सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तिब्बतबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति, प्रहरी कार्यालयसहित जलविद्युत् आयोजनामा क्षति

जलसरोकार
बुधबार, भदौ १०, २०८३ | १०:४७:०५ बजे

 

काठमाडौँ : तिब्बततर्फबाट भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण बस्ती, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट एक्कासि ठूलो बाढी आएको हो। बाढीबाट ठूलो धनमालको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको उनले बताए । 

“अकस्मात् बाढी आयो। धेरै थोक नोक्सान भएको छ,” प्रमुख जिल्ला अधिकारी परियारले भने, “तल्लो तटमा हाइड्रोका आयोजनाहरू बगेको भन्ने आएको छ। बस्तीमा पनि बाढी पसेको खबर आएको छ। धेरै कुरामा क्षति भएको छ।”

नेपाली भूभागमा ठूलो वर्षा नभएकाले बाढी तिब्बततर्फबाट आएको हुनसक्ने उनकाे भनाइ छ। “हाम्रो साइडमा ठूलो खालको ग्लेसियर थिएन। पारिबाट आएको भन्ने छ,” उनले भने, “यता पनि बाढी आउने गरी पानी परेको थिएन। हिजो राति धुन्चेतिर अलिअलि परेको थियो।”

टिमुरे बजारमा ठूलो क्षति

अचानक आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। बाढीको बहाव अत्यन्त तीव्र रहेकाले बजार तथा आसपासका क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको हो।

बाढीका कारण भएको क्षतिको विस्तृत विवरण भने सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा सम्पर्क स्थापित गर्न तथा उद्धारका लागि सुरक्षा निकायले प्रयास गरिरहेका छन्।

तीन प्रहरी कार्यालयमा क्षति

तिब्बततर्फबाट आएको बाढीले रसुवामा नेपाल प्रहरीका तीन वटा कार्यालयमा समेत क्षति पुर्‍याएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति पुगेको छ। ती कार्यालयको भौतिक संरचना तथा त्यहाँ कार्यरत प्रहरी कर्मचारीको अवस्थाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जलविद्युत् आयोजनामा पनि क्षति

प्रमुख जिल्ला अधिकारी परियारका अनुसार बाढीले तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको छ। कुन–कुन आयोजनामा कति क्षति पुगेको हो भन्नेबारे भने विस्तृत विवरण सङ्कलन भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा निरीक्षणको काम तत्काल अघि बढाउन कठिनाइ भइरहेको प्रशासनले जनाएको छ। नेपाली सेनाको हेलिकप्टरबाट प्रभावित क्षेत्रको निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी परियारले बताए । 

नुवाकोटसम्म पुग्यो बाढी

भोटेकोशी नदीमा आएको बाढी नुवाकोटसम्म पुगेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेशप्रसाद नेपालका अनुसार बाढी नुवाकोट आइपुगेको हो।

नुवाकोटमा बाढीबाट भएको क्षतिको यकिन विवरण प्राप्त नभएको उनले बताए । नदीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहतका लागि आवश्यक तयारी गर्न जिल्ला समन्वय समितिको बैठकसमेत बसिरहेको जनाइएको छ।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो

रसुवामा ठूलो बाढी र पहिरोको अवस्था देखिएपछि ट्राफिक प्रहरीले रसुवासहित चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ।

काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधनलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए।

बाढीको अवस्था थप बिग्रन सक्ने भएकाले यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।

उद्धारका लागि सेनाका हेलिकप्टर परिचालन

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको निरीक्षणका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवातर्फ पठाइएको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रतर्फ उडेका छन्। थप एउटा हेलिकप्टरसमेत परिचालन गर्ने तयारी भइरहेको उनले बताए ।

त्यसैगरी स्थलमार्गबाट पनि नेपाली सेनाको टोली प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि आवश्यक थप जनशक्ति र स्रोतसाधन परिचालनको तयारी भइरहेको सेनाले जनाएको छ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको तथा प्रभावित क्षेत्रमा उद्धार र राहतलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ। बाढीको बहाव र नदी तटीय क्षेत्रमा जोखिम कायम रहेकाले स्थानीय बासिन्दालाई नदी किनारमा नजान तथा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

प्रकाशित मिति : बुधबार, भदौ १०, २०८३ | १०:४७:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया