अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, बिपी राजमार्गमा राति सवारी सञ्चालन बन्द
जलसरोकार
काठमाडौं : लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। बाढी, पहिरो र सडक कटानको जोखिम बढेपछि केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा समेत रोक लगाइएको छ।
प्रहरी प्रधानकार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म रातिको समयमा आवागमन बन्द रहनेछ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ।
यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षाको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
पहिरोका कारण इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्डमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोशी खोलाको कटानका कारण अवरुद्ध भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।
यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चा क्षेत्रमा नाग्म–गमगढी सडकखण्ड अवरुद्ध भएको छ भने बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर र पाल्पाको निस्दी गाउँपालिका–१ लितिपिरिङ क्षेत्रमा पहिरो खसेपछि कालिगण्डकी करिडोरका दुवै खण्डमा यातायात सञ्चालन हुन सकेको छैन।
ललितपुरको बाग्मती गाउँपालिका–३ पाङदुरस्थित कान्तिलोकपथ, रुकुमपूर्वको भूमे गाउँपालिका–३ काँडाबजारस्थित मध्यपहाडी लोकमार्ग, म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटेमा बेनी–जोमसोम सडक, साथै पर्वतको जलजला गाउँपालिका–७ केराबारीस्थित मालढुङ्गा–बेनी सडक पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबै यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर
-
ऊर्जा मन्त्रालयले जलविद्युत्का लाइसेन्स रोक्दा 'खोला व्यापारी' लाई खुदो पल्ट्यो
-
भेरी-बबईको नयाँ कार्यतालिका : २०८५/८६ भित्र सक्ने लक्ष्य, बाँध र विद्युत्गृहको काम अझै बाँकी