वास्तविक अवस्था :
तीनतिर भारतले र उत्तरतिर हिमालयसहित चीनले घेरिएको भूपरिवेष्ठित राज्य हो नेपाल । नेपाल र भारत ीच करिव १७०० किलोमिटर लामो अन्तर्राष्ट्रिय खुला सिमाना छ भने चीनतर्फको सिमाना उच्च पहाडी शृंखलाले ढाकेको हुनाले प्राय विकट नै छ । नेपाल क्षेत्रफल तथा जनसंख्याका हिसावले विश्वका एक सय ठूला राष्ट्रमा परे पनि चीन र भारतजस्ता विशाल देशहरुका बीचमा अचेटिएकाले कुनै जमानामा यस राज्यलाई दुई ढुंगाबीचकोे तरुलको रुपमा हेरिन्थ्यो । तर अब परिस्थिति फेरिएको छ, ढुंगा बढेर तरुल च्यापिन थालेको भान हुन थालेको छ नेपालीहरुलाई । चीनतर्फको नेपालको सिमाना हाल विवादरहित भएको सरकारी दस्तावेजहरुले देखांउँछन भने भारतसँगको पश्चिमी सिमानामा पर्ने कालापानी लिम्पियाधुराको करिव ४०० वर्ग किलोमिटर क्षेत्र भारतले हडपेको, सुस्ताको केही क्षेत्रमा भारतले आफ्नो भनी विवाद गरेको तथा नेपाल-भारत सिमानाका करिव ७० स्थानमा सीमा मिचिएकाले नेपाल-भारत सिमाना विवादरहित हुन सकेको छैन ।
चीनतर्फको विकटताका कारण नेपालको ७० प्रतिशतभन्दा ज्यादा व्यापार भारतसँग हुने गरेको छ भने सम्पूर्ण आयातीत सामानहरु भारतकै बन्दरगाहबाट भारतको बाटो हुदै नेपाल प्रवेश गर्ने गरेका छन् । यहाँसम्म कि चीनबाट आयात गरिने सामानहरुमध्ये अधिकांश सामान पनि भारत भएर नै नेपाल प्रवेश गर्दछन् । समग्रमा भन्दा नेपाल भारतमाथि पूरै निर्भर छ भन्दा कुनै अतिशयोक्ति होला जस्तो लाग्दैन । नेपालबाट भारत निकासी गरिने वस्तुहरु क्रमशः घट्ने क्रममा छन् भने भारतबाट आयात गरिने सामानहरु बढ्ने क्रममा छन् । यहाँसम्म कि भारतमा बिजुलीको स्वीच अफ ग¥यो भने काठमाडौंमा भात नपाक्ने अवस्था छ । भारत नेपालको एक मात्र बिजनेस पार्टनर (व्यावसायिक साझेदार) हो तर यो साझेदार सधैं भरपर्दो भने देखिएन । नेपालबाट निशुल्क भारत निकासी हुने एक मात्र वस्तु भनेको बाढीको पानी हो तर त्यसको कुशल व्यवस्थापनमा समेत भारत उदासीन देखिएको छ ।
नेपाली राष्ट्रियता वा राष्ट्रवादिता : राणा शासनको अन्त्य
समयसँगै नेपालको राष्ट्रवाद वा राष्ट्रियता बदलिएको छ ः राणा शाशनको अन्त्य भएर त्रिभुवनको शाही शासनकालमा नेपालको भनिएको राष्ट्रवाद केही पढेलेखेका दरवारिया नेपालीहरुमा, भारत प्रवासमा बसेर नेपालको भलो चिताउने नेपाली विद्यार्थीहरु, सरकारी नोकरशाही र दरबारिया सिपाहीहरुमा सीमित थियो । सर्वसाधरण जनतासँगको सम्पर्कमा पो को आउँथ्यो र यस्तो कुराको विवेचना गर्न ? मोहन शम्शेरको अन्तिम नौ महिने प्रधानमन्त्रीकालमा राणाहरुसँग भएका सबै चल सम्पत्ति भारत ओसार्न दिएकाले यो कुरो थाहा पाउने नेपालको दरबार र कांग्रेसीहरु यसको विरोधमा उभिए । पत्रपत्रिकामा यस्तो कुरो आउने कुरो नै भएन नेपालमा तर नेपाली कांग्रेसका कार्यकर्ताहरुले तथा नेपालको दरबारले समेत हुन सक्छ केही हदसम्म यो विषयलाई विभिन्न गीत सँगीत बनाएर नेपालभर फैलाए । सो समयको राष्ट्रवाद सो गीत गायनमा नै सीमित भएन होला, मध्यमवर्गीय नेपालीहरुलाई समेत यस्ता गीतको बोलले झस्काएको हुनुपर्दछ । यसले सर्वसाधारण नेपालीलाई एक किसिमले राणाविरोधीसँगै केही रुपमा भारतविरोधीसमेत बनाएको हुन सक्दछ । तर निम्नवर्गीय, निरक्षर व्यक्तिहरुको बाहुल्य रहेको सो समयको नेपालमा यस्तो विचार माथिल्लो र मध्यम वर्गिय परिवारमा मात्र सिमित रहेको परिकल्पना गर्न सकिन्छ । भारतीय राजदूत महाराजाकृष्ण रसगोत्रा सन् १९५४ तिरको नेपाल भ्रमणको प्रसँगमा विराटनगरमा भारतविरोधी यस्तो ह्ल्ला तत्कालीन प्रधामन्त्री मातृकाप्रसाद कोइरालाका कार्यकर्ताहरुले माथिको इशारामा तथा प्रजा परिषद्का कार्यकर्ताहरुले फैलाएको जिकिर गर्छन । यससँगै उनको भनाईमा नेपालको ‘उपनिवेश’ जस्तो रहेको नेपालको तराई हडप्ने भारतको मनसाय भएको कुरासमेत हल्लाको विषय भएको उल्लेख गर्दै नेपालको विरुद्धमा विष वमन गर्न पछि पर्दैनन् । वास्तवमा नयाँ दिल्लीमा भएको सम्झौताबमोजिम श्री ३ विनाका मोहन शमशेरको प्रधानमन्त्रित्वमा गठित मन्त्रिमण्डलमा तत्कालीन नेपाली कांग्रेसका अध्यक्ष रहेका माृतकालाई गृहमन्त्री बन्न गरिएको भारतीयसहितको आग्रहलाई मातृकाले अस्वीकार गरेपछि निजकै भाई विश्वेश्वरप्रसाद कोइरालाले सो पद सहर्ष स्वीकार गरेको कुरा पुरुषोत्ताम शमशेरले लेखेका छन् । मार्तकाप्रसाद कोइरालाको त्यो अस्वीकारोक्ति आफूलाई प्रधानमन्त्री नबनाएको कारण भएको तथा राणाहरुलाई तिनीहरुको चल सम्पत्ति भारत लैजान दिने कुरामा समेत निजको सहमति नभएकाले भएको मेरो अनुमान छ । त्यसैले, भारतविरोधी गतिविधिमा मातृकाको पनि साथ रहेको हुन सक्तछ भन्ने मेरो विचार छ । साथै यस्तो भारतविरोधी काम विदेशी पैसा (चीन) मा कांग्रेसी र प्रजा परिषद्का कार्यकर्ताहरुले गरेको हुनसक्ने कुरा रासगोत्रीद्वारा उद्धृत गरिएको पण्डित नेहरुको चिट्ठीमा समेत उल्लेख भएको पाइन्छ । भारतीयहरुको डिप्लोमेसीको स्तर आजका दिनसम्म त यस्तो छ नेपालमा भने सन् १९५४ मा कस्तो थियो होला ??
सातसाल पछिको तथाकथित प्रजातन्त्रिक काल
२००८ सालमा मातृकाप्रसाद कोइराला नेपालको प्रधामन्त्री भएदेखि नै उनले पण्डित नेहरुसँग सल्लाह लिने गरेको तर सो सल्लाह बमोजिम काम नगरेको कुरा नेहरुले उल्लेख गरेको पाइन्छ । रासगोत्रा भारतमा मातृकालाई सल्लाह दिने पण्डित नेहरुबाहेक भारतका अन्य राजनितिक दलका पण्डित नेहरुको विपक्षका नेताहरु पनि हुनसक्ने कुरामा अनभिज्ञ जस्तै देखिन्छन् । त्यसैले त सो समयमा हुने गरेको भारतविरोधी क्रियाकलापमा चीनलाई संकेत गर्दै विदेशी पैसाको मात्र जिक्र गर्छन् । नेपालीहरु ‘हाम्रो पुरानो समझदारी बमोजिम काम गर्न इच्छुक छैनन्’ भने सो समझदारीमा सशोधन गर्नु उचित हुन्छ भनी नेहरुले राजा त्रिभुवनलाई २१ जुन १९५२ मा लेखेको चिट्ठीको कुरा समेत रासगोत्रीले उल्लेख गरेका छन् । यस्तो पुरानो समझदारीचाहिं के-के होलान् ? मेरो बिचारमा यो समझदारी भनेको नेपालका राजा दिल्लीको हैदरावाद हाउसमा ३ महिना प्रवासमा रहँदाको कुरा हुनसक्छ । यो समझदारीभित्र केही कुराहरु कांग्रेससलाई मन नपर्ने केही तत्कालीन युवराजधिराज महेन्द्रलाई मन नपर्ने परेको मेरो बुझाई छ । र हैदरावाद हाउसमा भएका तिनै समझदारीहरु पछि गएर नेपाल-भारतबीच विकास भएका तीता सम्बन्धको जगमा रहेको कुरा बुझ्न सकिन्छ । तर, पण्डित नेहरुले भनेझै हामी न भूगोल बदल्न सक्छौ न इतिहास, त्यसैले नेपाल र भारत दुई देशका जनताबीच घनिष्टतम मित्रता हुँदाहुँदै पनि सरकारी तहमा विभिन्न आरोह अवरोहको सामना गरिरहेका छौं । नेपालीको राष्ट्रवादले भारतसँगको दूरी बढाउन सघाएको भान हुन्छ भने कहिलेकाहीं भारतको सुरक्षा चासोले अग्रभागमा रहेर यो समस्या झन् अल्झाउने गरेको मेरो विचार छ । रासगोत्राका विचारमा नेहरु नेपालप्रति एकदमै सहानुभूति राख्ने भारतीय नेता थिए त्यसै कारण नेपाली सैनिकलाई तालिम दिन काठमाडौंमा भारतीय सैनिक मिशन तथा नेपाल-चीन सिमानामा भारतीय सैनिक तैनाथ गरिएको हो भन्ने कुरा नेपालीलाई पच्न गाह्रो हुने कुरा हो भन्ने मेरो विचार छ । यो सन् १९५१ को दिल्ली सम्झौताको एक अंश भएको र नेपाली कांग्रेस उक्त दिल्ली सम्झौताको साझेदार भएकाले नेपाली कांग्रेसको पनि यसमा समर्थन रहेको मेरो बुझाई छ । त्यसैले, सो समयको नेपालको राष्ट्रियता यसैको सेरोफेरोमा मैले बुझेको छु । तर, यसमा म पण्डित नेहरुको नेपालप्रेम देख्दिनँ ।
राजा महेन्द्रको राष्ट्रवाद
राजा महेन्द्रको राज्य काल २०११-२०२८ का १७ वर्षमा नेपालको राष्ट्रियताको परिभाषा अलग रुपले गरियो । मेरो विचारमा यस राष्ट्रियतामा युवराज महेन्द्रले दिल्ली प्रवासका क्रममा प्राप्त गरेको ज्ञानले समेत ठूलो भूमिका खेलेको हुनसक्छ । राष्ट्रियता सो समयमा नेपाली कांग्रेस र भारतप्रतिको राजाको अविश्वासबाट शुरु भएको र सो क्रममा त्यो समयको राष्ट्रियताभित्र नेपाल राष्ट्र बैंकको स्थापना, नेपाली भाषाको प्रचार, नेपाली भाषामा पढाई, नेपालभित्रैबाट देशको एक कुनाबाट अर्को कुनासम्म पुग्न सक्ने बाटोघाटोको निर्माण, नेपालको सुरक्षामा नेपालीको सहभागिता र सबैभन्दा मुख्य नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम थिए । यी सवैको केन्द्रमा नेपाललाई भारतको चंगुलबाट मुक्त गर्ने चासो थियो । तर यति हुँदाहुँदै पनि भारतलाई गण्डकी नदी र कालापानी-लिम्पियाधुरा क्षेत्रको करिव ४०० बर्गकिलोमिटर क्षेत्र नजराना स्वरुप बुझाउने काम भयो । सो समयमा नेपालका राजनीतिक पार्टीहरुको राजनितिक दूरदृष्ट्रि नभएकाले नाममात्रको प्रजातन्त्रमा सत्ता पाउने लोभले निजहरुले खासै राष्ट्रवादी भूमिका खेल्न सकेनन् । पृथ्वीनारायण शाह र बहादुर शाहले नेपालको भौगोलिक एकीकरणबाट र राजा महेन्द्रले नेपालको भाषिक तथा अन्य कनेक्टीभिटीका हिसाबले नेपालको एकीकरण गरी आफ्नो-आफ्नो पालाको राष्ट्रियता प्रदर्शन गरे । यो समयमा नेपाली जनताको राष्ट्रियता राजभक्ति तथा देशभक्तिका रुपमा देखियो । तर, राजनीतिक दलहरु दलीय राजनीतिमा राष्ट्रियता देख्ने गर्थे भने प्रायः पढेलेखेका शिक्षित नेपालीहरु दलीय राजनीतिलाई पनि देशभक्तिसँग जोडेर बुझ्ने गर्थे ।
रासगोत्रा लेख्छन्, सन् ६० को दशकको सुरुमा चीन-भारत लडाइँ हुने ताक र तत्काल लडाइँपछि नेपाल पूरै चीनतर ढल्केको थियो तर सन् १९६५ मा भारत-पाकिस्तान लडाइँको अन्त्यमा नेपाल पूरै भारततिर रहेको थियो । तर, मेरो विचारमा, भारतको कुनै पनि अर्को देशसँगको लडाइँमा नेपालले भारतको पक्ष नलिएर अर्काको पक्ष लिनै सक्तैन किनभने भारतको तर्फबाट धेरै नेपालीहरु रणमैदानको अग्रभागमा हुन्छन । त्यसैले भारतसँग भएको कुनैपनि लडाइँमा भारतीयहरुको नेपालीहरु भारत परस्त भए भन्ने गुनासो एकदमै अपत्यारिलो, नितान्त गलत र आधारहीन छ । किनभने, नेपाल सवै नेपालीको सुरक्षा चाहन्छ र भारतीय रणमैदानमा रहेका नेपालीहरु नेपाल आमाकै सन्तान हुन् भन्ने कुरामा दुईमत राख्न सक्तैन । त्यसैले, यो मामिलामा नेपालको राष्ट्रियता भारतीयहरुको राष्ट्रियतासँग जोडिएको हुन्छ । त्यसैले, हालसालै यस क्षेत्रमा विकास भएको भारत पाकिस्तान युद्धको माहौलमा नेपालले सके युद्ध रोक्ने कूटनीति अँगाल्ने हो नत्र भारतको पक्षमा बस्ने हो । नेपालको लागि अर्को विकल्प छैन ।
यो कुरा भारतको कुनै अर्को देशसँग भएको क्रिकेट म्याचमा भारतलाई समर्थन नगरेर विरोधीलाई समर्थन गरेजस्तो पक्कै होइन । क्रिकेट म्याच र वास्तविक लडाइँमा भएको यो अन्तर बुझ्न म तमाम भारतीयहरुलाई आग्रह गर्दछु ।
सन् १९७० को दशकमा रासगोत्रा नेपालको राजदूत नियुक्त भएपछि नेपालबारे जानकारी दिने क्रममा नेपालका महाराजालगायत नेपाली शासकहरु भारतविरोधी भएको कुरा उल्लेख गरेका छन् । यहाँसम्म कि प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धी स्वयंले ‘नेपालीहरु हाम्रो मित्र होइनन् त्यसैले नेपालप्रति कडा भएर व्यबहार गर्नू’ भन्ने आदेश पटक-पटक दिएको कुरासमेत गैरकूटनीतिक पारामा उल्लेख गरेका छन् । यसको मतलव, नेपालको राष्ट्रियता भारतलाई चित्त नबुझ्ने खालको भएको देखिन्छ । यो कुराको जगमा नेपाल-चीन सिमानाबाट भारतीय सैनिक पोष्टहरु नेपालद्वारा हटाइएको तथा नेपालको शासन व्यवस्थामा राजा महेन्द्रको पालामा दलवदलु कांग्रेसले पाएको जिम्मेवारी अब नेपालका तथाकथित कम्युनिष्टले पाएको कुरा भएकोमा भारतको चित्त दुखाई रहेको भन्ने बुझ्न सकिन्छ । यसैको झोंकमा भारतले नेपालमाथि दोश्रोपटक आर्थिक नाकाबन्दी लगायो । यस नाकाबन्दीका कारण नेपालीहरुले, खास गरेर पहाडमा वस्ने नेपालीहरुले प्रशस्त दुःख पाए । तर भारतीयहरु नेपालमा चीनको हस्तक्षेप भएकाले भारतविरोधी भएको देख्छन । यस्तो अवसरमा चीनले पनि केही खेल खेल्ने मौका पक्कै पायो होला, तर नेपालीलाई भारतविरोधी बनाउने कुराको जगमा त नेपालमाथि लगाइएको आर्थिक नाकाबन्दीलाई नै जानुपर्ने मेरो धारणा छ ।
सन् १९९० पछिको नेपालको राष्ट्रवाद
सन् १९९० पछिको नेपालमा राजनीतिक दलहरुले समय समयमा नेपाल-भारतबीच विवादित भनी भारतले विवाद गरेका सुस्ता र कालापानी लिम्पियाधुरा क्षेत्रमा कालो झण्डा देखाउने कार्यमा आफ्नो राष्ट्रियताको प्रदर्शन गर्थे ः यो क्रम वामपन्थी दलहरुमा बढी प्रचलित थियो । नेपाली कांग्रेसले यसबारेमा ज्यादा चासो लिएको देखिएन भने दरबार यो झण्झटमा पर्न चाँहहदैन थियो र वास्तवमा नेपालको दरबार तथा कांग्रेसले यो कुरालाई यदाकदा निरुत्साहित गरेको पाइयो । सन् २०१५ को भारतीय नाकाबन्दी सबैभन्दा असरदार भएको मैले बुझेको छु । यसका विभिन्न कारणहरुमा प्रमुख कारण सो समयको विकसित र असरदार सञ्चार माध्यम हो । यो भारतीय आर्थिक नाकाबन्दी भारत सरकारले लगाएको होइन भनी भारतीय सरकारी तथा अन्य भारतीय संचार माध्यमहरुले प्रचार गर्ने गरेका छन् । यो कुरा विश्वासलाग्दो भने छैन । तर, जसले यो नाकावन्दी लगाएको भए पनि यो नाकाबन्दी नेपालीविरोधी हुनुका साथ साथै सबैभन्दा भारतविरोधी कार्य भएको मैले देखेको छु । यसले, प्रत्यक्ष रुपमा भारतको सुरक्षामा खलल गर्न सक्ने मैले अनुमान गरेको छुः तर भारतमा यसैलाई भारतीय राष्ट्रवाद भएको देखिएको छ । यो नाकावन्दीले भारतीयहरु भारतीय सीमारक्षक रहेका पहाडी नेपालीहरुलाई चिढाएर केही तराइवासी नेपालीहरुलाई खुशी पार्नु नै आफ्नो राष्ट्रवाद देख्छन् । राजदूत रञ्जित रे नेपालीहरु भारतविरोधी हुनुमा केवल चीनको चलखेल देख्छन् ।
हालको नेपालको राष्ट्रवाद
हाल नेपालमा नेपालको राष्ट्रवादलाई कसैले विगतका राजासँग जोडेर हेर्ने गरेका छन भने कसैले भारतसँग कुनै व्यवहार नै नगर्नुलाई राष्ट्रवाद देख्छन् । अर्काथरिले भारतले मागेअनुसारको दिने नीति नै नेपालको राष्ट्रवाद भएको कुरा घुमाउरो पारामा उल्लेख गर्ने गरेका छन् । अर्का थरि राष्ट्रवादीहरु भारतद्वारा मिचिएका नेपालका भूभाग सके सेनाको प्रयोगद्वारा फिर्ता गर्ने नसके नक्शामा मात्र भए पनि नेपालभित्र देखाएर भारतविरोधी भएको राजनीति गर्न उद्यत छन । कोही नेपालमा उत्पादित जलविद्युत्को अधिकतम परिमाण भारत निकासी गर्नुलाई नेपालको राष्ट्रवाद भएको ठान्दछन भने अर्का थरि खेर जाने जलविद्युत् पनि भारत निकासी गर्नु हुन्न भन्ने कुरालाई राष्ट्रवाद भएको देख्छन् । बाढी व्यवस्थापनको कुरो गर्दा कोही राष्ट्रवादीहरु नेपालको बाढीलाई यथाअवस्थामा बग्न दिनुलाई राष्ट्रवाद देख्छन् भने अर्काथरि राष्ट्रवादीहरु नेपालका कोशी, गण्डकी, कर्णालीलगायतका सबै खोलानाला कौडीको मोलमा वा निशुःल्क भारतलाई दिनुलाई राष्ट्रवाद देख्छन् । त्यो गर्न नसके, नेपालका जलाशययुक्त बहुउद्देश्शीय आयोजनाहरुलाई जलविद्युत् आयोजनाको नाम दिई नि:शुल्क भारतलाई दिनुलाई आफ्नो राष्ट्रवाद भएको देख्छन । त के हो त आजको दिनको नेपालको राष्ट्रवाद ?