'ब्लू बस' स्वागतयोग्य, तर साझा यातायातको हरित पहिचान नमेट्नुस् : कुलमान घिसिङ
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले महिलाको सुरक्षित आवागमनका लागि सरकारले अघि सारेको ‘ब्लू बस’ सञ्चालनको योजनालाई सकारात्मक पहल भन्दै स्वागत गरेका छन्। तर, त्यसका लागि साझा यातायातले वर्षौंदेखि निर्माण गरेको हरित पहिचान परिवर्तन गर्नु उपयुक्त नहुने उनको धारणा छ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले सरकारले शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ‘ब्लू बस’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको र त्यसका लागि साझा यातायातका बस प्रयोग गरिने चर्चा भइरहेको उल्लेख गरेका छन्।
उनले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम भएको बताए। तर साझा यातायातले विद्युतीय सवारी (ईभी) प्रवर्द्धन गर्दै हरित तथा दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु उचित नहुने उनको भनाइ छ।
घिसिङका अनुसार हरियो रङ केवल एउटा रङ मात्र नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक हो। यसले देशलाई हरित बनाउने राष्ट्रिय संकल्पसमेत प्रतिनिधित्व गर्ने भएकाले त्यसको पहिचान जोगाइनुपर्ने उनले बताएका छन्।
उनले महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन स्वागतयोग्य पहल भए पनि त्यसलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने उल्लेख गरेका छन्। "वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु हो," उनले फेसबुक पोस्टमा लेखेका छन्।
घिसिङले महिलाको सुरक्षा कुनै एउटा ‘ब्लू बस’मा सीमित हुन नहुने भन्दै सम्पूर्ण सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, मर्यादित र महिलामैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले "रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक छ," भन्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरी सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्। त्यस्तो वातावरण निर्माण भएमा मात्र महिलाको समान सहभागिता र सुरक्षित जीवनयापनको वास्तविक सुनिश्चितता हुने उनको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयका १०० दिन: प्राधिकरण पुनर्संरचना, ऊर्जा रणनीति र प्रसारण लाइन विस्तारका काम अघि बढेको दाबी
-
विद्युत् आपूर्तिमा समस्या आए ११५० वा प्रदेश कार्यालयमा सम्पर्क गर्न प्राधिकरणको आग्रह
-
'ब्लू बस' स्वागतयोग्य, तर साझा यातायातको हरित पहिचान नमेट्नुस् : कुलमान घिसिङ
-
आज २२ जिल्लामा भारी वर्षाको सम्भावना, पश्चिम र मधेशका केही क्षेत्रमा सतर्क रहन आग्रह
-
१२६ मेगावाट तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गाको क्षतिपूर्ति निर्धारण
-
नेप्से ८.३० अंकले घट्दा कारोबार बढ्यो, सानिगाड, स्नो रिभर्स र कालंगा हाइड्रोमा सकारात्मक सर्किट