रसुवागढी जलविद्युत् आयोजनामा सम्पर्कविहीन ९३ जनाको उद्धारका लागि टोली परिचालन
जलसरोकार
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीन भएका ९३ जनाको खोजी र उद्धारका लागि टोली परिचालन गरिएको छ ।
यही भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली परिचालन गरी आयोजनास्थलको रेकीलगायत खोज तथा उद्धारका काम भइरहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी रहेका छन् । त्यस्तै दुई जना ज्यालादारी कर्मचारी तथा आयोजनाको निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना सम्पर्कविहीन छन् ।
यसैगरी, आयोजनामा कार्यरत सिडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना पनि बाढीपछि सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।
बाढीपछि आयोजनाको भूमिगत डिसेन्डरमा छ जना फसेका थिए । तीमध्ये चार जना दुई दिनसम्म प्रयास गरेर आफैँ बाहिर निस्कन सफल भएका थिए । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
बाढीका कारण आयोजनास्थलमा ठूलो क्षति पुगेपछि बाँकी सम्पर्कविहीनको अवस्थाबारे यकिन गर्न कठिन भइरहेको छ । सुरक्षा निकाय तथा प्राविधिक टोलीले हेलिकप्टरबाट रेकी गर्नुका साथै सम्भावित स्थानमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
-
सुनको मूल्य घट्यो, चाँदी स्थिर
-
त्रिशूली-३ ए उद्धारमा चिलिमेका पूर्व सीईओ भट्टराईको सुझाव : ९० मिटर चेनिजबाट क्याभिटी छेडेर अक्सिजन पुर्याउन सकिन्छ
-
रसुवागढी जलविद्युत् आयोजनामा सम्पर्कविहीन ९३ जनाको उद्धारका लागि टोली परिचालन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० करोड जुटाउने इप्पानको लक्ष्य, हालसम्म ८ करोड १९ लाख संकलन
-
बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा