काठमाडौं– दाङ घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ । ‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म २८ वटा जलाशय निर्माण भइसकेका छन् । प्रदेश सरकारको रु ४५ लाख, स्थानीय सरकारको रु ५० लाख र उपभोक्ताको रु पाँच लाख लागतमा उक्त जलाशय निर्माण गरिएको हो ।
घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा रहेको कृत्रिम जलाशयका कारण सो क्षेत्रमा पानीको समस्या हटेको किसान पूर्णबहादुर चौधरीले बताए । जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारीखेतीमार्फत आम्दानी पनि भइरहेको उनले बताए।
कृत्रिम जलाशय निर्माण गरेपछि पानीको सहज आपूर्ति भएको किसानको भनाइ छ । ‘वडा नं १७ र आसपासको वडामा सिँचाइका लागि पानी पुगेको छ । कर्जाही आसपासमा एक सय बिघाभन्दा धेरै जमिनमा यस जलाशयको पानीमार्फत सिँचाइ भई व्यावसायिक तरकारीखेती भइरहेको छ’, चौधरीले भने ।
घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नं १ र २ को सीमाक्षेत्रमा पर्ने सुर्केडाँगीमा (चेपे ताल)मा तीन वर्षअघि करिब साढे सात बिघा क्षेत्रफलमा निर्माण गरिएको कृत्रिम जलाशयपछि खेतीपातीमा सहज भएको किसान मीना चौधरीले सुनाइन् ।
‘जलाशय निर्माणपछि सिँचाइको समस्या छैन । यसले व्यावसायिक तरकारीखेतीमा सहयोग पुगेको छ’, उनले भनिन्, ‘मैलेमात्रै काउली, बन्दा, गोलभेँडा गरी मासिक रु २० देखि २५ हजार आम्दानी गरिरहेकी छु । लौका, करेला, भिन्डी र काँक्राको खेती पनि राम्रो भइरहेको छ ।’
जलाशय संरक्षण समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष राममणि पाण्डेले जलाशयमा माछापालनसँगै डुङ्गासमेत सञ्चालन गरिएको बताए। अध्यक्ष पाण्डेका अनुसार कृत्रिम जलाशय प्रदेश सरकार र घोराही उपमहानगरको करिब रु एक करोड ८० लाखको लगानीमा निर्माण भएको हो । ‘जलाशय ठूलो छ, सोही कारण सिँचाइसँगै माछापालन, डुङ्गा सञ्चालन गरेर स्थानीय युवालाई रोजगारीसमेत दिएका छौँ’, पाण्डेले भने ।
सघन सिँचाइ आयोजनाले तीन, बृहत् सिँचाइ आयोजनाले एक, प्रदेश सरकारले तीन र उपमहानगरले २१ गरी पाँच वर्षमा २८ कृत्रिम जलाशय निर्माण भएका छन् । गर्मीमा पानीको समस्या धेरै नै थियो । तीव्र सहरीकरणले नगरभित्रका सहरोन्मुख गाउँका कुँवा, इनार, ट्युबवेल, जरूवाजस्ता पानीका स्रोत सुक्दै गएका छन् । त्यसैले पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको हो ।
नगरलाई सुक्खा हुनबाट बचाउन सुरु भएको जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको नगरप्रमुख नरूलाल चौधरीले बताए। उनले नगरमा पानीका स्रोत बचाउन पानी सङ्कलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको उल्लेख गरे । ‘नगरमा जनघनत्व बढ्दै जाँदा सहरी क्षेत्र बढ्यो । जसले गर्दा पानीका मुहानहरू सुक्दै गए । पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्नका लागि कृत्रिम जलाशय निर्माण गरेका हौँ’, उनले भने, ‘नयाँ निर्माण गरेका पोखरीमा वर्षामा पानी जम्मा गरिन्छ । जलाशय निर्माणले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षासहित हामीले काम गरेका हौँ ।’
जलाशय निर्माण भएका स्थानमा बाह्रै महिना खेती हुने गरेको सोही ठाउँका किसान बताउँछन् । घोराही क्षेत्रका जलाशय पाँच कट्ठादेखि पाँच बिघासम्म फैलिएका छन् ।
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का पानी पर्ने
चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात