जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

त्रियुगा नदी नियन्त्रणमा बजेट कटौती आगामी वर्षायाममा डुबान र कटानको सास्ती

विकास थापा
मंगलबार, फागुन २२, २०८० | २१:०४:०० बजे

 

बेलका, आमवासी (उदयपुर)– हिउँदयाममा नदी कटान र डुबानको पूर्व तयारी गर्ने नेपालीहरुको चलन छैन । नेता र कर्मचारीहरुका लागि त्यो असान्दर्भिक हुन्छ । अझ नेताहरुलाई त कसरी सरकार बनाउने र ढाल्ने भन्नेमा बढी ध्यान जान्छ । अनि जनताले पाएको दुख र पीडा ठूलो स्वरमा संसदमा फलाकेर भोटको राजनीति गर्ने गर्छन । वर्षायाममा बाढी पहिरो गइसकेपछि मात्र संसदमा सांसदहरुले होहल्ला गर्न थाल्छन् । अनि भन्ने गर्छन्— सरकारको पूर्व तयारी पुगेन । जसै हिउँद लाग्छ, वर्षायामभरि भनेका र गरेका वाचा, कार्यक्रम, नीति, योजना सबै बिर्सिइँदै जान्छन् । यस्तै समस्या आगमी वर्षामा पनि दोहोरिने निश्चित छ ।

 

उदयपुरको त्रियुगा नदीलाई दुबै किनारामा बाँध बाँधेर व्यवस्थापन गरी सुरक्षित रुपमा कोसीमा पु¥याउने उद्देश्यले नेपाल सरकारले २०७८ देखि सुरु गरिएको त्रियुगा नदी नियन्त्रण बजेट अभावले अलपत्र जस्तै छ । सरकारले त्रियुगा नदी व्यवस्थापनको यस वर्ष बजेट नछुट्याएपछि सो क्षेत्रका बासिन्दा आगमी वर्षायाममा नदी कटानको उच्च जोखिममा पर्ने भएका हुन् ।
त्रियुगा नदीले आसपासको जमिन काट्ने, जनधनको क्षति गर्ने भएकाले यसबाट आम जनतालाई राहत दिन सरकारले आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब १५ करोड रुपैयाँको संसोधित कूल लागत अनुमानको यो आयोजना स्वीकृत गरेको थियो । तर, आर्थिक वर्ष २०८०/८१ को बजेट कटौतीले सो क्षेत्रका बासिन्दालाई आगामी वर्षायाम झन् कष्टकर हुने देखिन्छ ।

अघिल्लो आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णप्रसाद पौडेलले २०७७ माघ १५ गतेको नेपाल सरकार अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी यो आयोजनाका लागि १ अर्ब ९६ करोड रुपैयाँको स्रोत सुनिश्चितता प्रदान गरेका थिए । तर त्यसमा भर्खरै निवर्तमान भएका अर्थमन्त्री प्रकाशशरण महतले कैची चलाएर ६ करोड ९५ लाखमा झारिदिए पछि यसले तटबन्धको काम अलपत्र बन्न पुगेको हो । गत वर्षहरुको आँकडा हेर्ने हो भने वर्षायाममा तटबन्ध निर्मााण नहुँदा यसले करौडौको धनमाल क्षति तथा ज्यान गुमाएका तथ्यांक छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना– २०७९ मा ५ हजार ८ सय २५ वटा पहिरो र भारी वर्षाका कारण दुई हजार ३ सय ६२ जनाको मृत्यु भएको उल्लेख छ । गत वर्ष ती घटनामा ८ सय ८० जना बेपत्ता भएका थिए । विगत १० वर्षको तथ्यांकलाई हेर्ने हो भने बाढी जल उत्पन्न प्रकोपका कारण २३ जनाको मृत्यु भएको छ भने १९ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

सरकारले नदी नियन्त्रणका लागि पर्याप्त बजेट नछुट्याउँदा यस वर्षामा पनि त्रियुगा नदी आसापासमा सो समस्या दोहोरिने देखिन्छ । यसअघि निर्माण भएका तटबन्धबाहेकका क्षेत्रमा भने यी समस्या दोहोरिने देखिन्छ । यसवर्ष तटबन्धको कार्य नहुँदा नदी आसपासका वस्ती जोखिममा परेको स्थानीयको भनाइ छ । हिउँदभरी समस्या नहुने वर्षासँगै यहाँका वस्तीहरु जोखिममा पर्ने स्थानीय भक्त चाम्लिङ बताउँछन् । ‘हिउँदमा हामीलाई कुनै समस्या छैन । वर्षासँगै आउने ठूलो भेलले यहाँका संरचनाहरु समस्यामा पर्छन’, उनी भन्छन्, ‘बाँध नबाधेका कारण जोखिम रहेको वडा कार्यालयमा बाँध बाँध्नको लागि जाली माग्दा गत वर्ष जम्मा २ वटा पाएका थियौं । २ वटा जालीले यत्रो नदी कसरी रोकथाम गर्ने ?’

चुरे र महाभारत क्षेत्रको किनारमा पर्ने त्रियुगा नदीले हरेक वर्ष उदयपुर जिल्लाका मानवबस्ती र खेतीयोग्य जमिनलाई बगरमा परिणत गर्दै आइरहेको छ । महाभारत र चुरेको दोहन बढेसँगै वर्षायाममा पहिरो जाने हुँदा त्रियुगा नदीको सतह बढ्दै गएको छ । यसबाट नदीको मुहानदेखि सप्तकोसीसम्म खेतीयोग्य जमिन बगरमा परिणत गर्ने र मानव वस्ती विस्थापित गर्दै आएको छ । चुरे र महाभारत क्षेत्रको वर्षेनी जाने पहिरो कारण त्रियुगा नदीको सतह बढ्ने गरेको छ । यो नदीको मुहानदेखि सप्तकोसीसम्म तटबन्ध खहरे खोलाकै कारण खेतीयोग्य जमिन सेती बगरमा परिणत हुँदा मानव वस्तीसमेत विस्थापित हुँदै गएको छ ।

सरकारले २०७७ मा छुट्याएको १ अर्ब ९६ करोड रुपैयाँ बजेटबाट आयोजनाले हालसम्म लन्चिङ्ग रिभेटमेन्ट सहितको २३ किलोमिटर बाँध निर्माण गरेको छ । नदीका दुबैतर्फ ५०, ५० किलोमिटर गरी एक सय किलोमिटर मध्ये २३ किलोमिटर बाँध निर्माण हालसम्म सम्पन्न भएको छ तर बाँकी रहेको ७७ किलोमिटर तटबन्ध निर्माण त्रासमा बस्नुपरेको स्थानीयको भनाइ छ । ‘हिउँदभरी आनन्दसँग बस्ना पाए पनि वर्षायामसँगै त्रासमा बस्नुपर्छ’ स्थानीय पूर्णबहादुर खड्का भन्छन् ।

गत वर्षको विनियोजित बजेटबाट निर्माण भएको २३ किमी तटबन्धको स्थानका स्थानीय आफूहरु तटबन्धले केही सुरक्षित महसुस गरेको बताउँछन् । ‘त्रियुगा नदीमा बाँध बनेपछि आफूहरुलाई निकै सहज भएको छ । पहिला बाढी आएपछि कसरी सबैलाई कसरी बचाउने भन्ने थियो । अब त्यो समस्या छैन,’ स्थानीय सागर सदाले भने । सरकारले पर्याप्त बजेट नदिएको कारण यस वर्ष त्रियुगा नदी नियन्त्रणको कार्यअघि बढ्न नसकेको आयोजना प्रमुख विजयकुमार रेग्मी बताउँछन् ।

‘यसअघि निर्माण भएको २३ किमी बाँधले राम्रो प्रभाव पारेको छ । सोही बाँधले त्यसअघि भएका कृषियोग्य जमिनको क्षतिको न्यूनीकरण भएको छ भने त्यसले आम जनतालाई सुरक्षाको अनुभूति पनि उपलब्ध गराएको छ’, रेग्मी भन्छन्, ‘हाम्रो बाँधको बहुउपयोग गर्न हामीले थालेका छौं । उक्त क्षेत्रमा हरिया वनस्पति र झारहरु रोपेर चरिचरणको लागि घाँसहरु उपलब्ध हुँदैछ भने बाँधको माथिल्लो क्षेत्रमा सडक बनाएका छौं जसले यातायातको सहज भएको छ ।’

आयोजना पूर्ण रुपमा कार्यान्वयन भइसकेपछि यसबाट ८० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजना पुरै निर्माण भएको अवस्थामा ४५० हेक्टर क्षति भएको जमिन उकास हुने र आर्थिक रुपमा राम्रो प्रभाव पर्ने तथा आर्थिक विश्लेषण गर्दा १२ दशमलब १२ प्रतिशत आर्थिक रुपमा फाइदा हुने देखिएको रेग्मी बताउँछन् । ‘वर्षेनि आउने त्रियुगाको भेलले कृषि योग्य जमिन कटान गरिरहेको हुँदा यो चाँडोभन्दा चाडो निर्माण सम्पन्न गर्नुपर्छ,’ उनले भने, ‘यदि स्वीकृत लागत अनुसार समयभित्रै सम्पन्न गर्न सकेको खण्डमा र यसले नदीबाट निरन्तर कृषियोग्य जमिनको भइरहेको कटानलाई न्यूनीकरण गरी जनधनको क्षतिकम गर्छ ।’

अघिल्लो आर्थिक वर्षमा सरकारले सुनिश्चित गरेको १ अर्ब ९६ करोड मध्ये १ अर्ब ८३ करोड खर्च भइसकेको र सो मध्ये पनि १३ करोड अझै अर्थले दिनै बाँकी रहेको आयोजनालले जनाएको छ । निर्माण भएका २३ किमी बाँधले राम्रो प्रभाव पारेको त्यसअघि भएका कृषियोग्य जमिनको क्षतिको न्यूनीकरण भएको रेग्मी बताउँछन् । ‘निर्माण भएको २३ किमी बाँधले आम जनतालाई सुरक्षाको अनुभूति पनि उपलब्ध गराएको छ । हाम्रो बाँधको बहु उपयोग गर्न हामीले थालेका छौं’ आयोजना प्रमुख रेग्मी भन्छन् । सरकारले समयमा बजेट उपलब्ध गराए समयमै तटबन्ध निर्माण गर्न सकिने र यसबाट सो क्षेत्रमा रहेको कृषियोग्य जमिन कटान कम हुने र जनताको जनधनको सुरक्षा हुने रेग्मीको भनाइ छ ।

प्रकाशित मिति : मंगलबार, फागुन २२, २०८० | २१:०४:०० बजे

लेखकको बारेमा

विकास थापा
झण्डै ३ दशकदेखि पत्रकारितामा सक्रिय थापा जलसरोकारका प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया