माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत प्रगति, २०८३ फागुनभित्र उत्पादन लक्ष्य
जलसरोकार
म्याग्दी: म्याग्दीमा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको करिब ३० प्रतिशत भौतिक प्रगति भएको छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धित यस आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार हालसम्म ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । “चार स्थानबाट सुरुङ खन्ने काम भइरहेको छ । विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार बाँध र विद्युत्गृह निर्माणलाई पनि तीव्रता दिएका छौँ,” उनले भने, पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सम्पन्न भइसकेको छ ।
विसं २०८१ जेठ ८ गतेदेखि सुरु भएको बाँध निर्माण कार्यमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ । धवलागिरी गाउँपालिका–४ खाम्लामा १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ । त्यसको नजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीन वटा पानी थिग्राउने पोखरी पनि निर्माणाधीन अवस्थामा छन् । विद्युत्गृह निर्माणस्थलमा उत्खनन कार्य अन्तिम चरणमा पुगेको छ र अब संरचना निर्माणको तयारी भइरहेको आयोजनाले जनाएको छ ।
मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल कार्यका लागि कम्पनी छनोट भइसकेको छ । ‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाको आउटलेटबाट विद्युत्गृहसम्म १९६ मिटर हेड रहनेछ भने ६९२ मिटर पेनस्टक पाइप जडान गरेर पानी खसालिनेछ । मालिका गाउँपालिका–७ दाडाखेतमा निर्माण हुँदै गरेको १३२ केभी क्षमताको सबस्टेशनसम्म १.५ किलोमिटर लामो १३२ केभी प्रशारण लाइन जडानका लागि अध्ययन भइरहेको छ ।
यो आयोजना निर्माणका लागि रु ११ अर्ब २३ करोड २७ लाख ६ हजार लगानी जुटाइनेछ । सानीमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण तथा प्रवद्र्धक कम्पनी र सर्वसाधारणको सेयरबाट लगानी गरिनेछ । विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ भने आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने अपेक्षा गरिएको छ ।
आयोजनाले भारवाङदेखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको छ । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत रु ६ करोड २० लाख बजेट समेत विनियोजन गरिएको छ । हालसम्मको प्रगतिअनुसार आयोजना तोकिएको समयमै सम्पन्न हुनेमा आयोजना प्रमुख केसीले विश्वास व्यक्त गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउ बढ्यो, चाँदी घट्यो : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत प्रगति, २०८३ फागुनभित्र उत्पादन लक्ष्य
-
पश्चिमी वायूको प्रभावले पहाडी भू–भाग आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो