सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

खानीखोला र माया खोला हाइड्रोपावरको नाफामा उछाल, दुवै कम्पनीको वित्तीय अवस्थामा सुधार

जलसरोकार
बुधबार, कात्तिक १९, २०८३ | १०:५१:२१ बजे

 

काठमाडाैं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खानीखोला र माया खोला हाइड्रोपावर कम्पनीले नाफामा उल्लेखनीय वृद्धि गरेका छन्। विद्युत् बिक्री आम्दानी बढ्नु र बैंकको ब्याज खर्च घट्नुले दुवै कम्पनीको वित्तीय अवस्थामा सुधार ल्याएको हो।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले असोज मसान्तसम्म ३ करोड ६५ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ८९ लाख १४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो।

कम्पनीको विद्युत् बिक्री आम्दानीमा भएको उल्लेख्य वृद्धिले नाफा सुधारमा मुख्य योगदान गरेको देखिन्छ। समीक्षा अवधिमा विद्युत् बिक्रीबाट कम्पनीले ६ करोड ८५ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ करोड ८२ लाख २१ हजार रुपैयाँ मात्रै थियो। यसअनुसार विद्युत् बिक्री आम्दानी २७६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कम्पनीका दुवै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेकाले आम्दानी बढेको हो।

आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य विस्तार भएको छ। गत वर्ष पहिलो त्रैमासमा १ करोड १५ लाख रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष बढेर ५ करोड ७३ लाख ५९ हजार रुपैयाँ पुगेको छ। अर्कोतर्फ बैंक ब्याज खर्च घटेर ९१ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही खर्च १ करोड ९३ लाख रुपैयाँ थियो।

कम्पनीको सञ्चित नोक्सानीमा समेत सुधार देखिएको छ। गत वर्ष १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष यस वर्षको असोज मसान्तसम्म घटेर ८ करोड ५८ लाख रुपैयाँ ऋणात्मक अवस्थामा आएको छ। कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख २८ हजार रुपैयाँ रहेको छ भने दीर्घकालीन ऋण ५९ करोड ४५ लाख रुपैयाँ कायम भएको छ।

नाफामा फर्किएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक अवस्थाबाट सुध्रिएर १५ रुपैयाँ ७१ पैसा धनात्मक पुगेको छ। प्रतिशेयर नेटवर्थ भने ९० रुपैयाँ ७८ पैसा रहेको छ।

यता माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा उल्लेख्य बढाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा २ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष नाफा १२४.५२ प्रतिशतले बढाएको हो।

माया खोलाको नाफा वृद्धिमा विद्युत् बिक्री आम्दानी बढ्नुका साथै वित्तीय खर्च घट्नु प्रमुख कारण देखिएको छ। समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ करोड ८० लाख रुपैयाँ थियो।

कम्पनीको कुल मुनाफा १३ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १३ करोड ३६ लाख रुपैयाँ कायम भएको छ। यसैगरी, ऋणको ब्याज भुक्तानीमा हुने खर्च पनि घटेको छ। गत वर्ष पहिलो त्रैमासमा ५ करोड ६५ लाख रुपैयाँ रहेको वित्तीय खर्च यस वर्ष घटेर ३ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ। ब्याज खर्चमा आएको कमीले कम्पनीको खुद नाफा बढाउन सहयोग पुगेको देखिन्छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। जगेडा तथा कोषमा रहेको ऋणात्मक रकम घट्दै ३२ करोड २६ लाख रुपैयाँमा झरेको छ। वित्तीय सूचकअनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ ३८ पैसा कायम भएको छ।

पहिलो त्रैमासको वित्तीय विवरणले दुवै जलविद्युत् कम्पनीको आम्दानी र नाफामा सुधार आएको देखाएको छ। खानीखोला हाइड्रोपावर घाटाबाट नाफामा फर्किएको छ भने माया खोला हाइड्रोपावरले अघिल्लो वर्षको तुलनामा नाफा दोब्बरभन्दा बढी बनाएको छ। विद्युत् उत्पादन तथा बिक्रीबाट हुने आम्दानीमा वृद्धि र ऋणको ब्याज खर्च घटाउने प्रयासले दुवै कम्पनीको वित्तीय अवस्थामा सकारात्मक प्रभाव पारेको देखिन्छ।

प्रकाशित मिति : बुधबार, कात्तिक १९, २०८३ | १०:५१:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया