भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
जलसरोकार
काठमाडौं : तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट निम्त्याएको छ। बाढीबाट प्रभावित आयोजनाहरूमा ८९८ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले दिएको विवरणअनुसार भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाहरूमा कार्यरत कर्मचारी तथा कामदार प्रभावित भएका छन्। रसुवा र नुवाकोटका विभिन्न आयोजनामा सम्पर्कविहीन व्यक्तिको विवरणसहित प्रभावित आयोजनाको सूची तयार गरिएको छ।
रसुवामा मात्रै सात आयोजनामा सम्पर्कविहीन
इप्पानका अनुसार रसुवा जिल्लाका सात जलविद्युत् आयोजनामा ठूलो संख्यामा व्यक्ति सम्पर्कविहीन छन्। सबैभन्दा धेरै माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा ५७६ जना सम्पर्कविहीन रहेको उल्लेख छ। २१६ मेगावाटको उक्त आयोजना नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको हो।
त्यस्तै १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, १२० मेगावाटको रसुवा-भोटेकोशीमा ४ जना, ६.४२ मेगावाटको माथिल्लो मैलुङ-एमा ४२ जना, २० मेगावाटको लाङटाङ खोलामा ४२ जना, २२ मेगावाटको चिलिमेमा ८ जना र ५ मेगावाटको मैलुङ खोलामा ७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
नुवाकोटका आयोजनामा पनि ठूलो असर
नुवाकोटतर्फको विवरणमा माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा १२२ जना र माथिल्लो त्रिशूली-३ ‘ए’मा ४२ जना सम्पर्कविहीन रहेको उल्लेख छ। माथिल्लो त्रिशूली-३ ‘बी’ ३७ मेगावाटको आयोजना हो भने माथिल्लो त्रिशूली-३ ‘ए’को क्षमता ६० मेगावाट छ।
त्यसैगरी नुवाकोटको त्रिशूली जलविद्युत् आयोजना र देवीघाट जलविद्युत् आयोजनामा एक-एक जना तथा मध्य त्रिशूली गंगामा दुई जना सम्पर्कविहीन रहेको विवरणमा छ। नुवाकोट सौर्य विद्युत् आयोजनाको सम्पर्कविहीन संख्या भने इप्पानको विवरणमा उल्लेख छैन।
प्रभावित आयोजनाको विवरणोत
| जिल्ला | आयोजना | क्षमता | प्रवर्द्धक कम्पनी | सम्पर्कविहीन |
|---|---|---|---|---|
| रसुवा | माथिल्लो त्रिशूली-१ | २१६ मेगावाट | नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी | ५७६ |
| रसुवा | रसुवागढी जलविद्युत् आयोजना | १११ मेगावाट | रसुवागढी हाइड्रोपावर कम्पनी | ९३ |
| रसुवा | रसुवा-भोटेकोशी | १२० मेगावाट | लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी | ४ |
| रसुवा | माथिल्लो मेलुङ-ए | ६.४२ मेगावाट | इनर्जी इन्जिनियरिङ प्रालि | ४२ |
| रसुवा | लाङटाङ खोला | २० मेगावाट | मल्टी इनर्जी डेभलपमेन्ट प्रालि | ४२ |
| रसुवा | चिलिमे | २२ मेगावाट | चिलिमे जलविद्युत् कम्पनी | ८ |
| रसुवा | मैलुङ खोला | ५ मेगावाट | मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड | ७ |
| नुवाकोट | त्रिशूली जलविद्युत् आयोजना | २४ मेगावाट | नेपाल विद्युत् प्राधिकरण | १ |
| नुवाकोट | देवीघाट जलविद्युत् | १४.१ मेगावाट | नेपाल विद्युत् प्राधिकरण | १ |
| नुवाकोट | माथिल्लो त्रिशूली-३ ए | ६० मेगावाट | नेपाल विद्युत् प्राधिकरण | ४२ |
| नुवाकोट | माथिल्लो त्रिशूली-३ बी | ३७ मेगावाट | त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड | १२२ |
| नुवाकोट | मिडल त्रिशूली गंगा | १५.६ मेगावाट | पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालि | २ |
| नुवाकोट | नुवाकोट सौर्य विद्युत् आयोजना | २५ मेगावाट | नेपाल विद्युत् प्राधिकरण | उल्लेख छैन |
स्रोत : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)
उद्धारको अवस्था
माथिल्लो त्रिशूली-१ बाट २५४ जना उद्धार गरिएको, सुरुङमा हाल ३०० जना फसेको र उद्धारका लागि चीनबाट टोली आउने क्रममा रहेको उल्लेख छ। त्यस्तै लाङटाङ खोलाबाट १८ जना र माथिल्लो त्रिशूली-३ ‘बी’बाट ९१ जनाको जीवितै उद्धार भएको विवरणमा छ। कागजातले हालसम्म ३६१ जनाको उद्धार भइसकेको इप्पानले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
-
देशभर बदली, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना