भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार प्रभावित क्षेत्रमा अपराह्नपछि वर्षाको सम्भावना रहेकाले खोज तथा उद्धार कार्यमा थप चुनौती आउन सक्ने देखिएको छ ।
विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मौसम मापन केन्द्रमा ६० दशमलव २ मिलिमिटर मापन भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने विभागले जनाएको छ । हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कोशी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ भने तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
वर्षाका कारण उद्धारमा चुनौती
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा चुनौती थपिएको बताउनुभएको छ ।
उहाँका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्पसमेत डुबेको थियो । सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
“बिहानैदेखि खोजी सुरु गरिएको छ । रातभरको वर्षाले पानी तान्ने पम्प छोपिएपछि सुरक्षाकर्मीले त्यसलाई निकाल्ने काम गरिरहेका छन्”, उहाँले भन्नुभयो ।
जल तथा मौसम विज्ञान विभागले अझै तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप समस्या आउन सक्ने जनाएको छ । वर्षाका कारण खोज, उद्धार तथा अन्य व्यवस्थापन कार्यमा चुनौती बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाइएको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बताउनुभयो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा जलसतह सतर्कता तहभन्दा माथि, उच्च सतर्कता अपनाउन आग्रह
-
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
-
माथिल्लो अरुणको डिजाइन पुनरावलोकनले घटाउन सक्छ २५–३० अर्ब लागत : निवर्तमान प्रमुख श्रेष्ठ
-
आज देशभर बदली, हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना
-
भोटेकोशी बाढीको रहस्य : कहाँबाट आयो करोडौँ घनमिटर पानी?
-
त्रिशूली-३ 'ए' उद्धारमा आशा बढ्यो : प्रगति यस्तै रहे भोलि पावरहाउस पुग्न सकिने