जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपालका भीषण बाढीहरु

गोविन्द शर्मा पोखरेल
शनिबार, जेठ २४, २०८२ | १४:१९:०३ बजे

 

नेपालका खोलानालामा वर्षातको समयमा बाढी आउनु सामान्य कुरा हो । त्यस्तै सामान्य कुरा नेपालको तराईमा वर्षातको समयमा प्रायः प्रत्येक वर्ष बाढी आउनु र डुबान हुनु वा दुबै एकैसाथ हुनु हो । तर, भीषण बाढीहरुसमेत समय–समयमा नेपालका पहाडी नदीहरुमा, तराईका नदी तथा अन्य क्षेत्रमा आउने गरेका अनुभवहरु छन् । काठमाडौंको बागमती नदीमा गत २०८१ असोज ११–१३ मा (खास गरेर असोज १२ मा) आएको प्रकोपजन्य बाढी पनि आममानिसलगायत नेपालका बाढीसम्बन्धी निकायले बिर्सन लागेको भान हुन थालेको छ । वर्षा लागिसक्दा पनि बाढीसम्बन्धी सरकारी गोष्ठी सेमिनार आयोजना गरिएको सुन्नमा आएको छैन । तर बाढीजन्य प्रकोप नेपालका हिमाल, पहाड र तराईका धेरै ठाँउमा घट्ने भन्दा बढ्ने क्रममा भएको पाइन्छ । त्यसैले, अनुतरित यो प्रश्न ‘नेपालमा बाढी किन आउँछ ?’ अथवा भनौं ‘नेपालमा भीषण बाढी किन आउँछन् ?’ भन्नेबारे मेरा आफ्ना विचार तल प्रस्तुत गरेबमोजिम छन् ः 
सप्तकोशी नदीमा भीषण बाढीहरु सन् १९५४ र १९६८ मा आएका थिए तर सन २००८ मा कोशीमा आएको बाढी ठूलो प्रकोपको कारण बनेको भए पनि वास्तबमा १९५४ र १९६८ मा आएका भीषण बाढीसँग तुलना गर्न योग्य बाढी थिएन । २००८ को बाढी प्रथमतः कोशी योजनाको मर्मत–सम्भार गर्ने निकायको व्यवस्थापकीय कमजोरीका कारण आएको थियो र यो बाढी कुशाहातिरबाट आउँँदा सप्तकोशी नदीमा पानीको वहाव केवल ४,७०४ क्यूमेक्स थियो । यो परिमाणको पानीको वहाव कोशी नदीको वर्षातको औसत वहावको हाराहारी (करिव ४,५०० क्यूमेक्स) पर्दछ त्यसैले यो बाढीभन्दा निकै ठूला बाढीहरु कोशी नदीमा हरेक वर्ष पटक–पटक आउने गरेको तथ्यांक उपलब्ध छन् । त्यसैले, सन् २००८ मा कोशीमा आएको बाढी कोशी योजना संञ्चालकका अकर्मण्यताका कारण आएको विपद् थियो । यस्तो बाढी नदीको वहाव नदीको सिमानाभन्दा बाहिर पर्ने गरी आएका कारण मात्र यसबाट ठूलो धनजनको क्षति भएको हो; नदीको सिमानाभित्र पानीको यतिको वहावलाई बाढी भनिदैन कोशी नदीमा ।
सन् १९५४ को कोशीको बाढीका तथ्यांकहरु सामाजिक सञ्जालमा उपलब्ध छैनन् । यो बाढीको परिमाण कहाँ र कसले मापन गरेको हो, सो बारेको जानकारी पनि पाइदैन सामाजिक सञ्जालमा । तर, नेपालमा प्रायःजसो सबै बूढापाकाले ११ सालको वर्षा वा ११ सालको बाढी वा ११ सालको पहिरो आदि ११ सालमा कोशी नादीमा आएको बाढीको कारणतिर औंल्याउन सघाउने कारणहरुबारे जानकारी गराउँछन् । यो सालको बाढी भीषण त थियो तर कति भीषण भन्ने कुराको अनुमान मात्र लगाउन सकिन्छ । अगष्ट २४, १९५४ तदनुसार २०११ साल भाद्र ८ गते यो भीषण बाढी आउँदा बराह क्षेत्रमा वा नेपालको अर्को कुनै स्थानमा कोशी नदीको बाढी नाप्ने उपकरणहरु जडान नभएकाले सो अनुमानित साढे ८ लाख क्यूसेकको अथवा २४,०८७ क्यूमेक्सको बाढी भारतको कुनै ठाँउमा मापन गरिएको पानीको वहावको आधारमा अनुमान गरिएको हुनुपर्छ । त्यसैका आधारमा कोशी ब्यारेजको डिजाइन साढे १० लाख क्यूसेकको अथवा करिब २९,७५६ क्यूमेक्सको बाढीलाई मध्यनजर गरी गरिएको जानकारहरु बताउँछन् । तर, कोशी ब्यारेज संञ्चालनमा आएको केवल ४ वर्षपछि नै अक्टोवर ५, १९६८ तदनुसार २०२५ साल असोज २० गते नौ लाख क्यूसेक अथवा करिव २५,७०० क्यूमेक्सको भीषण बाढी कोशी नदीमा आएको कोशी आयोजनामा रहेका तथ्यांकहरुले देखाउँछन् । सो बाढी आउँदा कोशी ब्यारेजमा बाढी नाप्ने उपकरण जडान भइसकेकाले सो नापिएको थियो । उक्त बाढी कोशी ब्यारेजबाट प्रवाहित गर्न ब्यारेजका ५६ वटै ढोकाहरु पूरै खोलिएका र ब्यारेजबाट उक्त बाढी बग्दा कोशी ब्यारेज नराम्रोसँग थर्किएको (हल्लिएका) ले ब्यारेजका दुबैतर्फ रातो बत्ती बाली सो समयका लागि ब्यारेजबाट सवै किसिमका आवागमन बन्द गरिएको कुरा सो बाढीका समयमा ब्यारेजको ड्युटीमा रहेका ब्यारेजका कर्मचारीहरुले सो बाढीबारे २०३९ सालतिर यस आलेखकर्तासमेत सम्मिलित टोलीलाई कोशी योजनाको कार्यालय, बीरपुर (भारत) मा बताएका थिए ।
सप्तकोशी नदीमा मात्र होइन, यस्ता भीषण बाढीहरु आएका तथ्यांकहरु नेपालका अन्य नदीहरुमा पनि उपलब्ध छन् । जस्तै कर्णाली नदीको चिसापानीमा सन् १९७५ मा १९,८९० क्यूमेक्सको भीषण बाढी आएको थियो र मिति यकिन नभएको अर्को कुनै वर्ष मा २१,००० क्यूमेक्सको भीषण बाढी समेत आएको तथ्यांक पढ्न पाइन्छ । यस्तै नारायणी नदीमा पनि भीषण बाढी आएको तथ्यांकहरु उपलब्ध छन् ।
नेपालका मध्यम नदीहरु तथा ठूला नदीहरुका प्रमुख सहायक नदीहरुमा पनि विभिन्न कारणले भीषण बाढीहरु पटक–पटक आएको कुरा भुक्तभोगीहरु सुनाउँछन् । त्यसो मात्र होइन, २०८१ सालको असोज महिनाको ११ गते देखि १३ गतेसम्म काठमाडौंवासीले बागमतीमा भीषण बाढी आएको कारण ज्यान गुमाउनु पर्यो । त्यो समयमा बाढी काठमाडौंमा मात्र होइन, काठमाडांै वरपरका अन्य नदीहरुमा पनि आएको र ती बाढीले पनि ठूलो नोक्सान गरेको काठमाडौंवासीले बिर्सेका छैनन् होला । वास्तवमा, काठमाडौंमा आएको सो बाढीको प्रकोप सरकारको लापरवाहीले भएको थियो । प्रकोपबारेको सूचना दिनेदेखि लिएर प्रकोपबाट बचाउ गर्ने कुरामा सम्म नेपाल सरकार तथा सबै सरकारी निकायहरु अनुपस्थित थिए । सरकारी लापरवाहीको सीमा नाघेको त्यो बिर्सन लायकको दुर्घटना थियो त्यो । तर त्यसलाई बिर्सने होइन, सोबाट पाठ सिक्ने हो नि ........। किनभने, काठमाडौंमा पोहोर सालको भन्दा ठूलो बाढी आउने सम्भाबनालाई नकार्न किन सकिदैन भने २०५० सालमा काठमाडौंबाट करिव १२–१४ किलोमिटरमा पर्ने टिष्टुङ् जलवायु मापन केन्द्रमा ५४० मिलिमिटर पानी परेको तथ्यांक छ र पोहोर साल काठमाडौंमा परेको वर्षा टिष्टुङ्मा मापन गरिएको अधिकतम वर्षाको केवल आधाको हाराहारी मात्र छ । यदि पोहर साल अथवा अन्य कुनै साल टिष्टुङमा मापन गरिएको बराबरको वर्षा आउने हो भने पोहोर साल भोगिएको बाढीभन्दा धेरै गुणा ठूलो बाढी आउन सम्छ । यस कुरामा काठमाडौंका नदी किनारमा बस्ने मानिसहरुसहित स्थानिय पालिका, वडा, जिल्ला समिति र अन्य सम्बन्धित सरकारी निकायहरुसमेत उचित रुपमा चनाखो हुनुपर्छ । यो बाढी र यसबाट भएको क्षतिलाई २०३८ सालको असोज १४ मा काठमाडौं वरपर आएको बाढीसरह बिर्सन कदाचित् उचित हँुदैन ।
साधारण बाढी त नेपालमा हरेक वर्ष आउँंछन् तर भीषण बाढीहरु के कारणले आउँंछन् ? भीषण बाढीहरुको कुरा गर्दा नेपालका पहाडमा आउने भीषण बाढी र नेपालका तराईमा आउने भीषण बाढीलाई छुट्टाछुट्टै राखेर हेर्दा राम्रो हुन्छ ।
नेपालको पहाडी क्षेत्रमा भीषण बाढीहरु आउने दुई प्रमुख कारणहरु छन् । ती हुन् धेरै समयसम्म आउने मुसलधारे वर्षा र हिमताल विष्फोटन । यी दुई प्रमुख कारणहरुलाई अन्य धेरै कारणहरुले ठूलाबाट भीषण बनाउन थप मदत गर्छन । हिमताल विष्फोटन भएर आउने भीषण बाढीहरु नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रका नदीहरुमा हिमतालहरु विष्फोटन भएकै कारणले आउँछन् र विष्फोटन भएको हिमतालबाट जति पर बाढी पुग्छ त्यती नै त्यस बाढीको क्षमतामा ह्रास हँुदै जान्छ र तराईसम्म पुग्दा हिमताल विष्फोटनको असर पानीको वहाव केही बढेकोबाहेक देखिदैन । 
हिमताल विष्फोटनका कारण पोखरा उपत्यकाको फाँट बनेको विज्ञहरु बताउँछन् । यो त भयो पुरानो हिमताल विष्फोटनको असर र सो घटना पनि धेरै पहिले घटेको भएर धनजनको क्षति हुन पाएन होला । तर, आजको जमानामा प्रायः प्रत्येक हिमताल विष्फोटनसँग धनजनको क्षति जोडिएको हुन्छ । इसिमोडले गरेको अध्ययनका आधारमा सन् २०१० मा प्रकाशित दस्तावेज अनुसार नेपालभित्र विभिन्न नदीहरुका जलग्रहण क्षेत्रहरुमा विभिन्न कारणले निम्न बमोजिमका २४ वटा हिमताल विष्फोटनका घटनाहरु ले भीषण बाढी ल्याएका छन्ः सोमध्ये १४ वटा घटनामा नेपाल भित्रका हिमताल पर्दछन् भने १० वटा हिमताल चीनमा विष्फोट भएर नेपालमा भीषण बाढी आएको भेटिएको छ । 
क.    सप्तकोशी जलाधार क्षेत्रः
तमोर जलाधार क्षेत्रमा जुून २३, १९८० तदनुसार २०३७ असार १० गते नाग्मा पोखरी नामको हिमताल विष्फोटन भएर तमोर नदीमा भीषण बाढी आएको थियो ।
सुनकोशी–भोटेकोशी जलाधार क्षेत्रमा सन् १९३५ देखि १९८५ सम्ममा तीनपटक चीनमा भएका हिमताल विष्फोटनका कारण भीषण बाढी आएको पत्ता लागेको छ । यस बाहेक, दूधकोशी जलाधार क्षेत्रमा ४ पटक र तामाकोशी जलाधार क्षेत्रमा एकपटक गरी सुनकोशी नदीमा समेत भीषण बाढी आएको उदाहरणहरु छन् ।
सप्तकोशी नदीमा भीषण बाढी आउने प्रमुख कारणमा अरुण नदीमा विभिन्न मितिमा नेपाल र चीनमा गरी सात पटक हिमताल विष्फोटन भई भीषण बाढीहरु हुन सक्तछ ।
ख.    गण्डकी जलाधार क्षेत्रः
गण्डकी जलाधार क्षेत्रमा कोशी जलधार क्षेत्रमा भन्दा कमपटक हिमताल विष्फोटन भई सोहीबमोजिम भीषण बाढीहरु आएको पाइएको छ । त्रिशुली, मादी र काली गण्डकी नदीहरुमा दुई दुईपटक गरी ६ पटक र बूढीगण्डकीमा एकपटक गरी जम्मा ७ पटक हिमताल विष्फोटन भई भीषण बाढी आएको पाइएको छ । सेती नदीमा करिब ४ सय ५० वर्ष पहिले आएको भीषण बाढीका कारण पोखराको भूबनौट तयार भएको विज्ञहरुको राय छ ।
ग.    कर्णाली जलाधार क्षेत्रः
मुगु कर्णाली नदीमा पनि हिमताल विष्फोटन भई बाढी आएको कुरा इसिमोडको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
इसिमोडले गरेको अर्को अध्ययनले थप करिव २० वटा हिमताल जोखिमको अवस्थामा रहेको जनाएको छ भने विष्फोटनको जोखिममा रहेका चीनका ७ वटा हिमताल फुट्दा नेपालको दूधकोशी–सुनकोशी क्षेत्रमा भीषण बाढी आउन सक्नेसमेत निष्कर्ष निकालेको छ ।
तर, नेपालमा वर्षातको समयमा अत्यधिक पानी पर्ने भएकाले भीषण बाढीहरुको प्रमुख कारण हाडीघोप्टे वा मुसलधारे वर्षा भएको हामीले देखेका छौ । २०११ सालको वर्षा र बाढी पहिरोको प्रसंग माथि नै उल्लेख गरिएअनुसार २०११ साल भदौ ८ गते सप्तकोशी नदीमा समेत भीषण बाढी आएको थियो । यो समयको छेउछाउमा हिमताल विष्फोटनका घटना घटेको नपाइएकाले यो भीषण बाढी कोशी जलाधार क्षेत्रमा परेको मुसलधारे पानीका कारण आएको अनुमान गरिन्छ । यस्तै अनुमान २०२५ सालमा कोशी नदीमा आएको झन भीषण बाढीबारे पनि गर्न सकिन्छ । यसैगरी गण्डकी तथा कर्णाली नदीमा आएका भीषण बाढीहरुको श्रेय पनि उक्त नदीहरुका जलाधार क्षेत्रमा आएका मुसलधारे वर्षालाई दिन सकिन्छ । यिनै मुसलधारे वर्षाका कारण आएको पहिरोले कुनै–कुनै नदीहरु थुनेर भीषण बाढीहरु आएको दृष्टान्तहरु धेरै छन्् । सिन्धुपाल्चोक जिल्लाको जुरेमा २०७१ साल साउन १७ मा आएको भयानक पहिरोले सुनकोशी नदी थुनिदा सुनकोशी नदीमा ठूलो बाढी आउनबाट त जोगाउन सफल भइयो तर उक्त पहिरोका कारण बनेको जलाशयमा नीजी क्षेत्रबाट प्रवद्र्धित साना जलविद्युत् केन्द्र जलामय भयो भने सोही पहिरोका कारण माथिल्लो भोटेकोशी जलविद्युत् केन्द्रको प्रसारण लाइन प्रभावित हुंँदा धेरै दिनसम्म उक्त आयोजनाबाट जलविद्युत् उत्पादन गर्न सकिएन । तिनाउ नदीमा सन् १९७० र १९८० मा आएका भीषण बाढीले ठूलो जनधनको क्षति गरेको घटना त्यहाँका भुक्तभोगीहरुको सम्झनामा ताजै छ ।
यसरी ठूलो वर्षातका कारण पहिरो जाने र उक्त पहिरोका कारण नदी थुनिने प्रक्रिया नेपालजस्तो पहाडी मुलुकका लागि एकदमै साधारण कुरा हो, तर त्यसको प्रभाव सधैं साधारण नभएका दृष्टान्तहरु छन् । २०५० र २०३८ मा काठमाडौं वरपर घटेको त्यस्तो घटनाबारे माथि नै चर्चा गरियो भने गत २०८१ सालको असोज महिनामा काठमाडौंमा आएको बाढी भीषण बाढीको श्रेणीमा नपर्ने भए पनि प्रकोपका हिसावले सम्झनयोग्य बाढीका रुपमा लिएको छु । त्यसबाहेक सुनकोशीको सहायक नदी बलेफी नदी थुनिएर आएको बाढी, सुनकोशी नदी थुनिएर आएको बाढी, कालीगण्डकी नदी २ पटक थुनिएर आएका भीषण बाढीहरु, बुढीगण्डकी नदीमा सोही कारण सन् १९६८मा आएको भीषण बाढीहरु यसका केही प्रतिनिधी दृष्टान्तहरु हुन् । माथिल्लो तामाकोशी नदीको लामाबगरको फाँट, मस्र्याङ्दी नदीको ताल पालिकामा रहेको ताल, मुस्ताङको टुकुचेस्थित कालीगण्डकी नदी किनारको ठूलो फाँट आदि फाँटहरु यस्तै नदी पुरिएर बनेका हुन् भन्ने प्रमाणहरु प्रशस्तै पाइन्छन् ।

तराईका बाढी र डुवान
नेपालका पहाडी क्षेत्रमा आउने भीषण बाढीहरुको असर उक्त नदी किनारामा जीवनयापन गर्ने ताराईबासीमा पर्नु स्वाभावक नै हो । सोबाहेक, नेपालका चूरे र महाभारत शृखंलामा पर्ने मुसलधारे वर्षाको कारण सो ठाउँका नजिक रहेका नदीहरुमा आउन सक्ने वा आउने भीषण बाढीको असर नेपालको तराईमा पर्नु पनि सान्दर्भिक नै लाग्दछ । यसरी, नेपालको तराई मा सन् १९०२, १९२६, १९३४, १९५४, १९५६, १९५८, १९६०, १९६२, १९६८, १९७८, १९८१, १९९३, २००२, २००८, २०१७, २०१८ र २०२४ मा भीषण बाढीहरु आएको तथ्यांक उपलब्ध छ । सबै ठूला साना बाढीहरुको कुरा गर्दा नेपालको तराईमा सन् १९७१ देखि २००७ सम्मका ३७ वर्षमा करिव २,५०० वटा बाढीका र डुबानका घटना घटेका र तिनीहरुले असीमित धनजनको क्षति गरेको कुरा पढ्न र सुन्न पाइन्छ । मेरो विचारमा ३७ वर्षमा २,५०० बाढीका र डुबानका घटना त धेरै कम भयो, त्यसैले यो संख्या ठूला र भीषण बाढीको मात्र योग हुनुपर्छ ।
नेपालको तराईमा ठूला र भीषण बाढी मुख्यतया ६ कारणले आउन सक्तछन्ः (क) ठूला नदी वरपर नेपालको पहाडमा ठूला नदीको जलग्रहण क्षेत्रमा उत्पन्न भई ठूला नदीमा आउने ठूला र भीषण बाढी, (ख) महाभारत पर्वत शृंखला, चुरे पर्वतमाला र तराईमा पर्ने मुसलधारे वर्षा, (ग) सो वर्षाको भेलले बगाएर ल्याई तराईका नदीमा अनियन्त्रित रुपमा थुपार्ने गेगर, (घ) नदीजन्य पदार्थको अनियन्त्रित र अव्यवस्थित उत्खनन, दोहन, र (ङ) विभिन्न कारणले नेपालको तराईमा वर्षाको समयमा कायम रहने भूमिगत जलको उच्च सतह । र (च) भारतले नेपाल–भारत सिमानामा दुश्मनीपूर्ण तरिकाले सिमाना मिचेर नेपालतर्फ बाढी पठाउने उद्देश्यले निर्माण गरी सञ्चालन गरेका पानी रोक्ने संरचनाहरु । यसबाहेक, ठूला बाढी तथा डुबानको कारण नेपाल सरकारको तराईका नदी व्यवस्थापनसम्बन्धी ठोस नीतिको अभाव हो । यसमा, नेपालको चूरे भाभर क्षेत्रमा विगत ५० वर्षमा भएका वन विनाश तथा भूक्षय गराउने प्रवृत्तिका कृयाकलापका साथै सो क्षेत्रमा आएको अनियन्त्रित र अव्यवस्थित विकासको बाढी प्रमुख रुपमा पर्दछन् । त्यसैले, नेपालको तराईमा बाढी नियन्त्रण र व्यवस्थापनका लागि माथि उल्लेखित कारणहरुमध्ये नेपाल सरकारका विभिन्न तहबाट गर्न सम्भव हुने तथा खास गरेर स्थानीय सरकारको अगुवाईमा गर्न सकिने कार्यहरु तदारुकताका साथ योजनाबद्ध रुपमा सम्पन्न गरी बाढी नियन्त्रणका साथै डुबान नियन्त्रण गर्न उचित देखेको छु । 
यो वर्ष २०८२ सालमा पनि नेपालका विभिन्न ठाउँमा साबिकभन्दा ज्यादा वर्षा हुने अनुमान नेपाल सरकारबाट सार्वजनिक भएअनुरुप नदी किनारमा बस्ने नेपालीहरु अली चनाखो भएर बस्नु वेस हुन्छ । र नेपाल सरकारले ६५ प्रतिशतसम्म ज्यादा पानी पर्ने भनेको मतलब साधारण वर्षा भन्दा ६५ प्रतिशतका हाराहारीसम्म मात्र बढी पानी पर्न सक्तछ र भीषण वर्षा हँुदैन भन्ने अनुमान लगाउन हुँदैन । नेपाल सरकारको यो जानकारीलाई तथ्यांकीय औसत भनेर बुझ्नु पर्दछ ।
नेपाल–भारत सिमानामा भारतीय पक्षबाट नेपालमा बाढी गराउने उद्देश्यले निर्माण गरिएका पानी रोक्ने संरचनाहरुको डिकमिसनिङ्ग (तिनीहरुलाई भत्काउने कार्य) भारत सरकारको अगुवाईमा भारतका लागि गरिने पानीसम्बन्धी आयोजनाहरुको पूर्वशर्तका रुपमा रहनु पर्दछ । र यस पूर्वशर्तभित्र नेपाल सरकारले भारत सरकारलाई अनुमति दिइसकेको ‘पश्चिम सेती जलाशययुक्त आयोजना’ समेत पर्नुपर्ने मेरो धारणा छ । किनभने, पश्चिम सेती नदीबाट कर्णाली नदीको वर्षातको कुल पानीमध्ये करिब ३० प्रतिशत पानी बग्ने र पश्चिम सेती जलाशययुक्त आयोजना निर्माण भए सो का कारण कर्णाली नदीको आसपासका भारतको उत्तर प्रदेश र बिहारका धेरै क्षेत्रहरुमा बाढी नियन्त्रण पूरै नभए पनि धेरै हदसम्म हुन सक्नेछ र सो मानेमा यो आयोजना भारतको लागि बाढी नियन्त्रण आयोजनासमेत भएको मेरो विचार छ ।
 

प्रकाशित मिति : शनिबार, जेठ २४, २०८२ | १४:१९:०३ बजे

लेखकको बारेमा

गोविन्द शर्मा पोखरेल
वरिष्ठ फेलो, नेपाल पानी सदुपयोग फाउण्डेशन

प्रतिक्रिया