पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण
जलसरोकार
काभ्रेपलाञ्चोक, : जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी र इन्द्रावतीमा मोटरबोट सञ्चालननार्थ गाउँपालिकाले एक वर्षअघि महाँकाल वाटर सर्भिसबीच सम्झौतासमेत गरेको थियो । मोटरबोट सञ्चालनका लागि हाल परीक्षण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । उनका अनुसार हाल एक मोटरबोटले नदीमा पानीको बहावअनुसारको रुट तथा बाधाअड्चन आउनसक्ने स्थान र सम्भावित जोखिमको पहिचान भइरहेको छ ।
परीक्षणका क्रममा दोलालघाटस्थित दुई नदीको सङ्गमस्थलबाट उत्तरतर्फ इन्द्रावती तथा पूर्वी क्षेत्रमा सुनकोशीमा मोटरबोटले सफल रूपमा सञ्चालन भएको जनाइएको हो । पहिलोपटक गत हप्ता गरिएका परीक्षणबाट अवरोध नदेखिएको भुजेलले बताए । “परीक्षणले राम्रो सम्भावना देखिएको प्राविधिकले बताएका छन्, आवश्यक थप परीक्षणबाट कसरी सञ्चालन गर्ने भन्नेबारे दुई पक्षबीच छलफल गर्नेछौँ”, उनले बताए । उनका अनुसार सरकारको केन्द्रीय कार्यक्रमअनुसार दोलालघाटबाट सुनसरीको चतरासम्म सञ्चालन गर्ने योजना बनाइएको छ ।
सफल परीक्षणपछि पहिलो चरणमा दोलालघाटबाट खहरेघाटसम्म एक किलोमिटरमा मोटरबोट सञ्चालन गरिनेछ । पहिलो चरणमा मनोरञ्जनात्मक रूपमा एक किलोमिटरको दूरीमा आवश्यकतानुसार थप मोटरबोट व्यवस्थापन गरी सञ्चालन गरिने जनाइएको हो । मोटरबोट सञ्चालनले आन्तरिक एवं बाह्य पर्यटकमार्फत भुम्लुको पर्यटन प्रवर्द्धन तथा अन्य विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दोलालघाटबाट चतरासम्म सञ्चालन हुने भएपछि गाउँपालिकाले एक मोटरबोट खरिद गर्नेसम्मको योजना बनाएको भुजेलले जानकारी दिए । पर्यटन प्रवर्द्धनको उद्देश्यसाथ दोलालघाटबाट सिन्धुलीको नेपालथोकसम्म सुनकोशीमा करिब पाँच किलोमिटरको दूरीमा र्याफ्टिङ सञ्चालन गर्दै आइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ