सात वर्षदेखि सरकारी गाडी निजी प्रयोगमा ? सिंचाईंका सि.डि.ई. नारायणप्रसाद सुवेदीमाथि प्रश्न
जलसरोकार
काठमाडौं : सिंचाई विभागका सिनियर डिभिजनल इन्जिनियर नारायण प्रसाद सुवेदीले सरकारी सवारीसाधन सात वर्षदेखि निजी प्रयोजनमा प्रयोग गर्दै आएको आरोप सार्वजनिक भएको छ । विभागका कर्मचारीहरूका अनुसार उनले विभागको गाडी आफू कार्यरत कार्यालयबाट अन्यत्र सरुवा हुँदा पनि काठमाडौंमै राख्ने र आफू सरुवा भएको जिल्लामा भने कार्यालयकै अर्को गाडी चढ्ने गरेका छन् ।
साविकको जल उत्पन्न प्रकोप न्यूनीकरण विभागले २०७३ सालमा खरिद गरेको बा २ झ ३८२७ नम्बरको गाडी (हाल बीए बी १४१२) सुरुमा बबई, भादा औरही नदी व्यवस्थापन आयोजना, बर्दियालाई उपलब्ध गराइएको थियो । तर, विभागका कर्मचारीहरूका अनुसार उक्त गाडी खरिद भएदेखि नै सुवेदीले प्रयोग गर्दै आएका छन् ।
सुवेदी विभिन्न जिल्लास्थित कार्यालय प्रमुखका रूपमा कार्यरत रहँदा सम्बन्धित कार्यालयको गाडी चढ्ने र काठमाडौंमा रहेको विभागको गाडी भने आफूसँगै राख्ने गरेको कर्मचारीहरूको दाबी छ ।
अझ रोचक पक्ष, उनी काठमाडौं आएका बेला विभाग वा मन्त्रालय जानुपर्दा समेत उक्त गाडी विभागको परिसरमा नराखी बाहिरैबाट ओर्लने र ललितपुरस्थित स्टार अस्पताल नजिकै रहेको ‘बग्गी’ नामक ग्यारेजमा लुकाएर राख्ने गरेको विभागका कर्मचारीहरू बताउँछन् ।
सरकारी मापदण्डविपरीत सवारीसाधन प्रयोग ?
नेपाल सरकारको सवारीसाधनसम्बन्धी व्यवस्थाअनुसार सहसचिवस्तरका कर्मचारीलाई मात्रै सरकारी गाडीको सुविधा उपलब्ध हुने व्यवस्था छ । पछिल्लो समय सरकारले लागू गरेको सवारीसाधनसम्बन्धी मापदण्डअनुसार सहसचिवभन्दा तल्लो तहका कर्मचारीले सरकारी गाडी उपलब्ध भएमा सामूहिक रूपमा मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था छ ।
तर, उक्त मापदण्डविपरीत सुवेदीले विभागको गाडी व्यक्तिगत रूपमा प्रयोग गर्दै आएको आरोप छ ।
हाल सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरमा कार्यरत सुवेदीले उक्त गाडीका लागि बर्दियाका एकजना चौधरीलाई चालकका रूपमा राखेको विभागका कर्मचारीहरू बताउँछन् । ती चालकलाई भरतपुर कार्यालयको ‘भैपरी आउने’ शीर्षकबाट तलब भुक्तानी हुँदै आएको उनीहरूको दाबी छ ।

विभागको रेकर्डमा भरतपुर आयोजनाको गाडी
विभागका सवारीसाधनको व्यवस्थापन हेर्ने सिनियर डिभिजनल इन्जिनियर (मेकानिकल) बाबुराम खरेलले भने बीए बी १४१२ नम्बरको गाडी भरतपुर आयोजनाकै नाममा रहेको बताएका छन् ।
‘हाम्रो रेकर्डमा त्यो गाडी भरतपुर आयोजनाकै नाममा छ,’ खरेलले जलसरोकारसँग भने, ‘अब उहाँले त्यो गाडी कसरी चढ्नुहुन्छ, कसलाई दिनुहुन्छ, त्यो उहाँले नै बताउने कुरा हो ।’
तर, खरेलले उक्त गाडी भरतपुर आयोजनाको सूचीमा रहेको बताए पनि भरतपुरमा सुवेदीले प्रयोग गर्ने गाडी भने अर्कै रहेको समाचार स्रोतको दाबी छ । भरतपुरमा ५८९० नम्बरको गाडी ती चालक चौधरीले चलाउँदै आएको बताइएको छ ।
यसले विभागको अभिलेखमा रहेको गाडी र वास्तविक रूपमा प्रयोग भइरहेको सवारीसाधनबीचको सम्बन्धबारे थप प्रश्न उठाएको छ ।
आयोजना प्रमुख सुवेदीले भने आफूले सरकारी गाडीको दुरुपयोग नगरेको दाबी गरेका छन्। उनका अनुसार उक्त गाडी आयोजनाकै हो र आफूले मात्र प्रयोग गर्दै आएका छन्।
“यो गाडी आयोजनाकै हो। मैले मात्र प्रयोग गर्ने हो। मैले दुरुपयोग गरेको छैन। अहिले मर्मतका लागि काठमाडौं लगिएको छ। गाडी ग्यारेजमा राखिएको छ,” सुवेदीले जलसरोकारसँग भने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पुनर्बिमा कम्पनीको शेयरमा सकारात्मक सर्किट, नेप्सेमा सामान्य वृद्धि
-
नवीकरणीय ऊर्जालाई अनुदानमा सीमित नराखी अर्थतन्त्रको आधार बनाउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ
-
सानिमा मिडिल तमोर हाइड्रोपावरको नाफा दोब्बरभन्दा बढी, पहिलो त्रैमासमै कमायो ४२ करोड ९६ लाख
-
सात वर्षदेखि सरकारी गाडी निजी प्रयोगमा ? सिंचाईंका सि.डि.ई. नारायणप्रसाद सुवेदीमाथि प्रश्न
-
सुनको मूल्य बढ्यो, चाँदी भने घट्यो
-
खानीखोला र माया खोला हाइड्रोपावरको नाफामा उछाल, दुवै कम्पनीको वित्तीय अवस्थामा सुधार