भीषण बाढी आएको भन्नेबाहेक उक्त बाढीबारे विस्तृत अभिलेख पाइँदैन। त्यसैगरी २०२१ सालको बाढीबारे केही जनश्रुतिहरू मात्र सुन्नमा आएका छन्। बागमती सिँचाइ आयोजनाको हेडवर्क्स नजिक पधेरेदोभानमा राखिएको नदी बहाव मापन यन्त्रले विक्रम संवत् २०५० सम्म करिब १० वटा ठूला बाढीहरूको मापन गरेको पाइन्छ। तर मापन गरिएका सबै बाढी कुनै स्थानमा मात्र भीषण थिए होलान्, अन्यत्र सामान्य हुन सक्छन्।

जस्तै, विक्रम संवत् २०३८ असोज १४ गते अर्थात् सेप्टेम्बर ३०, १९८१ मा पधेरेदोभानमा मापन गरिएको बाढी सो मितिभन्दा पहिले मापन गरिएका बाढीभन्दा ठूलो हुनुपर्छ, किनभने त्यसबेला कुलेखानी उच्च बाँधले केही ठूलो परिमाणको बहाव रोकेको थियो। वागमती जलाधारको साविक करिब २७०० वर्गकिलोमिटरमध्ये करिब १५० वर्गकिलोमिटर क्षेत्र कुलेखानी जलाधारमा पर्दा बाँकी करिब २५५० वर्गकिलोमिटरमा मात्र बहाव समेटिएकाले पधेरेदोभानमा मापन गरिएको नदी बहाव केही कम भएको थियो। उक्त अवसरमा कुलेखानी नदीको उच्चतम बहाव करिब ३६० क्युमेक्स भएको आँकलन गरिएको थियो।

अव्यवस्थित सहरीकरण र बढ्दो जोखिम

माथि उल्लेख गरिएझैँ काठमाडौँमा बाढीको प्रकोप पुरानो समयभन्दा अहिले बढ्नुको प्रमुख कारण अव्यवस्थित सहरीकरण, कंक्रिटको जंगल, अव्यवस्थित बसोबास तथा जनसंख्या वृद्धिको व्यापकता हो।

काठमाडौँकै बाढीको कुरा गर्दा २०५० साल साउन ४-५ गते अर्थात् १९-२१ जुलाई १९९३ मा काठमाडौँ र वरपरका क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको भीषण बाढी सम्झना आउँछ। त्यसबेला टिष्टुङमा २४ घण्टामा ५४० मिमि वर्षा मापन गरिएको थियो। त्यससँगै बागमती नदीको पधेरेदोभानमा अनुमान गरिएको करिब ४,००० क्युमेक्सको गेग्रानसहितको करिब १५,००० क्युमेक्सको भीषण बाढी यस क्षेत्रकै भीषणतम बाढीमध्ये एक हुन सक्छ।

त्यस समय काठमाडौँ उपत्यकाभित्र व्यापक धनजनको क्षति भएको रेकर्ड पाइँदैन। केवल केही स्थानमा बाढीले मानिस बगाएको समाचार सुन्नमा आएको थियो। बाढीको केन्द्र काठमाडौँको दक्षिण र पश्चिम क्षेत्रमा परेको थियो। उक्त अवधिमा कुलेखानीको मार्खु, धोर्सिङ, मरिन खोला आसपासका क्षेत्र, मनहरी खोला आसपासका क्षेत्र, सिमभञ्ज्याङ र वरपरका क्षेत्र तथा सिमरामा ३०० देखि ४०० मिमिसम्मको अतिवृष्टिका कारण व्यापक क्षति भएको थियो।

काठमाडौँको सुरक्षाबारे गम्भीर प्रश्न

काठमाडौँको सुरक्षाको दृष्टिकोणबाट हेर्ने हो भने २०५० सालमा ५४० मिमि वर्षा मापन गरिएको टिष्टुङबाट चोभारको गल्छी करिब २० किलोमिटरको दूरीमा छ। यदि टिष्टुङमा परेको जति वा सोभन्दा बढी वर्षा काठमाडौँका केही सय वर्गकिलोमिटर क्षेत्रमा पर्ने हो भने त्यसबाट उत्पन्न हुन सक्ने बाढीको परिमाणका आधारमा काठमाडौँका नदी-नालाका आसपासका क्षेत्रको सुरक्षा व्यवस्थापन र सोहीअनुसार बाढी व्यवस्थापनको तयारी अवस्थामा नेपाल सरकार तथा काठमाडौँ प्रशासन रहनुपर्छ भन्ने मेरो धारणा छ।

केही समयअघि सर्वोच्च अदालतले नदीकिनारका बस्तीबारे दिएको फैसला काठमाडौँको भौगोलिक यथार्थसँग कत्तिको मेल खाने गरी दिइएको हो, मलाई थाहा छैन। तर नदीका नजरमा यदि त्यो फैसला यथार्थसँग मेल नखाने देखियो भने नदीले गर्न सक्ने विनाशका कारण नदीलाई अदालतको अवहेलनाको मुद्दासमेत नलाग्ने अवस्था आउन सक्छ भन्ने पनि भन्न सकिन्न।

चोभार गल्छी र बाढी निकास क्षमता

चोभारको गल्छीबाट बाढी निकास हुन सक्ने अधिकतम नदी प्रवाहको विवेचना गर्दा २०८१ सालको बाढीका आधारमा अनुमान गर्न सकिन्छ। उक्त बाढीको अनुमानित बहाव करिब ११०० क्युमेक्स थियो र चोभार गल्छीको माथिल्लो भागमा पानीको सतह नदीको बगरभन्दा करिब ५ मिटर माथि पुगेको थियो। नदीमा पानीको सतह ५ मिटर माथि हुँदा पानीको औसत गति करिब १० मिटर प्रति सेकेन्ड भएको हिसाब आउँछ।

बागमती नदी किनारका बस्तीहरू चोभार गल्छीको बगर सतहभन्दा न्यूनतम १० मिटर माथि रहेको आधारमा हिसाब गर्दा चोभार गल्छीको बाढी निष्कासन क्षमता करिब २३०० क्युमेक्स हुन सक्छ भन्ने मेरो अनुमान छ। तर ६०० मिमि वर्षा १ घण्टासम्म करिब २०० वर्गकिलोमिटर क्षेत्रमा हुने हो भने वागमतीमा अधिकतम कत्रो बाढी आउन सक्छ भन्ने आँकलन गरी काठमाडौँको बाढी सुरक्षा योजना तर्जुमा गर्नुपर्छ भन्ने मेरो धारणा छ। यी त भए दीर्घकालीन नीति तथा कार्यदिशाका कुरा।

२०८३ सालको वर्षा र सरकारी तयारी

तर २०८३ सालको बाढी आउने समय त लगभग आइपुगेको छ। बाढी व्यवस्थापनको पूर्वतयारीबारे मिडियाले खासै समाचार सम्प्रेषण गरेको देखिँदैन। अब बागमती किनारमा अव्यवस्थित बस्ती त छैनन्, तर ती बस्तीबाहेकका स्थानमा पनि बाढी आएको दृष्टान्त छन्। काठमाडौँको कपनको अवस्था कस्तो छ ? कि सरकारले विस्थापन गर्छ भन्ने डरले कोही पनि यसबारे बोल्न चाहँदैनन् ?

बोले पनि, नबोले पनि यदि ठूलो बाढी आयो भने सबै पोल खुलिहाल्छ।

पूर्वतयारीको कुरा गर्दा विपद्सँग सम्बन्धित सबै प्राविधिक, प्रशासनिक, प्रहरी, जंगी आदि निकायका पदाधिकारीहरू बाढीबारे सचेत हुनु र आवश्यक परे राहत कार्य गर्न तयारी अवस्थामा रहनु अत्यन्त आवश्यक छ। नेपाल सरकारसँग केही हजार थान पाल, केही सामुदायिक आवास, कम्तीमा केही सय जनालाई पुग्ने खाद्यान्न, केही सय लिटर पिउने पानी तथा केही सय थान ओढ्ने-ओछ्याउने सामग्री तयारी अवस्थामा राख्न सके कुनै बाढीजन्य प्रकोप हुँदा कसैको मुख ताक्नुपर्ने अवस्था आउने थिएन भन्ने मेरो विचार छ।

नेपालमा यसपालिको वर्षामा औसतभन्दा केही कम पानी पर्न सक्छ भन्ने आँकलन गरिएको भए पनि त्यसको अर्थ भीषण वर्षा हुने सम्भावना घट्यो भन्ने होइन। किनभने जलवायु परिवर्तनका असरका कारण एल निनोको अवस्थामा पनि छोटो अवधिका लागि अतिवृष्टि हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

सबै नेपालीहरू २०८३ सालको बाढीबाट सुरक्षित रहून्, यही नै मेरो शुभकामना छ।

जय श्रीराम !

 

प्रकाशित मिति : मंगलबार, जेठ १२, २०८३ | १०:१७:५८ बजे

लेखकको बारेमा

गोविन्द शर्मा पोखरेल
वरिष्ठ फेलो, नेपाल पानी सदुपयोग फाउण्डेशन

प्रतिक्रिया