सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली-३ ‘बी’मा उद्धार टोली भोलि घटनास्थल जाने, आज प्राविधिक कारणले रोकियो

जलसरोकार
शनिबार, भदौ १३, २०८३ | १८:३०:०० बजे
सांकेतिक तस्वीर

 

काठमाडौं — नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिरुपानीस्थित निर्माणाधीन माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि भोलि बिहान टोली घटनास्थल जाने तयारी गरिएको छ।

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अनुसार २०८३ भदौ १३ गते कम्पनीका कर्मचारी तथा नेपाली सेनासहितको टोली हेलिकप्टरबाट घटनास्थल पुगेर रेकी गरी फर्किएको छ। कम्पनी र सरोकारवाला निकायको निरन्तर प्रयासपछि उक्त टोली घटनास्थल पुगेको कम्पनीले जनाएको छ।

यसअघि भदौ ११ गते बिहान कम्पनीका कर्मचारीसमेत हेलिकप्टरबाट घटनास्थल पुग्दा त्यहाँको कार्यालय तथा निर्माणस्थल पूर्ण रूपमा बगरमा परिणत भएको पाइएको थियो। त्यसपछि घटनास्थलमा विभिन्न उपकरण लगेर उत्खनन गर्नुपर्ने अवस्था देखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बाढीका कारण सम्पर्कविहीन भएकामध्ये कम्पनीका ३ जना कर्मचारी, परामर्शदाता चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस कम्पनी लिमिटेड (CHESCO) का १ जना, HNAC-JIANGHE का २ जना र निर्माणकर्ताका ८५ जना कामदार गरी ९१ जना सम्पर्कमा आएका छन्। उनीहरूमध्ये उद्धार आवश्यक भएकालाई उद्धार गरी सुरक्षित राखिएको कम्पनीले जनाएको छ।

तर कम्पनीमा कार्यरत कर्मचारी तथा परिवारसहित २८ जना, सिभिल निर्माणतर्फको निर्माण व्यवसायी फेवा कन्स्ट्रक्सन प्रालिका १५१ जना, इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलतर्फको निर्माण व्यवसायी HNAC JIANGHE-JV, China का ६ जना, परामर्शदाता CHESCO का १२ जना, एक सुरक्षाकर्मी र इन्टर्नसिपका लागि गएका ३ जना विद्यार्थी गरी कुल २०१ जना कर्मचारी/व्यक्ति सम्पर्कमा नरहेको विज्ञप्तिमा उल्लेख छ।

सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि कम्पनीले भदौ १० गते नै गृह मन्त्रालय तथा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखालाई पत्राचार गरेको जनाएको छ। नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलाई समेत आवश्यक सहयोग तथा समन्वयका लागि अनुरोध गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार घटना भएलगत्तै सबै सरोकारवाला निकायलाई मौखिक रूपमा जानकारी गराई उद्धारका लागि पहल गरिएको थियो। व्यवस्थापनको टोलीसमेत नुवाकोट पुगेर घटनास्थलमा उद्धार तथा सम्पर्कका लागि हरसम्भव प्रयास गरिरहेको कम्पनीले जनाएको छ।

अब उद्धार तथा उत्खननका लागि सम्पर्कविहीन कर्मचारीका आफन्त, कम्पनीका कर्मचारी र २५ जना नेपाली सेनालाई घटनास्थल लैजाने तयारी गरिएको छ। उनीहरूलाई आजै घटनास्थल लैजाने तयारी रहे पनि विभिन्न प्राविधिक कारणले भदौ १३ गते पुग्न नसकेको र भोलि भदौ १४ गते बिहानै घटनास्थल जाने तयारी रहेको कम्पनीले जनाएको छ।

कम्पनीले सम्बन्धित सबै पक्षलाई उद्धार तथा उत्खनन कार्यका लागि आवश्यक सहयोग र समन्वय गरिदिन आग्रहसमेत गरेको छ।

प्रकाशित मिति : शनिबार, भदौ १३, २०८३ | १८:३०:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया