सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै

जलसरोकार
आइतबार, भदौ १४, २०८३ | १४:३७:०१ बजे

 

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले त्रिशूली थ्री–ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि पाँच वटा ड्रिल (प्वाल) बनाएको छ ।

उद्धार टोलीले सुरुङभित्र हावा पठाउन तथा भित्रको अवस्थाबारे जानकारी लिन ड्रिलमार्फत प्रयास गरिरहेको सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेले जानकारी दिए । उनी उद्धारस्थलमै बसेर उद्धार प्रक्रियाको नेतृत्व गरिरहेका छन् । 

उनका अनुसार एक्स्काभेटरको प्रयोग गरी सुरुङको स्ल्याब पत्ता लगाउने प्रयास भइरहेको छ । खन्ने क्रममा चट्टान भेटिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको उनले बताए । 

“हामीले एक्स्काभेटरका माध्यमबाट खनेर सुरुङको स्ल्याब पत्ता लगाउन प्रयास गरिरहेका छौँ । खन्ने क्रममा चट्टान भेटिएको छ,” न्यौपानेले भने, “चट्टानको भाग धेरै रहेनछ भने स्ल्याब चाँडै पत्ता लाग्ने थियो । होइन भने विस्फोट गराएर पनि सुरुङभित्र जाने प्रयास गरिरहेका छौँ ।”

उद्धार कार्यमा नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा अन्य सुरुङ विज्ञको टोली परिचालन गरिएको छ ।

प्राधिकरणका इन्जिनियर सुरज दाहालका अनुसार एक–दुई जना व्यक्ति प्रवेश गर्न सक्ने गरी प्वाल बनाउन सकिए नेपाली सेनाका उद्धार विज्ञ सुरुङभित्र प्रवेश गरी अवस्थाबारे जानकारी लिनेछन् ।

सुरुङभित्र लेदो नछिरेको पुष्टि भए थप उद्धारकर्तालाई भित्र पठाएर फसेका व्यक्तिलाई एक–एक गरी भए पनि बाहिर निकाल्ने तयारी गरिएको दाहालले बताए । 

प्राधिकरणका अनुसार आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धार कार्य बाढी आएको दुई दिनपछि शुक्रबारदेखि मात्र सुरु गरिएको थियो । पाँच दिनसम्म पनि सुरुङ छिचोल्न नसकिएकाले भित्र फसेका कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै गएको अधिकारीहरूले बताएका छन् ।

प्राधिकरणका अनुसार आयोजनाको भूमिगत विद्युत्‌गृहमा ओभरहलिङको कामका लागि करिब ४०–४२ जना उच्च तहका विज्ञसहित प्राविधिक जनशक्ति कार्यरत थिए । उनीहरू सुरुङभित्र फसेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : आइतबार, भदौ १४, २०८३ | १४:३७:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको