सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पुनर्बिमा कम्पनीको शेयरमा सकारात्मक सर्किट, नेप्सेमा सामान्य वृद्धि

जलसरोकार
बुधबार, कात्तिक १९, २०८३ | १५:३६:४६ बजे

 

काठमाडौं : नेपाल पुनर्बिमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेसँगै बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि सामान्य वृद्धि भएको बजारले बुधबार त्यसलाई निरन्तरता दिएको हो ।

यस दिन नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको छ । तर बजारको समग्र वृद्धिका बीच सेन्सेटिभ इन्डेक्स भने २.६९ अंकले घटेको छ । त्यस्तै, फ्लोट इन्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९९ अंकले ओरालो लागेको छ ।

परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार कित्ता शेयर ५९ हजार १८५ पटकको कारोबारमार्फत किनबेच भएका छन् ।

बुधबारको बजारमा नेपाल पुनर्बिमा कम्पनीको शेयर सबैभन्दा बढी चर्चामा रह्यो । कम्पनीको शेयरमूल्य १२० रुपैयाँ २० पैसाले बढेर ९२१ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा सकारात्मक सर्किट लागेर भएको वृद्धि हो । मन्त्रिपरिषद् बैठकले कम्पनीमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेपछि लगानीकर्ताको आकर्षण बढ्दा शेयरमूल्यमा तीव्र उछाल आएको हो ।

नेपाल पुनर्बिमा कम्पनीसँगै हिमालयन रिइन्स्योरेन्सको शेयरमूल्य पनि साढे ११ प्रतिशतभन्दा बढीले बढेको छ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको शेयरमूल्यमा समेत साढे ८ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । अर्कोतर्फ सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य सबैभन्दा धेरै ६.३४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन पहिलो स्थानमा रहेको छ । कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, घोराही सिमेन्ट इन्डस्ट्रीको ५१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रिइन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

तेह्र उपसमूहमध्ये चारवटाको परिसूचक बढ्दा नौवटाको घटेको छ । अन्य उपसमूह सबैभन्दा बढी ६.१८ प्रतिशतले उकालो लागेको छ । व्यापार उपसमूह पनि एक प्रतिशतभन्दा बढीले बढेको छ भने जीवन बीमा र म्युचुअल फन्ड उपसमूहमा सामान्य सुधार देखिएको छ । बाँकी उपसमूहमा भने गिरावट आएको छ ।

समग्रमा बुधबार नेप्सेमा सामान्य अंकको वृद्धि भए पनि कारोबार रकम बढ्नु र केही कम्पनीको शेयरमूल्यमा उल्लेख्य उछाल आउनुले बजारमा कम्पनीगत आकर्षण फरक–फरक रहेको देखाएको छ ।

 

 

प्रकाशित मिति : बुधबार, कात्तिक १९, २०८३ | १५:३६:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया