जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मौसम परिवर्तनको चपेटमा जलविद्युत्, ४५६ मेगावाटको माथिल्लो तामाकोसीको दिउँसाेको उत्पादन १५ मेगावाट

जलसरोकार
मंगलबार, चैत ०६, २०८० | १७:५८:०० बजे

 

काठमाडौं : देशकै सबैभन्दा ठूलो जलविद्युत् उत्पादन केन्द्र माथिल्लो तामाकोसी (४५६ मेगावाट) मौसम परिवर्तनको चपेटमा नराम्रोसँग परेको छ ।

फागुन–चैतको अति सुख्खायाममा माथिल्लो तामाकोसीले जडित क्षमताको १० देखि १५ प्रतिशत मात्र उत्पादन गर्न सकेको छ । दिनभरि पानी जम्मा गरेर साँझ र बिहानको पिक (बिजुली धेरै खपत हुने समय) डेढ, दुई घण्टा तीन सय मेगावाटसम्म उत्पादन हुने गरेको केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले बताए ।

उनका अनुसार आज अपरान्हमा माथिल्लो तामाकोसीले जम्मा १५ मेगावाट उत्पादन गरेको छ । तामाकोसी नदीमा जलसतह अत्यन्त कम हुन गई बिजुली उत्पादनमा उल्लेखनीय ह«ास आएको हो । तामाकोसी नदीमा यतिबेला जम्मा ११ घनमिटर प्रतिसेकेण्ड (क्यूमेक्स) पानी उपलब्ध छ । जबकि तामाकोसीको अत्यधिक बहाव ३५० देखि ४०० क्यूमेक्ससम्म हो ।

‘यही ११ क्यूमेक्सलाई पनि जोगाएर हामीले बिहान र बेलुकी बिजुली उत्पादन गर्ने गरेका छौं,’ रञ्जितले जलसरोकारसँग कुराकानी गर्दै भने, ‘आगामी चैतको अन्तिम सातातिर तामाकोसीको बहाव ७ क्यूमेक्समा झर्नेछ ।’

माथिल्लो तामाकोसीको ७० प्रतिशत जलाधार क्षेत्र तिब्बतमा पर्छ । यसपालि हिमालमा हिउँ पनि कम परेकाले स्थिति अझ डरलाग्दो रहेको रञ्जित बताउँछन् । माथिल्लो तामाकोसीमा ७६ मेगावाटका ६ वटा युनिट छन् । पानी अभावमा यी सबै युनिट सञ्चालन हुन सक्दैनन् ।

डिजाइनअनुसार माथिल्लो तामाकोसीले वर्षभरिमा २२९१ गिगावाट घण्टा (२ अर्ब २९ करोड १० लाख युनिट) बिजुली उत्पादन गर्छ । विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार माथिल्लो तामाकोसीले न्यूनतम ८० प्रतिशत सम्झौता भएको ऊर्जा उत्पादन गर्नैपर्छ । नत्र जरिवाना लाग्छ ।

खोलामा पानी सुकेकै कारण माथिल्लो तामाकोसीको वित्तीय अवस्था पनि प्रभावित हुने देखिन्छ । प्राधिकरणसँग आयोजनाले वर्षायाममा प्रतियुनिट ३ रुपैयाँ ६३ पैसा र हिउँदयाममा प्रतियुनिट ६ रुपैयाँ ९६ पैसामा पीपएि गरेको छ । निजी क्षेत्रको अन्य आयोजनामा भने वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार आजको मितिमा देशभर विद्युत् ऊर्जाको माग ३३४५० मेगावाट घण्टा (तीन करोड ३४ लाख ५० हजार युनिट) छ । कुल मागमध्ये विद्युत् प्राधिकरणको आफ्नै उत्पादन केन्द्रबाट ४४८४ मेगावाट घण्टा (४४ लाख ८४ हजार युनिट), प्राधिकरणको सहायक कम्पनीबाट २६३४ मेगावाट घण्टा (२६ लाख ३४ हजार युनिट) उत्पादन भएको छ ।

त्यसैगरी निजी क्षेत्रबाट ९९३२ मेगावाट घण्टा –९९ लाख ३२ हजार युनिट) र भारतबाट १४०८० मेगावाट घण्टा (१ करोड ४० लाख ८० हजार युनिट) आयात भएको छ । प्रणालीमा उच्चतम माग १८१२ मेगावाट छ ।

 

प्रकाशित मिति : मंगलबार, चैत ०६, २०८० | १७:५८:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया