सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, बिपी राजमार्गमा राति सवारी सञ्चालन बन्द

जलसरोकार
बिहीबार, साउन २१, २०८३ | १०:११:४५ बजे

 

काठमाडौं : लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। बाढी, पहिरो र सडक कटानको जोखिम बढेपछि केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा समेत रोक लगाइएको छ।

प्रहरी प्रधानकार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म रातिको समयमा आवागमन बन्द रहनेछ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ।

यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षाको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

पहिरोका कारण इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्डमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोशी खोलाको कटानका कारण अवरुद्ध भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चा क्षेत्रमा नाग्म–गमगढी सडकखण्ड अवरुद्ध भएको छ भने बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर र पाल्पाको निस्दी गाउँपालिका–१ लितिपिरिङ क्षेत्रमा पहिरो खसेपछि कालिगण्डकी करिडोरका दुवै खण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

ललितपुरको बाग्मती गाउँपालिका–३ पाङदुरस्थित कान्तिलोकपथ, रुकुमपूर्वको भूमे गाउँपालिका–३ काँडाबजारस्थित मध्यपहाडी लोकमार्ग, म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटेमा बेनी–जोमसोम सडक, साथै पर्वतको जलजला गाउँपालिका–७ केराबारीस्थित मालढुङ्गा–बेनी सडक पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबै यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : बिहीबार, साउन २१, २०८३ | १०:११:४५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया