गण्डक नहरमा अतिक्रमण हुँदा किसान सिँचाइ संकटमा
जलसरोकार
वीरगञ्ज: बाराको फेटाबजार नजिकै गण्डक नहरको किनारमा भइरहेको अतिक्रमणका कारण रौतहटका किसानहरू सिँचाइ संकटमा परेका छन् । पर्सा, बारा र रौतहटका दक्षिणी भेगका किसानहरू गण्डक नहरको पानीमा आश्रित छन्, तर बाराका केही स्थानीयले आफ्नै पहलमा नहरको किनारा भत्काएर उत्तरतर्फ पानी मोड्दा रौतहटसम्म पानी पुग्न अवरोध भएको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलका अनुसार फेटाबजार नजिकै डेढ किलोमिटर क्षेत्रमा पछिल्लो एक महिनामा चार पटक संरचना भत्काइएको भेटिएको छ। यसबारे बाराको स्थानीय प्रशासन र प्रहरीमा उजुरी दिइए पनि दोषीको पहिचान अझै हुन सकेको छैन ।
पानी वितरण तालिका अनुसार आइतबारदेखि मङ्गलबारसम्म पर्सामा र बुधबारदेखि शनिबारसम्म बारा तथा रौतहटका खेतमा पानी आपूर्ति गरिँदै आएको छ । तर पालोको समयमा नहरको किनारा काट्ने र साइफनमार्फत भारततर्फ पनि पानी लैजाने गतिविधि देखिनु समस्या थप गहिरो बनाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, यसलाई नियन्त्रण गर्न कर्मचारी र सुरक्षाकर्मीमार्फत पहलकदमी भइरहेको छ ।
सिँचाइ समस्यामा अर्को कारण भारततर्फको आपूर्ति कमी पनि हो। गण्डक सिँचाइ तथा जलविद्युत् योजना सम्झौताअनुसार नेपालका लागि ८५० क्युसेक पानी पठाउनुपर्ने भए पनि हाल भारतीय पक्षले केवल ७०० क्युसेक मात्र उपलब्ध गराइरहेको छ। भारतले मुख्य संरचनाको सरसफाइ नहुँदा क्षमताअनुसार पानी पठाउन नसकेको पत्राचार गरेको छ । नेपालतर्फबाट दबाब बढेपछि मात्रै यो मात्रामा पानी आपूर्ति सुरु भएको हो ।
गण्डक सिँचाइ प्रणाली १९५६ डिसेम्बर ४ मा नेपाल–भारतबीच भएको सम्झौताअनुसार विकास गरिएको हो। भारतीय सरकारले नारायणी नदीमा ब्यारेज निर्माण गरी ३७ हजार ४०० हेक्टर जमिन सिँचाइ गर्ने उद्देश्यसहित गण्डक नहर निर्माण गरी सन् १९७५–७६ मा नेपाललाई हस्तान्तरण गरेको थियो। तर हाल संरचना भत्काउने, अनधिकृत पानी मोड्ने र आपूर्ति घट्ने समस्याले रौतहटका किसानको धान खेतीमा प्रत्यक्ष असर पारेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, बिहीबार ८.९७ अंकले उकालो
-
चालु खर्च नियन्त्रणमा सरकारको जोड, संघीय खर्च ८.२१ प्रतिशतमा सीमित
-
राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च न्यून, प्रगति सन्तोषजनक
-
एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको काम सुचारु
-
वाणिज्य बैंकहरूले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरे, कुन बैंकको ब्याजदर कति ?
-
मन्दाकिनी हाइड्रोपावरको नाफा सामान्य वृद्धि, छ महिनमा ७ करोड ३१ लाख रुपैयाँको विद्युत् बिक्री