जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम ९९ प्रतिशत सकियो

जलसरोकार
मंगलबार, वैशाख ११, २०८१ | १४:१८:२९ बजे

 

काठमाडौं — सुनकोशी–मरिण डाइभर्सन अन्तर्गतको सुरुङ खन्ने काम ९९ प्रतिशत सकिएको छ । आयोजनाको १३.३ किलोमिटर मध्ये १३.२७० किलोमिटर सुरुङ निर्माणको काम सोमबारसम्ममा सकिएको हो । अब सुरुङ खन्न ३० मिटर बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङको काम कमलामाइ नगरपालिका–२ को कुसुमटारदेखि सुनकोसी गाउँपालिका–७ को कानढुंग्रीसम्म हो । वैशाख २६ गते आयोजनाको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको छ ।

२०७९ असोज २८ गतेबाट सुरु भएको सुरुङ खन्ने काम ६ पटक अवरोध भएको थियो । सुरुङ भित्र सुख्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि बढ्न सकेको थिएन । आयोजनाकाअनुसार सुरुङ खन्ने काम २२ महिना भित्र सक्ने लक्ष्य लिइएकोमा ६ महिना अगावै सम्पन्न भएको छ । एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ ।

सुनकोशी–मरिण डाइभर्सन आयोजना चुरे र महाभारत क्षेत्रमा परेकोले भौगोलिक कठिनाइ उत्पन्न भएको आयोजना प्रमुख बरालले जनाए । हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ रहेको छ । सुरुङ निर्माण, सुनकोसी नदीमा हेडवर्क्सको काम, सामाजिक काम र घर तथा जग्गा अधिग्रहणमा रकम खर्च भएको आयोजनाले जनाएको छ ।

सुनकोसी मरिन आयोजनाबाट १ लाख २२ हजार हेक्टरमा सिँचाई सुविधा

आयोजनाको भौतिकतर्फ प्रगति ३० र वित्तीय २८ प्रतिशत रहेको छ । यो समग्र आयोजनाको हो । २०७७ साल फागुन २० गते कमलामाइ नगरपालिका(२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भइ आयोजना निर्माणको थालनी भएको थियो । प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि सुनकोसीमा बाँध निर्माण, विद्युत गृह, सिँचाइ, सामाजिक लगायतका काम भएको आयोजनाले जनाएको छ । सुनकोसी र तामाकोसीको संगमस्थल भन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोसीमा बाँध बाध्नका लागि ठेक्का सम्झौता भइ निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन् ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का सखारेको थियो ।

१५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । सुनकोसीमा बाँध निर्माण लगायतका कामको १७ अर्ब ७५ करोड रुपैयाँको ठेक्का रमण–पटेल जेभी उपक्रमले ३२ प्रतिशत घटेर १२ अर्बमा सकारेको छ । नदीमा बाँध बाँधेर सुनकोसीको पानी मरिणखोलामा खसाली मधेश प्रदेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधारहरु प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउने रहेको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रहेको छ ।

 

प्रकाशित मिति : मंगलबार, वैशाख ११, २०८१ | १४:१८:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया