सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सोलु हाइड्रोपावरको पहिलो त्रैमासमा ७४ करोड २१ लाख रुपैयाँ खुद नाफा, प्रतिशेयर आम्दानी ७.४२ रुपैयाँ

जलसरोकार
सोमबार, मंसिर ०१, २०८३ | १२:५५:४९ बजे

 

काठमाडौं : सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ७४ करोड २१ लाख ६२ हजार ८७५ रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको लेखापरीक्षण नगरिएको वित्तीय विवरणअनुसार कम्पनीको सञ्चालनबाट १ अर्ब १२ करोड २७ लाख ८ हजार ७२० रुपैयाँ आम्दानी भएको छ।

कम्पनीको पहिलो त्रैमासिकमा विद्युत् उत्पादन खर्च ३४ करोड २२ लाख २३ हजार ७९३ रुपैयाँ रहेको छ। उत्पादन खर्च कटाएपछि कम्पनीले ७८ करोड ४ लाख ८४ हजार ९२८ रुपैयाँ कुल मुनाफा आर्जन गरेको देखिन्छ। प्रशासनिक खर्च १ करोड ५५ लाख ५७ हजार ८५३ रुपैयाँ र खुद वित्तीय लागत २ करोड २७ लाख ६४ हजार १९९ रुपैयाँ घटाउँदा करअघिको मुनाफा ७४ करोड २१ लाख ६२ हजार ८७५ रुपैयाँ कायम भएको छ। कम्पनीले यस अवधिमा आयकरका लागि कुनै रकम व्यवस्था गरेको छैन।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ७ रुपैयाँ ४२ पैसा रहेको छ। प्रतिशेयर खुद सम्पत्ति ११८ रुपैयाँ ४ पैसा, चालु अनुपात २.७५ गुणा, मूल्य–आम्दानी अनुपात ८३.१४ गुणा र सम्पत्तिमा प्रतिफल ३.०८ प्रतिशत रहेको छ।

अघिल्लो त्रैमासिक अवधिको अन्त्यमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १४ पैसा, प्रतिशेयर खुद सम्पत्ति ११० रुपैयाँ ६२ पैसा, चालु अनुपात १.५४ गुणा, मूल्य–आम्दानी अनुपात ४५.७० गुणा र सम्पत्तिमा प्रतिफल ४.५६ प्रतिशत रहेको थियो।

२६ अर्ब ३२ करोडभन्दा बढीको सम्पत्ति

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २६ अर्ब ३२ करोड ९६ लाख १२ हजार ३५ रुपैयाँ पुगेको छ। अघिल्लो तुलनात्मक अवधिमा कम्पनीको कुल सम्पत्ति २५ अर्ब ९५ करोड ३० लाख ९५ हजार ७६४ रुपैयाँ थियो।

कम्पनीको कुल गैरचालु सम्पत्ति २४ अर्ब ८ करोड ३१ लाख ८७ हजार २४६ रुपैयाँ र कुल चालु सम्पत्ति २ अर्ब २३ करोड ७७ लाख ७३ हजार ९८८ रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको कुल पुँजी १४ अर्ब ५४ करोड ६५ लाख ५० हजार ६०० रुपैयाँ रहेको छ। यसमा १० अर्ब रुपैयाँ शेयर पुँजी र ४ अर्ब ५४ करोड ६५ लाख ५० हजार ६०० रुपैयाँ सञ्चित मुनाफा रहेको छ।

कम्पनीको कुल दायित्व ११ अर्ब ७७ करोड ४४ लाख १० हजार ६३५ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

विद्युत् बिक्रीबाट १ अर्ब १२ करोड आम्दानी

कम्पनीले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट १ अर्ब १२ करोड २७ लाख ८ हजार ७२० रुपैयाँ आम्दानी गरेको जनाएको छ। व्यवस्थापन विश्लेषणमा परियोजनाहरूको काम अवरुद्ध नहोस् भनेर मौज्दातको स्तरलाई आवश्यकताअनुसार अनुकूलित गरिएको उल्लेख छ।

त्यसैगरी, कम्पनीले आफ्ना चालु सञ्चालन तथा वित्तीय दायित्व पूरा गर्न पर्याप्त कार्यशील पुँजी सुनिश्चित हुने गरी सुदृढ तरलता अवस्था कायम राखेको जनाएको छ। आगामी व्यावसायिक योजनाअन्तर्गत सञ्चालन कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने लक्ष्य व्यवस्थापनले लिएको छ।

नेप्सेमा १३ करोडभन्दा बढी कित्ता कारोबार

कम्पनीको शेयर पहिलो त्रैमासिक अवधिमा सक्रिय रूपमा कारोबार भएको छ। प्रतिवेदनअनुसार उक्त अवधिमा कम्पनीको शेयरको अधिकतम मूल्य ७२५ रुपैयाँ र न्यूनतम मूल्य ५०० रुपैयाँ १० पैसा रहेको थियो। त्रैमासिक अवधिको अन्तिम कारोबार मूल्य ६१७ रुपैयाँ कायम भएको छ।

उक्त अवधिमा ६१ कारोबार दिनमा कुल ८३ हजार १०६ वटा कारोबार भएका थिए। यस अवधिमा १ करोड ३१ लाख ४० हजार ७७२ कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ६५ करोड २० लाख ४० हजार १०२ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : सोमबार, मंसिर ०१, २०८३ | १२:५५:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया