सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशका प्रमुख नदीमा जलसतह सतर्कता तहभन्दा माथि, उच्च सतर्कता अपनाउन आग्रह

जलसरोकार
बुधबार, भदौ १७, २०८३ | १०:४७:१७ बजे

 

काठमाडौं : देशका विभिन्न भू–भागमा निरन्तर भइरहेको वर्षाका कारण प्रमुख नदीमा जलसतह बढेर सतर्कता तह नाघेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा जलसतह उच्च बिन्दुमा पुगेको छ ।

सिन्धुलीको खुर्कोटस्थित मापन केन्द्रमा सुनकोशी नदीको जलसतह ७ दशमलव ६२ मिटर पुगेको छ । उक्त स्थानमा ७ दशमलव ५ मिटरलाई सतर्कता तह मानिएको छ । हाल सुनकोशीको बहाव स्थिर रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, गोरखाको आरुघाटस्थित मापन केन्द्रमा बुढीगण्डकी नदीको जलसतह ३ दशमलव ६ मिटर पुगेको छ । यहाँ ३ दशमलव ५ मिटरलाई सतर्कता तह मानिएको छ । बुढीगण्डकीको जलसतह भने विस्तारै घट्दो क्रममा रहेको छ ।

डडेलधुराको पारीगाउँमा महाकाली नदीको जलसतह ६ दशमलव ३७ मिटर पुगेको छ । उक्त स्थानको सतर्कता तह ५ दशमलव ८ मिटर रहेकाले महाकालीको जलसतह पनि सतर्कता तहभन्दा माथि पुगेको छ ।

महाशाखाले यी नदीका तटीय तथा तल्लो क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सम्भावित बाढीको जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : बुधबार, भदौ १७, २०८३ | १०:४७:१७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया