पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
जलसरोकार
काठमाडौँ : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सीमामा भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
शुक्रबार बिहान करिब ७ बजे खसेको पहिरोले हुङ्गा खोला थुनिएर करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए ।
पहिरो खस्ने क्रम नरोकिएकाले खोलामा पानी जम्मा हुने क्रम बढिरहेको प्रशासनले जनाएको छ । पहिरोका कारण बनेको अस्थायी तालको पानी एक्कासि बाहिरिएमा तल्लो तटीय क्षेत्रमा ठूलो असर पर्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार पहिरोले करिब १६ मिटर उचाइ र १०० मिटर फराकिलो ड्यामजस्तो अवस्था बनाएको जानकारी आएको छ । पहिरो निरन्तर खसिरहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ जानसमेत आग्रह गरिएको छ ।
हुङ्गा खोला दुधकोशी नदीमा मिसिने भएकाले सोलुखुम्बुसँगै दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने ओखलढुङ्गा र खोटाङका बासिन्दालाई समेत सावधानी अपनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी गराइएको छ ।
महाकुलुङ गाउँपालिकाले खोला थुनिएको जानकारी पाएलगत्तै घटनास्थलतर्फ स्काभेटर पठाएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले बताए। घटनास्थलको अवस्था बुझेर आवश्यक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट पहल भइरहेको उनले जानकारी दिए ।
हुङ्गा खोला तथा आसपासका क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना निर्माणाधीन रहेकाले सम्भावित जोखिमलाई लिएर थप सतर्कता अपनाइएको छ ।
स्थानीय प्रशासनले हुङ्गा खोला तथा दुधकोशी नदी आसपासका बासिन्दालाई नदी र खोलाको बहावमा हुन सक्ने परिवर्तनप्रति सचेत रहन तथा सुरक्षा निकायले जारी गर्ने सूचना र निर्देशनको पालना गर्न आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
-
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
-
जलविद्युत् आयोजनाले बढायो वनको राजस्व
-
चिलिमे सुरुङ उद्धारमा प्रगति, भारी उपकरण पुर्याउन सुरुङसम्म अब ३५ मिटर बाँकी
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा थप दुई भवन पनि भेटिएनन्, अब बाँकी भवनको खोजी
-
विद्युत् बिक्रीमा माथिल्लो तामाकोशी अगाडि