अविरल वर्षा र बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
जलसरोकार
काठमाडौं : देशभर जारी अविरल वर्षाका कारण प्रमुख तथा सहायक राजमार्गहरू प्रभावित भएका छन्। पहिरो र बाढीका कारण कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा पहिरोका कारण यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। यस्तै, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ।
बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै सञ्चालन हुने बिपी राजमार्गमा सम्पूर्ण सवारी साधनको आवागमन रोकिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ ललितपुर–हेटौँडा सडकखण्ड असार २७ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा बन्द छ।
त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि असार २९ गतेदेखि पहिरोका कारण अवरुद्ध भएको छ।
गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडकखण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ।
लुम्बिनी प्रदेशका विभिन्न चार जिल्लामा पनि पहिरोले सडक सञ्जाल प्रभावित बनाएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझण्डी–ढोरपाटन सडकखण्ड असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन्।
यस्तै, गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि बन्द रहेको छ भने पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
लगातारको वर्षाका कारण थप पहिरो र सडक अवरोधको जोखिम रहेकाले सम्बन्धित निकायले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
४८ करोड चुक्ता पुँजीमा आशुतोष इनर्जीले बाँड्ने भयो ९ करोड ९ लाख नगद लाभांश
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना