लगानी बोर्डले दुई वर्षदेखि जाबो एउटा चिठी नदिंदा अरुण तेस्रोको निर्माण कार्य अहिलेकै हिसाबमा कम्तीमा दुई वर्ष पर धकेलियो । लगानी बोर्डका पदाधिकारीहरुलाई तलब, भत्ता, गाडीलगायत सबै सुविधा दिइएको छ । जनताले तिरेको कर यिनले खाइरहेका छन् । खाइसकेपछि गर्नुपर्ने काम नगर्नु कृतघ्नता मात्र होइन, अख्तियारको दुरुपयोग पनि हो । गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने काम गर्ने अपराध पनि हो । लगानी बोर्ड स्थापना भएदेखि नेपालमा ठूला लगानी हुन सकेका छैनन् । न लगानी बोर्डका पदाधिकारी र कर्मचारीलाई ज्ञान छ, न त अनुभव नै । थाहै नपाएपछि काम हुने कुरो पनि भएन ।
सन्दर्भ अरुण तेस्रोकै । लगानी बोर्ड ऐनले ५ सय मेगावाटभन्दा माथिका आयोजना हेर्ने भनिएको छ । नेपालमा लगानी नभित्रियोस्, लगानीकर्तालाई हैरानी होस्, फर्कोस र आफ्ना कार्यकर्तालाई जागिर खुवाउँ भन्ने ध्येयले यो बोर्ड गठन भएको हो । बोर्डको संरचना, यिनमा भर्ती हुने पात्र र यिनका कर्मले त्यो ध्येयलाई पूरा गराएको पनि छ ।
अरुण तेस्रोको प्रवद्र्धक सतलजले प्रसारण लाइनको ठेक्का लगाउँदा दुईवटा प्याकेज बनायो । पहिलोले तार (कण्डक्टर) आपूर्ति गर्ने, दोस्रोले टावर खडा गरी तार तान्ने । तार ल्याउने ठेक्का पाएको थियो भारतकै अपार भन्ने कम्पनीले । ठेक्का सम्झौता हुँदा मूल्य समायोजनको सुविधा दिइएको थियो । अर्थात् टेण्डर गर्दा र आपूर्ति गर्दा मूल्य वृद्धि भए त्यसको दाबाी प्रवद्र्धकले गर्ने । मूल्य गतिशील भइरहने मालवस्तुको टेण्डर गर्दा विश्वभर मूल्य समायोजनको सुविधा दिइएको हुन्छ । नेपाल विद्युत् प्राधिकरणले गर्ने धेरै अन्तर्राष्ट्रिय ठेक्कामा पनि यस्तो बन्दोबस्त हुन्छ । यो कुनै ठूलो कुरो होइन ।
तर अरुण तेस्रोको तार आपूर्तिकर्ताले मालवस्तु आपूर्ति गर्दा मूल्य वृद्धि भएको जनाउ दियो, त्यसलाई सतजले स्वीकार ग¥यो, अस्वीकार गर्नुपर्ने कारण पनि थिएन । त्यसको भुक्तानी अग्रिम भएको हुँदैन, किनभने कति मूल्य वृद्धि हुन्छ भन्ने थाहै हुन्न । त्यही भएर त्यसको प्रतीत पत्र खोलिएको हुँदैन ।
अब प्रवद्र्धक सतलजले आपूर्तिकर्ता अपारलाई भुक्तानी दिनुपर्ने भयो । त्यसका लागि उसले बैंकलाई चिठी लेख्यो । बैंकले विदेशी विनिमयको भुक्तानी सिधै गर्न पाउँदैन । त्यही भएर सतलज आफ्नो ‘मालिक’ लगानी बोर्ड गयो । बोर्डले सात महिना त्यो चिठी हेरेन । सतलज कराएको करायै गर्यो । बोर्डले सुन्दै सुनेन, कानमा तेल नै हालेर बस्यो । डेढ वर्षपछि बल्ल एउटा चिठी लेखुँ कि नलेखुँ शैलीमा अर्थ मन्त्रालयलाई लेख्यो । मन्त्रालयले यस्तोमा थप राजस्व लिइरहनु नपर्ने स्पष्ट लेख्दा पनि बोर्डले सिफारिस गरिदिएन । यस्तो सिफारिस नपाएका कारण सतलजले भुृक्तानी गर्न सकेन । ठेक्का सम्झौता भइसकेको अपारले ठेक्का रद्द गरिदियो । सतलजले पुनः ठेक्का गर्यो । तर लगानी बोर्डको चालामाला थाहा पाएकाले कसैले पनि ठेक्का हालेनन् ।
अब अरुण तेस्रोको काम ७० प्रतिशत पूरा भइसकेको छ । आगामी फेब्रुअरी २५ मा बत्ती बल्न ठिक्क छ । यता तार छैन । तार आयात गर्न लगानी बोर्डले सिफारिस नगरिदिएर सतलजले ठेकेदार पाउन सकेको छैन । आयोजना बन्ने भयो, प्रसारण लाइन नबन्ने भो ।
यसो गर्दा दुई वर्ष बितिसक्यो, आजका मितिसम्म बोर्डले निर्णय गर्न सकेको छैन । बोर्डले जुन गर्नुपर्ने काम थियो त्यो गरेन । अर्थात् त्यो अपराध गर्यो । नेपाल सरकारको राजस्व समेत मारेको छ बोर्डले ।
बोर्डको यो सिफारिस नदिएकै कारण दुई वर्ष ढिला त भयो । अब यसको असर नेपाल सरकारको आम्दानी, रोयल्टी, कर लगायत सबैमा पर्यो । बिजुलीबाट मात्र नेपालाई यो दुई वर्षको अवधिमा कति घाटा भयो त्यो हेरौं । अरुण तेस्रोबाट नेपालले २१.९ प्रतिशत निःशुल्क बिजुली पाउने सम्झौता छ । अरुण तेस्रोको जडित क्षमता ९ सय मेगावाट हो । यसअनुसार नेपालले १९७.१ मेगावाट बिजुली सिंत्तैमा पाउँछ । अब यो दुई वर्ष पर धकेलिंदा नेपाललाई कति घाटा भयो ? अब त्यो घाटा लगानी बोर्डका पदाधिकारीहरुहरुबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असुल्न मुद्दा चलाउनुपर्छ ।
अरुण तेस्रोबाट वार्षिक ३४६६ गिगावाट घण्टा (३ अर्ब ४६ करोड ६० लाख युनिट) बिजुली उत्पादन गर्छ । यसरी उत्पादन हुने बिजुलीमा नेपालको हक २१.९ प्रतिशत लाग्छ । यो भनेको अरुण तेस्रोबाट नेपालले एक वर्षमा ७५ करोड ९० लाख ५४ हजार युनिट बिजुली पाउँछ । अरुण तेस्रोबाट उत्पादित बिजुली पनि भारतले नै खरिद गरिदिने कुरोकानी भइरहेको छ । भारतले लैजाने औसत दर भारु ५ छ । यस हिसाबले अरुण तेस्रोको बिजुली बेच्दा नेपाल सरकारलाई एक वर्षमा ६ अर्ब ७ करोड २४ लाख ३२ हजार रुपैयाँ आम्दानी हुन्छ । दुई वर्षको आम्दानी १२ अर्ब १४ करोड ४८ लाख रुपैयाँ (नेरु) हुन आउँछ ।
अब प्रश्न उठ्छ लगानी बोर्डका सीइओ र कर्मचारीहरुको अकर्मण्यताको लागत १२ अर्ब १४ करोड रुपैयाँ पर्न आयो । अर्थात् यिनका नालायकपनको मोल राज्यले चुकाउनु पर्यो— १२ अर्ब १४ करोड । यो यिनीहरुको कार्य क्षमता अभावका कारण राज्यलाई नोक्सान परेको हो । हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक हजार रुपैयाँ घूस खाएको आरोपमा एउटा सुब्बालाई मुद्दा चलाएको थियो । राज्यलाई १२ अर्ब रुपैयाँ घाटा खुवाउने यिनलाई अख्तियारले मुद्दा चलाउनु पदैन ?
पदमा बसेपछि अधिकार मात्र हुँदैन, कर्तव्य पनि साथै हुन्छ । कर्तव्यपालनाका लागि नै राज्यले यी पदाधिकारीहरुलाई यत्रो सुख सुविधा दिएको । तर राज्यको स्रोत दोहन पनि गर्ने, काम पनि नगर्ने भनेको यो जतिको बेइमानी अरु हुन सक्दैन । अनि यिनका अल्पज्ञान, अल्पबुद्धि, अनुभवहीनताका कारण राज्य र विदेशी लगानीकर्ताले अर्बाैं रुपैयाँ नोक्सान सहनुपर्ने ? लगानी बोर्डका पदाधिकारी र कर्मचारीका कारण सतलजलाई दुई वर्षको अवधिमा ४३ अर्ब ३१ करोड रुपैयाँ घाटा परेको छ (नेपाललाई दिने बिजुली कटाएर) । समयमा उत्पादन गर्न नपाउनु नै आम्दानी गुम्नु हो । सतलज सरकारी कम्पनी भएकाले यस्तो घाटा सहन सक्ला । यदि ऊ निजी क्षेत्र भएको भए सक्थ्यो ? सरकारी होस् वा निजी नेपालका नालायक पदाधिकारीको कारण कसैलाई पनि घाटा खुवाउनु अपराध नै हो ।
तसर्थ नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मामिलाको गम्भीर छानबिन गर्नैपर्छ । बोर्डको यस्तै रबैयाका कारण कुनै पनि ठूला आयोजना अघि बढ्न सकेका छैनन् । यहाँसम्म कि प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण गर्ने, वनको क्लियरेन्स लिने, राइट अफ वे मिलाउन सहज र समन्वय गर्नेजस्ता बोर्डले गर्नैपर्ने सामान्य कामहरु पनि गरिदिएको छैन् । त्यसैले यो लगानी बोर्डको औचित्य छैन । यसलाई जति राख्यो, यसले देशलाई हानि हुने कामबाहेक अरु गर्न सक्दैन र जान्दैन पनि । किनभने यसको संरचना नै यस्तो छ कि समय नै दिन नसक्ने प्रधानमन्त्री अध्यक्ष छन् । मन्त्रीहरु पदेन सदस्य छन् । प्रधानमन्त्री र मन्त्रीहरुको झुण्ड एकट्ठा गर्दैमा त्यो संस्था बन्न सक्दैन । जसरी जल तथा ऊर्जा आयोगमा प्रधानमन्त्री लगायत सबै मन्त्री, सबै सचिव पदेन सदस्य छन् । बैठकै बस्दैन ।
विद्युत् प्राधिकरण र विद्यु्त विकास विभाग र ऊर्जा मन्त्रालय नेपालको जलस्रोत र जलविद्युत् क्षेत्रमा आफैमा एउटा विश्वविद्यालय सरह हो । यी निकायले यतिका वर्षदेखि यो क्षेत्रमा संस्थागत अनुभव हासिल गरेका छन् । द्विपक्षीय, बहुपक्षीय वार्ता गरी आयोजना विकास गरेका छन् । तर यो लगानी बोर्ड, जसको सीइओलाई प्रधानमन्त्रीले आफ्नो एउटा कार्यकर्ताका रुपमा टपक्क टिपेर राख्छ, अनि ५ सय मेगावाटभन्दा बढीको जिम्मेवारी दिन्छ, अनि सक्छ ? मेगावाट भनेको के हो भन्ने थाहा नपाउने सीइओले संस्था चलाएपछि योजत्तिको लाजमर्दाे अरु के हुन सक्छ ? विद्युत् ऐन, २०४९ अनुसार नै नेपालको विद्युत् क्षेत्र शासित हुनुपर्छ, केपी ओली, शेरबहादुर र पुष्पकमलका विरुदावली गाउनेहरुको जत्थाले होइन ।
याे पनि : लगानी बोर्डले अरुण तेस्रोको काम २ वर्षदेखि रोकाइदियो
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का