महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
जलसरोकार
कैलाली ः नेपाल–भारतबीच महाकाली सन्धि भएको तीन दशक बितिसकेको छ, तर महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूल नहरमा पानी बग्ने सुरसार अझै छैन ।
सन्धिअनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा ३०० क्युसेक र वर्षायाममा १,००० क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । यद्यपि, दुई पटक टनकपुरबाट मूल नहरको परीक्षणका लागि मात्र पानी छोडिएको छ; नियमित पानी आपूर्ति बारे भारतीय पक्षले ध्यान दिएको छैन ।
तेस्रो चरणले मुख्य नहर निर्माणसँगै केही शाखा नहरसमेत तयार पारेको छ । तर कञ्चनपुर र कैलालीको ३३,५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यका लागि पानी नआएको कारण किसानहरू निराश छन् । आयोजनाको भौतिक प्रगति दिनप्रतिदिन बढिरहे पनि पानी बग्ने विषय भने अझै अनिश्चित छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणमा कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर चार चरणमा निर्माण भइरहेको छ । निर्माण कम्पनीसँग रु १ अर्ब ९७ करोडको सम्झौता भएको छ र हालसम्म आयोजना निर्माणमा रु ९ अर्ब खर्च भइसकेको छ ।
इञ्जिनीयर राजेश पोखरेलका अनुसार, सिँचाइका लागि पटक–पटक विभाग र मन्त्रालयमार्फत भारतीय पक्षसँग पत्राचार गरिएको छ । “सुरुमा सबै संरचना तयार छ भन्ने खबर आएको थियो, तर माथिल्लोस्तरबाट पहल हुनुपर्छ,” उनले बताए ।
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाश रावलले भने, “केन्द्र सरकारले नै महाकाली सिँचाइको काम समयमा सम्पन्न गरी किसानको खेतबारीमा सिँचाइ सुविधा पु¥याउन गम्भीर हुनुपर्छ । मूल नहरमा पानी कहिले बग्ने भन्ने टुङ्गो छैन । प्रदेश र स्थानीय सरकारले भूमिगत सिँचाइमा जोड दिनुपर्ने अवस्था छ ।”
महेन्द्रनगरका समाजसेवी लीलाध्वज बस्नेतले सन्धि गर्दा गरिएको हतारोका कारण अहिले मूल नहरमा पानी नआएको बताए । “बिना अध्ययन सन्धि गर्दा अर्बौं लगानी गरे पनि मूल नहरमा पानी नबग्ने अवस्था आयो। यसमा केन्द्रीय सरकारले पहल गर्नुपर्छ ।”
कञ्चनपुर र कैलालीका किसानहरू लामो समयदेखि भूमिगत सिँचाइ र आकोश पानीमा भरमाखेती गर्दै आएका छन् । बेदकोट नगरपालिकाका किसान भीम चौधरीले भने, “सिँचाइको मूल नहर घर आँगनमै पुगेपनि पानी कहिले पुग्ने भन्ने टुङ्गो छैन। वर्षौंको आशा अझै अधुरो छ ।”
नेपाल–भारतबीच महाकाली सन्धि २०५२ सालमा भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
-
प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै उज्यालो नेपालले संगठन विस्तार र आगामी चुनावी तयारी तीव्र बनाउने
-
डलर पीपीएमा चम्किएको खिम्ती, अहिले १ करोड ३२ लाख रुपैयाँ घाटामा
-
बुटवल पावरको नाफा पाँच वर्षमा आधाभन्दा बढी खुम्चियो, तर लगानी बढ्दै; नगद र तरलतामा दबाब
-
लक्ष्यभन्दा धेरै पछाडि राजस्व संकलन, फागुनसम्म ७ खर्ब ५२ अर्ब मात्रै उठ्यो
-
बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक