कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

७० मेगावाटको दूधकोशी-२ जलविद्युत् आयोजनामा १५ अर्ब रुपैयाँ लगानी सम्झौता हुँदै

जलसरोकार
आइतबार, असोज ०५, २०८२ | ०८:३२:३९ बजे

काठमाडौं :  दूधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.ले ७० मेगावाट क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनाको वित्तीय बन्दोबस्त (Financial Closure) सफलतापूर्वक सम्पन्न गर्ने भएको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा, एभरेस्ट बैंक लिमिटेड र सनिमा बैंक लिमिटेड सदस्य बैंक रहने गरी बनेको बैंकहरूको कन्सोर्टियमले यस आयोजनाका लागि १० अर्ब ५० करोड रुपैयाँ ऋण उपलब्ध गराउने सम्झौता आज हुन लागेको जानकारी कम्पनीका अध्यक्ष कदम केसीले जलसरोकारलाई दिए ।

आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहनेछ, जसमा १० अर्ब ५० करोड ऋण र ४ अर्ब ५० करोड (स्वपुँजी) इक्विटी लगानी हुनेछ।

सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका, कोशी प्रदेशमा निर्माण हुन लागेको आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आगामी २०८२ साल कार्तिकदेखि निर्माण कार्य प्रारम्भ हुने कम्पनीले जनाएको छ।

वित्तीय बन्दोबस्त सम्पन्न भएपछि आयोजनाले पूर्ण निर्माण चरणमा प्रवेश गर्नेछ र कोशी प्रदेशसहित देशको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ। जटिल राजनीतिक परिवेशबीच पनि आयोजना ‘बैंक योग्य’ (Bankable) सावित हुनु यसको रणनीतिक महत्वलाई दर्शाउने केसीले बताए।

आयोजनास्थलसम्मको पहुँच
आयोजनास्थल नजिकको सडक पहुँच सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार हो, जुन काठमाडौंसँग ५५१ किलोमिटर पक्की सडकमार्गबाट जोडिएको छ। हवाई पहुँचका लागि कागेल डाँडा विमानस्थल उपलब्ध भए पनि यो नजिकैको मोटरेबल सडकदेखि करिब ६ किलोमिटर टाढा पर्छ र उडान सुविधा सीमित तथा मौसमी मात्र हुन्छ। अर्को विकल्प सल्लेरीस्थित फाप्लु विमानस्थल हो, जुन आयोजना क्षेत्रदेखि करिब २० किलोमिटर दूरीमा अवस्थित छ।

विद्युत् प्रसारण
आयोजनाबाट उत्पादन हुने बिजुलीलाई नेपाल विद्युत् प्राधिकरणको १३२ केभी तिन्ला सबस्टेसनमा जोडिने गरी करिब १२ किलोमिटर लामो प्रसारण लाइनमार्फत् निकासी गरिनेछ। यो प्रसारण संरचना सोलु करिडोर ट्रान्समिसन लाइनको महत्वपूर्ण अङ्ग हो।

महत्वपूर्ण उपलब्धि
वित्तीय बन्दोबस्त सम्पन्न भएपछि आयोजनाले पूर्ण निर्माण चरणमा प्रवेश गर्नेछ र कोशी प्रदेशसहित देशको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ। जटिल राजनीतिक परिवेशबीच पनि आयोजना ‘बैंक योग्य’ (Bankable) सावित हुनु यसको रणनीतिक महत्वलाई दर्शाउने बताइएको छ।

आयोजनाको आन्तरिक प्रतिफल दर १३.९७ प्रतिशत

आयोजनाले १३.९७ प्रतिशत आन्तरिक प्रतिफल दर (IRR) हासिल गर्ने प्रक्षेपण गरिएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय सूचक (Financial Indicators) अनुसार इक्विटीमा प्रतिफल दर (EIRR/ROE) २१.०९ प्रतिशत रहने देखाइएको छ।

वित्तीय प्रतिवेदनअनुसार आयोजना सम्पन्न भएपछि प्राप्त हुने खुद वर्तमान मूल्य (NPV) ६१४.०३ करोड रुपैयाँ रहनेछ। आयोजनाको लागत प्रतिकिलोवाट (Cost per kW) करिब १,५३१.६२ अमेरिकी डलर पर्छ।

आयोजनाको लाभ लागत अनुपात (BC Ratio) १.४९ रहने अनुमान गरिएको छ भने साधारण हिसाबमा लगानी उठ्ने समय ६.२४ वर्ष र छुट्याइएको हिसाबमा (Discounted Payback Period) ९.३० वर्ष लाग्ने देखाइएको छ।

आयोजना ऋण फिर्ता अवधि १२ वर्षमा पूरा गर्ने गरी संरचित गरिएको छ। प्रतिमेगावाट पूर्ण उत्पादनमा वार्षिक आम्दानी ३.७६ करोड रुपैयाँ र डिस्प्याचेबल उत्पादनमा ३.५९ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। कुल लागतअनुसार प्रतिमेगावाट लागत २१.४३ करोड रुपैयाँ पर्नेछ।

विशेषज्ञहरूले यी सूचकहरूले आयोजना दीर्घकालीन रुपमा ‘आर्थिक रुपमा व्यवहार्य’ (Economically Viable) रहेको स्पष्ट गर्ने बताएका छन्।

वार्षिक ४१७.४१ GWh ऊर्जा उत्पादन

आयोजनाबाट वार्षिक ४१७.४१ गीगावाट घण्टा (GWh) ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार, कुल उत्पादनमध्ये ३१.४१ प्रतिशत (१३१.१२ GWh) ऊर्जा सुख्खा मौसममा र ६८.५९ प्रतिशत (२८६.२९ GWh) ऊर्जा वर्षा मौसममा उत्पादन हुनेछ।

सुख्खा मौसममा पीक समयमा ५९.९७ GWh (१४.३७%) ऊर्जा उत्पादन हुने अनुमान छ, जसको प्रतियुनिट मूल्य रु. १०.५५ हुनेछ। त्यस्तै, नन-पीक समयमा ७१.१५ GWh (१७.०५%) ऊर्जा उत्पादन हुनेछ, जसको दर प्रतियुनिट रु. ८.४० तोकिएको छ।

वर्षा मौसममा २८६.२९ GWh (६८.५९%) ऊर्जा उत्पादन हुने अनुमान छ, जसको दर प्रतियुनिट रु. ४.८० रहनेछ।

कुल उत्पादन हिसाब गर्दा आयोजना प्रतिमेगावाट वार्षिक ५.९६ GWh ऊर्जा उपलब्ध गराउने प्रक्षेपण गरिएको छ।

विशेषज्ञहरूका अनुसार यस्तो ऊर्जा संरचना देशको विद्युत् माग-आपूर्ति सन्तुलनमा महत्वपूर्ण योगदान गर्नेछ, विशेषगरी सुख्खा मौसममा हुने विद्युत् अभाव कम गर्न यसले भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आयोजनामा अनुभवी टिमको नेतृत्व

आयोजना अनुभवी व्यक्तित्वहरूको नेतृत्वमा अघि बढिरहेको छ।

कम्पनीका अध्यक्ष कदम केसी जलविद्युत्, निर्माण तथा अन्य व्यवसायमा लामो अनुभव भएका विकासकर्ता हुन्। उनीसँगै अरुणकुमार अग्रवाल, विक्रम गौतम, अभिज्ञा मल्ल र डा. हिमाल भट्टराई निर्देशक (Director) का रूपमा संलग्न छन्। निर्देशक अग्रवाल विभिन्न व्यापारिक तथा उत्पादन व्यवसायमा संलग्न रहँदै आएका छन् भने विक्रम गौतम जलविद्युत् र निर्माण क्षेत्रमा सक्रिय छन्। निर्देशक अभिज्ञा मल्ल जलविद्युत्, वित्त तथा निर्माण क्षेत्रमा अनुभवसम्पन्न छिन्।

त्यस्तै, डा. हिमाल भट्टराई बैंकिङ, वित्त, जलविद्युत् र अन्य व्यवसायमा लामो समयदेखि संलग्न रहँदै आएका छन्। आयोजनाको नेतृत्वमा रहेका यी व्यक्तित्वहरूको अनुभव र लगानीले आयोजना सफलतापूर्वक सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : आइतबार, असोज ०५, २०८२ | ०८:३२:३९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया