सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो

जलसरोकार
आइतबार, मंसिर २१, २०८२ | १४:३२:३७ बजे

 

म्याग्दी :  निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता वृद्धि गरिएको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनालाई ९.२५ मेगावाट थप गरी ४६ दशमलव २५ मेगावाट पु¥याइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ ।

आयोजना प्रमुख रमेश सुवेदीका अनुसार पानीको स्रोत पर्याप्त भएको, सुरुङको आकार, हेड (बाँध र विद्युत् गृहबीचको उचाइ) तथा टर्बाइनको क्षमता वृद्धि गरेपछि आयोजनाको क्षमता बढाइएको हो । “थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने गरी क्षमता वृद्धि गरिएको छ र यसका लागि विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ,” उनले बताए ।

यसअघि ३१४ मिटर रहेको हेड बढाएर ३१७ मिटर बनाइएको छ भने खोलाबाट सुरुङमा हालिने पानीको मात्रा १४.४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७.२४ घनमिटर प्रतिसेकेण्ड पु¥याइएको छ ।

आयोजनाको अनुमानित लागत रु ८ अर्ब ४६ करोड ५४ लाख २ हजार रहेको हाइड्रो इम्पायर प्रालिका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले जानकारी दिए । धवलागिरि–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी) क्षेत्रमा विद्युत् गृह निर्माण सुरु भइसकेको छ । हालसम्म आयोजना ३५ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको छ ।

विसं २०८१ फागुनदेखि सुरु भएको ३,८३८ मिटर लामो सुरुङमध्ये हालसम्म बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट गरी २,४०० मिटरको निर्माण सम्पन्न भएको छ । आउटलेटबाट विद्युत् गृहसम्म ८४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ । यो आयोजना रन अफ द रिभर (नदी प्रवाहमा आधारित) प्रकारको हो ।

आयोजनाको सिभिल निर्माण कार्य आरएससी–आरजे जेभी र माछापुछ्रे इञ्जिनियरिङ प्रालिले गरिरहेका छन् भने इलेक्ट्रोमेकानिकल कार्य इटालीको ट्रोयर कम्पनी र हाइड्रोमेकानिकल कार्य माछापुछ्रे मेटल एन्ड मेसिनरी वर्कसप प्रालिले गर्नेछन् । वित्तीय व्यवस्थापन सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नवील बैंकको लगानीमा ७०–३० (ऋण–स्वपुँजी) अनुपातमा भइरहेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । यसका लागि करिब १० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारी गरिएको छ । शिवरात्रि खोला–बाँधस्थलसम्म झण्डै १८ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ ।

आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँसम्म सडक विस्तारमा समेत सहयोग गरेको छ । विसं २०८३ चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको सुवेदीले बताए ।

क्षमता अभिवृद्धिका क्रममा स्थानीयवासी र सरोकारवालाको सुझाव लिन शनिबार धवलागिरि–४ नाउरामा मस्यौदा परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ गरिएको थियो । परामर्शदाता इनर्जी रिसोर्सेस एन्ड सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक शंकर बस्यालले वातावरणीय, सामाजिक र आर्थिक प्रभाव तथा न्यूनीकरणका उपायबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आयोजना प्रभावित क्षेत्रका लागि रु ६ करोड ३४ लाख ९१ हजार बराबरको सामुदायिक सहयोग बजेट प्रस्ताव गरिएको छ । सुनुवाइमा पहुँचमार्ग स्तरोन्नति, खिवाङ–मुदी सडकमा मोटरेबल पुल निर्माण, धुलो नियन्त्रण र सामाजिक उत्तरदायित्व कार्यक्रमको पारदर्शी कार्यान्वयन गर्न सुझाव दिइएको थियो ।

यस कार्यक्रममा वडाध्यक्ष यामबहादुर घर्ती, वडा सदस्य हरिप्रसाद तिलिजा, जनसुधार युवा क्लबका अध्यक्ष लीलबहादुर घर्ती लगायत स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर २१, २०८२ | १४:३२:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया