विपद्का बेला नेपाली सेना अग्रपङ्क्तिमा : ४ हजार ८१ जनाको हवाई उद्धारदेखि सुरुङमा फसेका तीन जनाको जीवनरक्षासम्म
जलसरोकार
काठमाडौँ : बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक विपद्का बेला नेपाली सेनाले नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा पुनःस्थापनामा निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको जनाएको छ। पछिल्लो समय भोटेकोशी र बूढीगण्डकीलगायतका बाढी तथा मनसुनजन्य विपद्मा सेनाले जोखिमपूर्ण स्थल, हवाई र सुरुङ उद्धारमार्फत आफ्नो व्यावसायिक क्षमता प्रदर्शन गरेको हो।
सेनाका अनुसार जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि, नेपालको भौगोलिक बनावट र मौसमी प्रतिकूलताका कारण बाढी, पहिरो, डुबान, हिमपहिरो तथा भूकम्पजस्ता विपद्का घटना दोहोरिँदै आएका छन्। यस्ता विपद्का बेला नागरिकको तत्काल उद्धारसँगै स्वास्थ्य सेवा, राहत, सुरक्षित स्थानान्तरण र भौतिक पूर्वाधार पुनःस्थापनामा समेत सेना परिचालित हुँदै आएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै सडक, पुल, विद्युत् र सञ्चार संरचनामा गम्भीर असर पुर्याएको थियो। उद्धार तथा राहतको काम जारी रहेकै बेला असोजको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा थप बाढी, पहिरो र डुबान निम्त्याएपछि सेना स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित ठूलो सङ्ख्यामा परिचालन भएको थियो।
भोटेकोशी बाढीपछिको उद्धारमा सेनाले जोखिममा रहेका नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ। भदौ २४ गतेसम्म मात्रै ४ हजार ८१ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ। अझ चुनौतीपूर्ण मानिएको जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका तीन जनालाई १० दिनपछि जीवितै उद्धार गर्नु सेनाको विपद् प्रतिकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
उद्धारसँगै सेनाले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मानवीय सहयोगसमेत विस्तार गरेको थियो। भोटेकोशी बाढीपछि परिचालित इमर्जेन्सी मेडिकल रेस्पोन्स टिममार्फत ३ हजार ५३५ जनाले स्वास्थ्य सेवा पाएका थिए। प्रभावित क्षेत्रमा महामारी नियन्त्रणका लागि निर्मलीकरण, मनोसामाजिक परामर्श तथा राहत सामग्रीको गुणस्तर परीक्षणलगायतका कामसमेत गरिएको सेनाले जनाएको छ।
असोजमा आएको अविरल वर्षा र बाढीका कारण पर्वत, बागलुङ, म्याग्दी र मनाङलगायत जिल्लामा जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्न पनि सेनाले महत्वपूर्ण भूमिका खेलेको थियो। जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको थियो।
यसै क्रममा असोज २५ गते बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी १ हजार १०६ जनालाई हेलिकप्टर तथा स्थलमार्गबाट उद्धार गरिएको सेनाले जनाएको छ। सडक सञ्जाल अवरुद्ध भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गर्नुका साथै डुबानमा परेका घरभित्रका सामान सुरक्षित रूपमा निकाल्न पनि सहयोग गरिएको थियो।
सेनाको भूमिका उद्धारमा मात्र सीमित रहेन। विपद्का कारण क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनमा ल्याउनसमेत सेना परिचालित भएको थियो। भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल सञ्चालनका लागि देवीघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोब्रिज जडान गरी रसुवाको आवागमन सहज बनाउन सहयोग गरिएको थियो।
मनाङको चामेमा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालन गर्न, अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा सहयोग गर्न तथा बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गर्न पनि सेनाले भूमिका निर्वाह गरेको जनाएको छ।
बूढीगण्डकी बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा तत्काल बेलिब्रिज जडान गरी सडक आयोजनालाई हस्तान्तरण गरिएको थियो। यस्ता कामले विपद्पछि उद्धारसँगै यातायात र आवश्यक सेवाको पुनःसञ्चालनमा सेनाको भूमिका महत्वपूर्ण रहेको देखाएको छ।
सेनाले विपद् प्रतिकार्य प्रभावकारी बनाउन विभिन्न सुरक्षा तथा सरकारी निकायबीचको समन्वयलाई पनि उत्तिकै महत्वपूर्ण मानेको छ। नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह, गैरसरकारी संस्था तथा स्थानीय समुदायबीचको समन्वय र सहकार्यबाट उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावकारी बनेको सेनाको भनाइ छ।
भोटेकोशी बाढीका क्रममा त्रिशूलीको मैथिली क्याम्पमा विपद् प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर र रसुवाको धुन्चेमा फरवार्ड कमान्ड सेन्टर स्थापना गरी फिल्ड तहका समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको थियो। यसले निर्णय प्रक्रिया र घटनास्थलमा हुने कार्यान्वयनबीचको दूरी घटाउनुका साथै उपलब्ध जनशक्ति र स्रोतसाधनलाई व्यवस्थित रूपमा परिचालन गर्न सहयोग पुगेको सेनाले जनाएको छ।
सेनाका अनुसार विपद् प्रतिकार्यका क्रममा हवाई, जमिनी तथा टनेलजस्ता अत्यन्त जोखिमपूर्ण उद्धार कार्य त्रुटिरहित रूपमा सञ्चालन गर्नु उसको व्यावसायिक क्षमता र पूर्वतयारीको परिणाम हो। हरेक वर्ष सञ्चालन हुँदै आएका संयुक्त विपद् प्रतिकार्य अभ्यासले पनि सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप बलियो बनाएको सेनाको दाबी छ।
पूर्वतयारी, तालिम, अभ्यास र वास्तविक घटनास्थलमा गरिएको सहकार्यले विपद्का बेला विभिन्न निकायबीच कार्यगत एकरूपता कायम गर्न सहयोग पुगेको छ। प्रतिकूल मौसम, दुर्गम भूगोल र अवरुद्ध स्थलमार्गका बाबजुद ड्रोनजस्ता प्रविधिको प्रयोग गरी आवश्यक सामग्री ढुवानी तथा उद्धार कार्यलाई सहज बनाइएको सेनाले जनाएको छ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार विपद् प्रभावित क्षेत्रमा उद्धारसँगै निर्मलीकरण, मनोसामाजिक परामर्श, स्वास्थ्य सेवा तथा राहत सामग्रीको गुणस्तर परीक्षणजस्ता कामले विपद्पछिको मानवीय आवश्यकता सम्बोधनमा सेनाको बहुआयामिक भूमिका स्पष्ट पारेको छ।
प्राकृतिक विपद् रोक्न नसकिए पनि प्रभावकारी पूर्वतयारी, समयमै उद्धार, राहत, पुनःस्थापना र निकायबीचको सहकार्यबाट त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने सेनाको निष्कर्ष छ। पछिल्ला विपद्का घटनाले पनि प्रभावकारी प्रतिकार्यका लागि सुरक्षा निकाय, सरकार, स्थानीय तह, समुदाय तथा अन्य सरोकारवाला निकायबीचको समन्वय अपरिहार्य रहेको पुनः पुष्टि गरेको छ।
विपद्का हरेक कठिन घडीमा अग्रपङ्क्तिमा रहेर नागरिकको जीवनरक्षामा खटिएको नेपाली सेनाको भूमिका सुरक्षा जिम्मेवारीमा मात्र सीमित नरही मानवीय सेवा, राष्ट्रिय दायित्व र नागरिकप्रतिको प्रतिबद्धतासँग जोडिएको सेनाको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कोप-३१ मा स्वकीय सचिव शिरिष पाण्डेको प्रतिनिधित्वदेखि ऊर्जा मन्त्रालयभित्रको कथित समानान्तर शक्ति केन्द्रसम्म
-
आगामी हिउँदमा ४६२ मेगावाट विद्युत् अभाव हुने
-
बाढीले थला पारेका आयोजना पुनः सञ्चालनमा ल्याउँदै सान्वी इनर्जी नाफामा, पहिलो त्रैमासमा ५ करोड ८ लाख खुद मुनाफा
-
सोलु हाइड्रोपावरको पहिलो त्रैमासमा ७४ करोड २१ लाख रुपैयाँ खुद नाफा, प्रतिशेयर आम्दानी ७.४२ रुपैयाँ
-
सुनचाँदीको मूल्यमा फेरि गिरावट, सुन तोलामा १ हजार १ सय रुपैयाँ सस्तियो
-
विपद्का बेला नेपाली सेना अग्रपङ्क्तिमा : ४ हजार ८१ जनाको हवाई उद्धारदेखि सुरुङमा फसेका तीन जनाको जीवनरक्षासम्म