चोभारमा मात्रै निर्भर हुँदा काठमाडौंमा ठूलो विपत्ति आउन सक्छ : मदनकृष्ण श्रेष्ठ
जलसरोकार
काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौं उपत्यकाको बाढी जोखिम न्यूनीकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन् ।
काठमाडौं महानगर प्रहरी बलको आइतबार आयोजित ३४औँ वार्षिकोत्सवमा धारणा राख्दै श्रेष्ठले काठमाडौं उपत्यकाका विभिन्न दिशाबाट आउने पानी अन्ततः चोभार हुँदै बाहिरिने भएकाले त्यहाँको निकास क्षमता बढाउनुपर्ने बताएका हुन् ।
चोभारको पानी निकास साँघुरो रहेको उल्लेख गर्दै उनले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने चेतावनी दिए । चोभारको निकासमा क्षति पुगेमा त्यसको असर भयावह हुनसक्ने भएकाले सम्भावित विपत्तिअघि नै वैकल्पिक निकासको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
श्रेष्ठले काठमाडौंको बाढी जोखिम कम गर्न छुट्टै सुरुङ निर्माण गरी पानीलाई अर्को दिशाबाट निकास गर्ने सम्भावनाबारे अध्ययन गर्न महानगरपालिकालाई आग्रह गरे । अहिले विभिन्न ठाउँमा लामो सुरुङ निर्माण भइरहेकाले त्यस्तै संरचनालाई वैकल्पिक पानी निकासका रूपमा प्रयोग गर्न सकिने सम्भावनातर्फ पनि सोच्नुपर्ने उनको भनाइ छ ।
‘चोभारमा मात्रै निर्भर हुँदा भविष्यमा समस्या आउन सक्छ । त्यसैले सम्भावित विपद् आउनुअघि नै वैकल्पिक उपाय खोज्नु बुद्धिमानी हुन्छ,’ उनले भने ।
श्रेष्ठले पछिल्ला बाढीपहिरोका घटनालाई जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै नेपालले यसको गम्भीर असर भोगिरहेको बताए । विकास आवश्यक भए पनि वातावरणीय प्रभावलाई बेवास्ता गर्दै हुने अव्यवस्थित विकासले जोखिम थप बढाइरहेको उनको भनाइ छ ।
सोलुखुम्बुको थामे र रसुवाको भोटेकोशीमा आएको बाढीको प्रसङ्ग उल्लेख गर्दै श्रेष्ठले हिमताल फुट्ने जोखिमप्रति नेपाल थप सतर्क हुनुपर्ने बताए । हिमाली क्षेत्रमा रहेका हिमताल फुट्दा बस्ती, होटल तथा भौतिक संरचना एकैपटक बगाउन सक्ने भएकाले हिमाली तथा पहाडी क्षेत्रका शहर र बस्तीको सुरक्षाका विषयमा अहिले नै गम्भीर भएर सोच्नुपर्ने उनले बताए ।
उनले विश्वव्यापी औद्योगिकीकरण र त्यसबाट बढेको ग्लोबल वार्मिङको असर नेपालजस्ता मुलुकले समेत भोग्नुपरेको उल्लेख गरे । भारत, चीन र अमेरिकालगायतका ठूला मुलुकमा बढेको औद्योगिक गतिविधिको असर विश्वव्यापी तापक्रम वृद्धिका रूपमा देखिएको उनको भनाइ थियो ।
श्रेष्ठले सम्भावित विपद्बाट जोगिन पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने, ‘नेपालमा हिमताल फुट्ने जोखिम पनि छ । त्यसैले भविष्यमा आउन सक्ने विपद्बाट जोगिन हामी अहिले नै सतर्क र पूर्वतयारी अवस्थामा रहनुपर्छ । काठमाडौं उपत्यका पनि जोखिममुक्त छैन । यहाँ ठूलो जनघनत्व छ र धेरै ठाउँबाट पानी आएर अन्ततः चोभारतर्फ निकास हुन्छ । चोभारको निकास क्षमता पर्याप्त नभए ठूलो विपद् निम्तिन सक्छ ।’
कार्यक्रममा श्रेष्ठले कानूनी राज्यको आवश्यकतामा पनि जोड दिए । कानूनको पालना गराउने क्रममा महानगर प्रहरी बलले सही काम गरिरहेको भन्दै उनले कानून कार्यान्वयनका क्रममा हुने जिम्मेवारीपूर्ण कामबाट पछि हट्न नहुने बताए ।
‘कानूनी राज्य बन्नुपर्छ र कानूनको पालना हुनुपर्छ । त्यसका लागि यहाँहरूले सही काम गर्नुभएको छ, त्यसमा कुनै पश्चात्ताप गर्नुपर्दैन,’ उनले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे उद्धारमा अर्को आशा : टेलरेसबाट ठूलो मात्रामा सफा पानी बाहिरियो, लेदो पनि सुक्दै
-
चोभारमा मात्रै निर्भर हुँदा काठमाडौंमा ठूलो विपत्ति आउन सक्छ : मदनकृष्ण श्रेष्ठ
-
चिलिमे सुरुङमा नयाँ आशा : ४० मिटरभित्र ठूला ढुंगा र पाइप भेटिए, भित्र खाली स्थान हुनसक्ने अनुमान
-
सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो र आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
४८ करोड चुक्ता पुँजीमा आशुतोष इनर्जीले बाँड्ने भयो ९ करोड ९ लाख नगद लाभांश
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी