सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बाढीले थला पारेका आयोजना पुनः सञ्चालनमा ल्याउँदै सान्वी इनर्जी नाफामा, पहिलो त्रैमासमा ५ करोड ८ लाख खुद मुनाफा

जलसरोकार
सोमबार, मंसिर ०१, २०८३ | १३:१९:४६ बजे

 

काठमाडौं : बाढीका कारण आफ्ना दुवै जलविद्युत् आयोजना बन्द भएपछि पुनर्निर्माणमा जुटेको सान्वी इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५ करोड ८ लाख ७३ हजार ५१९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड ७९ लाख ७ हजार २६० रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा फर्किएको हो।

कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको लेखापरीक्षण नगरिएको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालनबाट १२ करोड ३९ लाख ८३ हजार ४३० रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही त्रैमासमा यस्तो आम्दानी ११ करोड ७ लाख ४६ हजार ४३२ रुपैयाँ थियो।

कम्पनीको निर्माणबाट प्राप्त खुद आम्दानी (IFRIC 12 अनुसार) ७ लाख ५ हजार २९० रुपैयाँ रहेको छ। बिक्री लागत २४ लाख ९२ हजार १०४ रुपैयाँ घटाउँदा कुल मुनाफा १२ करोड २१ लाख ९६ हजार ६१६ रुपैयाँ कायम भएको छ।

यस अवधिमा कम्पनीको प्रशासनिक खर्च १ करोड ११ लाख ९६ हजार १३५ रुपैयाँ र ह्रासकट्टी तथा परिशोधन खर्च २ करोड ६२ लाख ४८ हजार ४४२ रुपैयाँ रहेको छ। यी खर्च कटाएपछि सञ्चालनबाट ८ करोड ४८ लाख ५२ हजार ३९ रुपैयाँ मुनाफा भएको छ।

तर, वित्तीय खर्च ३ करोड २४ लाख ५ हजार ११२ रुपैयाँ रहेको छ। कर्मचारी बोनसबापत १० लाख ४८ हजार ९३९ रुपैयाँ र संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ५ लाख २४ हजार ४६९ रुपैयाँ व्यवस्था गरेपछि कम्पनीको करअघिको तथा खुद मुनाफा ५ करोड ८ लाख ७३ हजार ५१९ रुपैयाँ कायम भएको हो। कम्पनीले चालु तथा स्थगित करका लागि कुनै रकम व्यवस्था गरेको छैन।

गत आर्थिक वर्षको सोही त्रैमासमा कम्पनीले ३ करोड ८१ लाख २३ हजार ९३ रुपैयाँ मुनाफा गरेको थियो। यस आधारमा गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद मुनाफा बढेको देखिन्छ।

प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकीकरणका आधारमा २३ रुपैयाँ १२ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ७ रुपैयाँ ७२ पैसा थियो भने गत आर्थिक वर्षको सोही त्रैमासमा १७ रुपैयाँ ३३ पैसा रहेको थियो।

त्यस्तै, कम्पनीको चालु अनुपात ०.७२ गुणा, प्रतिशेयर खुद सम्पत्ति १११ रुपैयाँ ६४ पैसा, प्रतिशेयर बजार मूल्य ४८७ रुपैयाँ र मूल्य–आम्दानी अनुपात २१.०६ गुणा रहेको छ। अघिल्लो त्रैमासमा चालु अनुपात ०.५२ गुणा, प्रतिशेयर खुद सम्पत्ति १०६ रुपैयाँ २१ पैसा, प्रतिशेयर बजार मूल्य ५६५ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ऋणात्मक ७३.१९ गुणा थियो।

२ अर्ब ८५ करोडभन्दा बढीको सम्पत्ति

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब ८५ करोड ८८ लाख ६८ हजार ८८२ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको कुल सम्पत्ति २ अर्ब ७७ करोड ५७ लाख ९३ हजार १६५ रुपैयाँ थियो।

कम्पनीको गैरचालु सम्पत्ति २ अर्ब ६१ करोड ३ लाख ३२ हजार ८२८ रुपैयाँ र चालु सम्पत्ति २४ करोड ८५ लाख ३६ हजार ५४ रुपैयाँ रहेको छ। चालु सम्पत्तिअन्तर्गत व्यापार प्राप्य रकम ८ करोड ४२ लाख २८ हजार ६८८ रुपैयाँ, नगद तथा नगद बराबरका रकम ४ करोड ४९ लाख १२ हजार ८२५ रुपैयाँ र अन्य वित्तीय सम्पत्ति ११ करोड ९३ लाख ९४ हजार ५४१ रुपैयाँ रहेको छ।

कम्पनीको कुल पुँजी ९८ करोड २४ लाख ५६७ रुपैयाँ छ। यसमा ८८ करोड रुपैयाँ शेयर पुँजी र १० करोड २४ लाख ५६७ रुपैयाँ सञ्चिति तथा सञ्चित मुनाफा रहेको छ। त्यस्तै, कम्पनीको कुल दायित्व १ अर्ब ८७ करोड ६४ लाख ६८ हजार ३१५ रुपैयाँ रहेको छ।

बाढीले बन्द भएका दुवै आयोजना पुनः सञ्चालनमा

सान्वी इनर्जीका लागि पछिल्लो समयको सबैभन्दा ठूलो चुनौती प्राकृतिक विपद् बनेको थियो। कम्पनीको व्यवस्थापन विश्लेषणअनुसार २०८२ साल असोज १९ गते पूर्वी नेपाल, विशेषगरी इलाम जिल्लामा भएको अतिवृष्टि तथा लगातारको वर्षाका कारण जोगमाई खोला नदीमा भीषण बाढी आएको थियो।

उक्त बाढीले कम्पनीका ७.६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजना र ५.२ मेगावाट क्षमताको जोगमाई क्यास्केड जलविद्युत् आयोजनाका प्रमुख संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। क्षतिका कारण दुवै आयोजना २०८२ साल असोज १९ गतेदेखि पूर्ण रूपमा बन्द भएका थिए।

त्यसपछि कम्पनीले क्षतिग्रस्त संरचनाको मर्मत, पुनर्निर्माण तथा पुनःस्थापनाको काम सुरु गरेको थियो। लामो मर्मत तथा पुनर्निर्माण प्रयासपछि ७.६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजना २०८३ साल जेठ २९ गतेदेखि र ५.२ मेगावाट क्षमताको जोगमाई क्यास्केड जलविद्युत् आयोजना २०८३ साल असार २४ गतेदेखि पुनः व्यावसायिक सञ्चालनमा आएका छन्।

यद्यपि, दुवै आयोजनामा संरक्षणसम्बन्धी काम, क्याम्पिङ सुविधाको व्यवस्थापन तथा बाँकी पुनर्निर्माण गतिविधि अझै जारी रहेको कम्पनीले जनाएको छ।

बीमा दाबी प्रक्रिया जारी, क्षतिपूर्तिबापत रकम प्राप्त

बाढीबाट भएको क्षतिको व्यवस्थापनका लागि कम्पनीले सम्बन्धित बीमा कम्पनीलाई घटनाबारे जानकारी गराइसकेको छ। बीमा दाबी भुक्तानीको प्रक्रिया जारी रहेको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीले जोगमाई खोला साना जलविद्युत् आयोजनाका लागि सम्पत्ति क्षति दाबीबापत १ करोड ५० लाख रुपैयाँ र नाफा गुमाएको क्षतिबापत ४ करोड २० लाख रुपैयाँ दाबी गरेको विवरण प्रस्तुत गरेको छ।

त्यस्तै, जोगमाई क्यास्केड जलविद्युत् आयोजनाका लागि सम्पत्ति क्षति दाबीबापत ३ करोड ५० लाख रुपैयाँ र नाफा गुमाएको क्षतिबापत थप ३ करोड ५० लाख रुपैयाँ उल्लेख गरिएको छ।

कम्पनीको प्रतिवेदनअनुसार बीमा दाबीबाट प्राप्त कुल ७ करोड ७० लाख रुपैयाँमध्ये आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणमा ७ करोड ७० लाख रुपैयाँ अन्य आम्दानीका रूपमा पहिचान गरिएको छ। त्यस्तै, ५ करोड रुपैयाँ अमूर्त सम्पत्तिबाट घटाएर समायोजन गरिएको उल्लेख छ।

पुनर्निर्माण सम्पन्न भएपछि र वास्तविक क्षतिको अन्तिम मूल्याङ्कन भएपछि बाँकी आवश्यक समायोजन अमूर्त सम्पत्तिको मूल्यमा प्रतिबिम्बित गरिने कम्पनीले जनाएको छ।

नेप्सेमा ६ लाख ९२ हजार कित्ता शेयर कारोबार

सान्वी इनर्जीको शेयर आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६१ कारोबार दिनमा ६ लाख ९२ हजार ३९ कित्ता कारोबार भएको छ।

कम्पनीको शेयरको अधिकतम मूल्य ६६५ रुपैयाँ ७० पैसा र न्यूनतम मूल्य ४७० रुपैयाँ ३० पैसा रहेको थियो। २०८३ साल असोज ३१ गतेसम्मको अन्तिम कारोबार मूल्य ४८७ रुपैयाँ कायम भएको कम्पनीको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०२२ अगस्ट ४ देखि कारोबारका लागि सूचीकृत भएको प्रतिवेदनमा उल्लेख छ। कम्पनीले शेयर मूल्य तथा कारोबार बजारका सहभागीहरूले निर्धारण गर्ने विषय भएको उल्लेख गर्दै लगानीकर्ता तथा सरोकारवालालाई आवश्यक सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

ब्याजदर र प्राकृतिक विपद् प्रमुख चुनौती

कम्पनीले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीमध्ये बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जाको ब्याजदरमा हुने उतारचढावलाई प्रमुख रूपमा औँल्याएको छ। जलविद्युत् विकासजस्ता दीर्घकालीन पूर्वाधार आयोजनामा ब्याजदर परिवर्तनले महत्वपूर्ण चुनौती सिर्जना गर्ने कम्पनीको विश्लेषण छ।

त्यसैगरी, दक्ष जनशक्तिलाई कम्पनीमा टिकाइराख्नु र विद्युत् उत्पादन केन्द्रको सञ्चालनमा कार्यदक्षता कायम गर्नु आन्तरिक चुनौतीका रूपमा उल्लेख गरिएको छ।

प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजनाका संरचनामा पर्न सक्ने क्षतिलाई पनि कम्पनीले महत्वपूर्ण बाह्य चुनौती मानेको छ। यसका बाबजुद कम्पनीले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण तथा पुनः सञ्चालनमा सफलता हासिल गरेको र आगामी दिनमा सञ्चालनसम्बन्धी चुनौती सम्बोधन गर्न व्यवस्थापन प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनीका सञ्चालक समिति तथा व्यवस्थापन समूहले संस्थागत सुशासनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रकाशित मिति : सोमबार, मंसिर ०१, २०८३ | १३:१९:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया