जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिनियाँ ठेकेदारका कारण अलपत्र परेको ‘त्रिशुली थ्री बी’ को फेरि ठेक्का गरिँदै

कमल धिताल
मंगलबार, माघ ०९, २०८० | १५:२९:०० बजे

 

काठमाडौं - करिब ६६ प्रतिशत काम सकिएपछि ठेक्का सम्झौता रद्द गरेको त्रिशुली थ्री बी आयोजनाले पुनः ठेक्का सम्झौताको तयारी गरको छ । ३७ मेगावाट क्षमताको यो आयोजना निर्माण सम्पन्नको लागि प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीले माघ महिनाभित्रमा पुनः ठेक्का आब्हानको तयारी गरेको हो । थ्री बी जलविद्युत आयोजनाको पुसको सुरुमा चिनियाँ ठेकेदारले काम नगरेको भन्दै ठेक्का सम्झौता रद्ध गरेको थियो ।

रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिएपछि ठेकेदारले काम नगरेको भन्दै कम्पनीले ठेक्का सम्झौता रद्द गरेको थियो ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणको जिम्मा लिएको सुइफा ग्रुपले १ वर्षदेखि प्रगति देखिने गरी काम नै नगरेका कारण ठेक्का सम्झौता रद्द गरेका त्रिशुली थ्री बी आयोजनाका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुङ्गेलले जानकारी दिए । ‘२०८० को वैशाखदेखि काममा सुस्तता आएको थियो र पछिल्लो ४ महिना काम ठप्प भएपछि हामीले टर्मिनेट गरेका हौं,’ उनले भने, ‘नयाँ ठेक्काको लागि तयारी तीव्र पारेका छौं । माघ भित्रमा बिडिङ गर्छौं ।’

माघ महिना भरिमा ठेक्काको आवश्यक प्रक्रिया पुरा गरेर ०८१ को जेष्ठसम्ममा ठेकेदारले काम गर्ने वातावरण बनाउने ढुङ्गेल बताउँछन् । माथिल्लो त्रिशुली ३ बी आयोजनाको सुरुको सम्झौता अनुसार ३६ महिनामा पूरा हुनुपर्ने यो आयोजना कोभिड–१९ को महामारी ठेकेदारले समयमा काम नगरेका भन्दै ७२ महिनासम्म ६६ प्रतिशत काम मात्रै सकिएको छ ।

आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको थियो । ‘पटक–पटक काम अगाडि बढाउन निर्देशन दिँदा पनि ठेकेदारले अटेरी गरेपछि ठेक्का तोडेका हौं,’ ढुङ्गेलले भने, ‘कम्पनीले पनि कोभिड र महँगी लगायतको समस्या देखाउँदै काममा ढिलाईको मनस्थिति बनाएको थियो ।’

ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नुपर्ने थियो ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत बनिरहेको आयोजनाको प्रवर्द्धक कम्पनीमा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारणको सेयर छ । सुरुङ निर्माणमा अनुमान गरिएभन्दा फरक भौगर्भिक अवस्थाका कारण पनि समय बढी लागेको सिइओ ढुङ्गेलको भनाइ छ ।

२०७५ मा अनुमानित लागत ८ अर्ब २२ करोड रहेको आयोजनाको समयमा काम नहुँदा लागत थप हुनेछ । ‘यसअघि आयोजनाको लागि गरिएको लागतअनुमान के कति थप हुनेछ त्यसको लागि लागत अनुमान पछि मात्रै भन्न सकिन्छ ’ सिइओ ढुङ्गेलले भने ।

नयाँ वर्ष मनाउन २०७६ माघमा घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ महामारीका कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा आयोजनाको निर्माण करिब १५ महिना ठप्प भएको थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनः सुरु भएपनि पुनः आलटाल भएको थियो । फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको आयोजना कोराना महामारीका कारण काम रोकिएपछि म्याद थप गरेर असोज २०८० भित्र सक्ने नयाँ लक्ष्य तय भएको थियो ।

आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
आयोजना इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट (इपीसी) मा गरिए पनि भूगर्भको जोखिम जिम्मा त्रिशुली जलविद्युत् कम्पनीले लिएको छ । माथिल्लो त्रिशुली थ्री ‘ए’ (६० मेगावाट) ले बिजुली उत्पादन गरी छाडेका पानी सोझै सुरुङमार्फत खन्याएर यो आयोजनाको विद्युत्गृहमा पुग्छ । यस्तो प्रकृतिको जलविद्युत्लाई ‘क्यासकेड’ भनिन्छ । क्यासकेड आयोजनामा बाध, मुहान संरचना (हेडवक्र्स) बनाउनुपर्दैन । त्यही भएर क्यासकेड आयोजना सस्तो पर्छ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०-३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर छ ।

यस आयोजनाले सुख्खायाममा एक करोड २४ लाख ८८ हजार युनिट र वर्षायाममा एक करोड ५७ लाख ७० हजार गरी वार्षिक रुपमा कूल २ करोड ९२ लाख ५८ हजार युनिट बिजुली उत्पादन गर्नेछ ।

यसअघि आयोजनाको अनुमानित लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको थियो । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको थियो ।

आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको विद्युत गृहबाट करिब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्री बी हब सबस्टेसनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गर्ने योजना छ ।

प्रकाशित मिति : मंगलबार, माघ ०९, २०८० | १५:२९:०० बजे

लेखकको बारेमा

कमल धिताल
पत्रकारितामा सक्रिय धिताल आर्थिक क्षेत्रमा कलम चलाउँछन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नाकोत्तर गरेका उनी जलसरोकारमा कार्यरत छन् ।

प्रतिक्रिया