जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनकोसी मरिन आयोजनाबाट १ लाख २२ हजार हेक्टरमा सिँचाई सुविधा

मित्र बराल
मंगलबार, फागुन ०८, २०८० | १२:५८:०० बजे

 

जलस्रोतमा हामी धनी छौं भन्ने गर्छाैं । जलसम्पदाको धनी भए पनि हामीकहाँ एउटा समस्या भनेको ‘सिजनल भेरिएसन’ को समस्या छ । अर्थात् कतै समयअनुसार बढी पानी छ, कतै निकै कम । सबै ठाउँमा उही प्रकारको पानी छैन । वर्षाको समयमा ८० प्रतिशत पानी पर्छ भने अन्य समयमा सुख्खा रहन्छ । वर्षायामका यी ४ महिनाको पानीलाई हामीले प्रयोग गर्न सक्यौं भने त्यसको पनि सदुपयोग हुन्छ । यसको उदाहरणको रुपमा कुलेखानी बाँधलाई लिन सकिन्छ ।

 

बढी पानी भएको स्थानबाट कम पानी भएको स्थानमा लगेर प्रयोग गर्न विश्वमा निकै अभ्यास भएको पाइन्छ । यसै उद्देश्यले सुनकोशी मरिन डाइभर्सनलगायतका यस्ता आयोजना विभिन्न चरणमा छन् । भेरी बबई डाइभर्सन आयोजना सुरुङ निर्माणको काम सकिएर हेडवक्र्स निर्माणको कार्य अगाडि बढेको छ । सुनकोशी मरिन आयोजना पनि सुरुङ निर्माण सँगसँगै ब्यारेज निर्माणको कार्य भइरहेको छ । यसका साथै सुनकोशी कमला डाइर्भसन आयोजना, तमोर चिसाङ आयोजना, कालीगण्डकी तिनाउँ लगायतका आयोजना विभिन्न अध्ययन र निर्माणको चरणमा छन् ।

सुनकोशी मरिन डाइभर्सनज आयोजनाको टीबीएम (टनेल बोरिङ मेसिन) प्रयोग भएको आयोजना हो । टीबीएम प्रयोग भएको यो दोस्रो आयोजना हो । यसअघि हामीले टनेल खन्ने काम भेरी बबईमा गरिसकेका छौं । आयोजनाको मुख्य उद्देश्य बागमतीमा पानी थप गर्ने हो । किनभने हामीले सन् १९६७ देखि १९७२ सम्म अध्ययन गरेर सन् १९९३ मा व्यारेज र पूर्वी तथा पश्चिमी नहर निर्माण ग¥यौं । बागतमी सिँचाई आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी पाँच जिल्लाको १ लाख २२ हजार हेक्टरमा सिँचाई गर्ने गरी त्यो व्यारेजको निर्माण भयो ।

एक लाख २२ हजार हेक्टर क्षमतालाई पानी पुग्ने गरी व्यारेज निर्माण सफल भएको छ । यसमा पूर्वी र पश्चिमी नहरका केही भागहरु निर्मित छन् । तर १ लाख २२ हजारको लागि हामीले निर्माण गरेको व्यारेजले आजको मितिसम्म जम्मा ४५ हजार हेक्टर अर्थात ३७ प्रतिशत क्षेत्र मात्रै सिँचाई गर्न पुग्ने रहेको छ । लगानी व्यारेजमा पूर्ण भयो । पूर्वी र पश्चिमी नहर पूर्ण भएको छ तर लगानीअनुरुप ३७ प्रतिशत मात्रै जग्गालाई सिँचाई गर्न सकियो भन्ने सन्दर्भमा कुरा गर्दै सुरुको कन्सेप्ट अनुसार बागमतीको यो पहिलो चरणको मात्रै कार्यन्वयन हो ।

दोस्रो चरणको कुरा के थियो भने बागमतीमा पानी अपुग छ । बागतमीको माथि ठूलो ड्याम (बाँध) बनाउने र त्यसमा पानी संकलन गर्ने । रिजर्भ गरेको पानी फिड गरेर बाँकी रहेको क्षेत्र सिँचाई गर्ने थियो । बागमतीमा पानी थप गर्नको लागि अहिलेको व्यारेज भन्दा करिब १४ किमि माथि ११४ मिटरको हाई ड्याम बनाउने, पानी संकलन गर्ने, १०० मेगावाट बिजुली पनि उत्पादन गर्ने र त्यो पानी बागमतीमा हालेर बाँकी क्ष्ोत्र सिँचाई गर्ने भनेर सुरुवाती अवधारणा थियो ।

समय परिवर्तनसँगै गौरलगायतका केही क्षेत्रमा बाढीको जोखिममा छ । यसले बागमतीमा ११४ मिटरको ड्याम बनाउँदा जोखिम बढ्ने र माथिल्लो क्षेत्रमा रहेको बसोबास क्षेत्रको मुआब्जा र राजमार्ग, फास्ट ट्र्याक लगायतलाई ठूलो प्रभाव पर्ने देखियो । ठूलो ड्याम बनाएर पानी संकलन गरी बाँकी तराईको क्षेत्रहरुमा सिँचाई गर्नुभन्दा प्रविधिको परिवर्तन गरेका थियौं । प्रविधिको प्रयोगमा टीबीएमको प्रयोगले १२.७ किमि ४.६ डायमिटर १९ महिनामा खन्यौं । हामीसँग कोशीमा पर्याप्त पानी छ, उच्च प्रविधि आइसक्यो अब बागमतीलाई अझै जोखिममा लैजाने ? बागमतीमै हाइ ड्याम बनाएर राजमार्ग, बस्ती स्थानान्तरण किन गर्ने ? कोशीको पानी सजिलै बागमतीमा लैजान सकिन्छ भनेर यो आयोजना सुरु गरिएको हो ।

१३.३ किलोमिटर सुरुङको प्रयोगले कोशीको पानीलाई बागमतीमा लगेर बिजुली निकालेर बागमतीमा पर्याप्त पानी पु¥याउन सकिन्छ । यसबाट बागमतीको व्यारेजमार्फत अहिले भइरहेको ४५ हजार ६ सय हेक्टरमा त्यसको पूर्वी र पश्चिमी नहरलाई पुनर्निर्माण गरेर बारादेखि धनुषासम्मको ७६ हजार ४ सय गरी कुल १ लाख २२ हजार हेक्टरमा सिँचाई सुविधा पु¥याउँछौं ।
पुरानो ४५ हजार ६ सय हेक्टरमा वर्षभरि पानी पुग्दैन । जहाँ सिँचाई पुगेको छ, त्यहाँको उत्पादन दर उच्च छ । त्यहाँको आर्थिक अवस्थासमेत परिवर्तन भएको छ । जहाँ सिँचाई सुविधा पुगेको छैन, त्यस क्षेत्रमा गरिबीको दर उच्च रहेको छ । सिँचाई सुविधा नपुगेको स्थानमा आकाशे खेतीको भरमा सिँचाई भएको छ । यसले त्यहाँ उब्जनी भएको छैन ।

सर्लाही र रौतहट जहाँ ४५ हजार ६ सय हेक्टरमा सिँचाई सुविधा पुगेको छ त्यहाँ गएर हेर्दा कतिपय क्षेत्रमा मकैको जोन भएको छ । तीनवटा बाली हुन्छ । सिँचाई सुविधा पुगेको स्थानको आम्दानी नै फरक छ । यसले राष्ट्रिय अर्थतन्त्र र खाद्यन्नमा धेरै फरक पारेको छ । ४५ हजार ६ सयको अलावा ७६ हजार ४ सय हेक्टरमा समेत सिँचाई पु¥याउन सक्यौं भने यसले देशको अर्थतन्त्र, कृषि सामग्रीको आयात घटाएर निर्यात गर्न सकिन्छ । अर्थतन्त्रमा यसले प्रभाव पर्ने भएर पनि यो आयोजना राष्ट्रिय गौरवका आयोजना मात्रै नभएर रुपान्तरणकारी आयोजना कार्यान्वयनको रुपमा गएको छ ।

यसमा ६७ क्यू मेक पानी १३.३ किमि सुरुङ मार्फत मरिन हुँदै बागमतीमा भरेर त्यसबाट जलविद्युत् निकालेर सिँचाई समेत गछौं । यस आयोजना २०७६ देखि प्रभावकारी कार्यन्वयनमा गएको हो । हालको लक्ष्य अनुसार २०८४ सालको असोजसम्म सम्पन्न गर्ने गरी सुरुङ निर्माण दु्रत गतिमा निर्माण भइरहेको छ । ठेक्का अलि अघि लागे पनि यसको प्रभावकारी कार्यन्वयन दुई वर्षअघिदेखि मात्रै गएको हो । सुरुङ खन्ने कार्य १६ महिनमा १३.३ किमि सुरुङ मध्ये १०.५४४ किमि सुरुङ खनिसकिएको छ ।

भौगोलिक हिसावले साथ दिएको खण्डमा बाँकी ५ महिनामा सुरुङ निर्माणको कार्य सकिन्छ । सुरुङ मात्रै नभएर सुनकोशीमा व्यारेज निर्माणको काम, विद्युत् गृह निर्माणको काम, प्रसारण लाइन निर्माणको काम, मरिन, सुनकोशी, तामाकोशी नदी नियन्त्रणको कार्य लगायतका काम बाँकी छन् । जसको अद्यावधिक गुरु योजनाअनुरुप २०८४ को असोजमा निर्माण सम्पन्न गर्ने गरी टनेलसँगै व्यारेज निर्माणको काम पनि सुरु गरेका छौं । इलेक्ट्रोमेकानिकल र ट्रान्ससिनको कार्यको काम पनि अघि बढाएका छौं ।

पहिलो प्याकेजअन्र्तगत टीबीएमबाट टनेल खन्ने कार्य र दोस्रो प्याकेज अन्तर्गत ब्यारेज, विद्युत गृह लगायतका छन् । दोस्रो प्याकेज अन्र्तगत व्यारेजको निर्माण कार्य सुरु भइसकेको छ । बाँकी काम सुरु गर्ने चरणमा छौं । २०८४ असोजमा सम्पन्न गर्ने लक्ष्यअनुरुप अघि बढेका छौं । स्रोतको सुनिश्चितताको कुरा गर्दा टनेल निर्माण र हेडवक्र्सका लागि सुनिश्चित भएर नै खरिद कार्य अगाडि बढाएका छौं । इलेक्ट्रोमेकानिकल, प्रसारण लाइनको काम र अन्य नदी नियन्त्रणको स्रोत सुनिश्चितताको लागि राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालय पुगेको छ ।

भेरी बबईं टनेल निर्माण सम्पन्न भयो । व्यारेजको निर्माण भएन, राज्यको लगानीको जति प्रतिफल आउनुपर्ने त्यो आएन भन्ने कुरा उठेको छ । टनेल निर्माणको दौरानाम दुई तीन वटा कुरा हुन्छ । यो टनेल चुरेबाट महाभारत शृङ्खला तर्फ लान्छौं । यसमा टीबीएम जान्छ कि जाँदैन भन्ने प्रश्न थियो । संसारका धेरै ठाउँमा टीबीएम फसेको उदाहारणहरु धेरै छन् । यसै सन्र्दभमा पहिलो आयोजनाको सम्पूर्ण खन्ने काम टीबीएमबाट नै गरियो । सुनकोशी मरिनमा फल्ट जोन पास नभइ टीबीएम कसरी जाने हो भन्ने भयो ।

यदि टीबीएम नै सफल भएन भने ब्यारेजबाट प्रतिफल आउँदैन । पहिला त टीबीएम सफल हुनुप¥यो । हाल भौगोलिक कठिनाईका कारण टीबीएम रोकिएको छ । अब बाँकी ठाउँमा पनि त्यस्तो केही समस्या आएन भने अबको ५ महिनामा हामी टनेल खन्ने काम सम्पन्न गछौं । टनेल ब्रेक थ्रु हुनसाथ आयोजना सम्पन्न हुन्छ भन्ने होइन । भेरी बबईको कुरा गर्दा त्यसको टनेल खन्ने काम सम्पन्न भएपछि बाँकी परीक्षणको लागि नै डेड वर्ष लागेको थियो । सुनकोशीमा पनि टनेलको ब्रेक थ्रु भएपछि चाँडोमा डेढ वर्ष नत्र २ वर्षको समय लाग्छ । ब्यारेज निर्माणको काम अहिले भइरहेको छ । अबको ४ वर्षमा व्यारेज निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सबै काम सम्पन्न हुन २०८४ असोजमा सकिन्छ ।

नयाँ प्रविधिको प्रयोग गदेै हामीले यसको अध्ययन गर्दै बाँकी जलविद्युत आयोजनामा समेत यसको प्रयोग गर्न सकिन्छ । हामीले प्रविधिमा फड्को मार्नुपर्छ । आयोजना निर्माणमा स्थानीय तह, वडा तह सबैमा समन्वय गर्दै जानुपर्ने अवस्था छ । सबैमा समन्वय गर्नुमा केही अप्ठ्यारा छन्, तर राष्ट्रिय गौरबका आयोजना भएको हुँदा सबैतिरबाट समन्वय भएकाले सम्भव भएको छ ।
<span data-mce-type="bookmark" style="display: inline-block; width: 0px; overflow: hidden; line-height: 0;" class="mce_SELRES_start"></span>

प्रकाशित मिति : मंगलबार, फागुन ०८, २०८० | १२:५८:०० बजे

लेखकको बारेमा

मित्र बराल
सहसचिव/आयोजना प्रमुख

प्रतिक्रिया