काठमाडौ : अर्थमन्त्री भएका बेला डा. युवराज खतिवडाले ‘माथिल्लो त्रिशुली–१’ को लगानीकर्ता कोरियन कम्पनीलाई १५ अर्ब रुपैयाँ कर छूट दिने निर्णय गराए । यही आयोजनाका लागि उनले ‘हेजिङ’का नाममा नेपालले ४५ अर्ब रुपैयाँ बेहोर्ने गरी कोषको बन्दोबस्त गरिदिए ।
कुनै पनि कर छूटसम्बन्धी निर्णय आर्थिक ऐनमार्फत् मात्रै हुन्छ । तर खतिवडाले ठाडो प्रस्तावमै मन्त्रिपरिषदबाट निर्णय गराएका हुन् । हिजो खिम्ती र भोटेकोसीको अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने तत्कालीन एमाले, कांग्रेस र राप्रपालाई पनि डा. खतिवडाले उछिनेर राज्यको सीमित स्रोतको दोहन गरिदिए ।
विदेशी लगानीका आयोजनामा विदेशी विनिमयको जोखिम आफैले बेहोर्नुपर्ने सामान्य सिद्धान्तविपरीत डलरमा आउने उतारचढावको जोखिम जति राज्यको थाप्लामा डा. खतिवडाले पारिदिए । माथिल्लो त्रिशुली–१ को कोरियन प्रवर्द्धकले जम्मा एक तिहाई बेहोर्ने (त्यो पनि निःशुल्क बिजुली दिने भन्ने प्रस्ताव) र दुई तिहाई नेपाल सरकारले बेहोरिदियो । यस्तो सुविधा अरु कुनै पनि आयोजनाले पाएको उदाहरण छैन ।
अर्थ मन्त्रालयका अधिकारीहरु यसलाई ‘नीतिगत भ्रष्टाचार’को पराकाष्ठाको रुपमा लिन्छन् । किनभने समान प्रकृतिका जलविद्युत् आयोजनाले कर छूट नपाउने तर माथिल्लो त्रिशुली–१ ले पाउने किन भन्ने प्रश्न स्वतः उठेको छ । जबकि माथिल्लो त्रिशुली १ को लागत नै दोब्बरभन्दा बढी पारिएको छ । यसको खास लागत ३५ अर्ब रुपैयाँ हो । यसको लागत देखाइएको छ ६५ करोड अमेरिकी डलर (हालको मूल्यमा ७६ अर्ब ७० करोड रुपैयाँ) । जबकि स्वदेशी लगानीकर्ताले पनि विदेशबाट रकम ल्याएर लगानी गरेका हुन्छन्, उनीहरुका लागि हेजिङको बन्दोबस्ती छैन ।
राज्यको धनमा चाँदी कटाईमा पर्ने माथिल्लो त्रिशुली–१ मात्र होइन, अधिकांश विदेशी लगानीका आयोजनाले नेपालको दोहन गरेका छन् । लगानी बोर्डको अगुवाईमा हुने पीडीए यसको ज्वलन्त उदाहरण हो, जहाँ विदेशी लगानीका आयोजनालाई जोखिम शून्य बराबर पारिएको छ । जोखिम उठाएबापत पाउने पारितोषक नाफा हो । तर विदेशी लगानीका आयोजनालाई नेपालमा खासै जोखिम उठाउनु पर्दैन भन्ने देखिएको छ ।
सरकारले सुरुमा ५०० मेगावाटभन्दा माथिका आयोजनालाई ‘आयोजना विकास सम्झौता’ (पीडीए) गर्ने भनेको थियो । पछि त्यो पाँच सय मेगावाटभन्दा मुनिका आयोजनालाई पनि गरियो । पीडीए गर्न पाउने भाग्यमानी आयोजना फेरि पनि उही माथिल्लो त्रिशुली–१ परेको छ । २१६ मेगावाटको यो आयोजना सरकारकै नीतिविपरीत पीडीए गरियो । पाँच सयभन्दा मुनिका अन्य आयोजना पनि पीडीएका क्रममा छन् ।
कर छूट र पीडीए मात्र होइन, स्वदेशीका लागि राज्यले विद्युत् खरिद सम्झौता (पीपीए) मा पनि भेदभाव गरेको छ । विदेशी लगानीका आयोजनाका लागि अमेरिकी डलरमा पीपीए हुँदै आएको छ । खिम्ती, भोटेकोसी, माथिल्लो मर्स्याङ्दी‘ए’, माथिल्लो त्रिशुली–१, तिला–१ र तिला–२ आदि । यसरी हुने डलर पीपीएमा वार्षिक वृद्धिदर पनि उच्च हुन्छ । जबकि स्वदेशीलाई नेपाली रुपैयाँमा तोकिएको दरमा र तोकिएको मूल्य वृद्धि हुन्छ । यसबाहेक, विदेशीका लागि ‘टेक अर पे’ (उत्पादित बिजुली खरिद गर्ने ग्यारेन्टी, खरिद नगरेमा त्यसको पैसा तिर्नुपर्ने) पीपीए हुन्छ ।
स्वदेशीका लागि ‘टेक एण्ड पे’ (भुक्तानीका ग्यारेन्टी नभएको, प्राधिकरणले चाहेमा मात्र लिने) पीपीए हुन्छ । विदेशका लागि प्राधिकरणले भुक्तानी गरेन भने राज्यले तिरिदिने जिम्मा लिएको छ भने स्वदेशीका लागि यस्तो सुविधा छैन ।
राज्यको विभेद यत्तिमा सीमित छैन । विदेशी लगानीकर्ताका आयोजनासम्म पुग्ने पहुँच मार्ग निर्माण राज्यले गरिदिन्छ । विदेशी लगानीकर्ता आफैँले प्रवेश मार्ग बनाउन चाहे त्यसको शोधभर्ना राज्यले गरिदिने नीति छ । यस्तो नीति ल्याउने लगानी बोर्ड हो ।
प्रवेश मार्ग मात्र होइन, विदेशी लगानीवालाले बनाएको आयोजनानिम्ति प्रसारण लाइन राज्यले बनाइदिन्छ । स्वदेशीले आफैले बनाउनुपर्छ । खिम्तीको लाइन प्राधिकरणले बनाइदिएको थियो । विदेशी लगानीका प्रवर्द्धक आफैले प्रसारण लाइन बनाए त्यसको शोधभर्ना राज्यले गरिदिने नीतिगत व्यवस्था छ ।
स्वदेशी र विदेशी लगानीमा कहाँसम्म भेदभाव छ भने विदेशीवालाले आयात गरेको सामानमा कर, भन्सार लाग्दैन । स्वदेशी लगानीकर्ताले कुनै गाडी आयात गर्दा २३० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । तिर्दै आएका पनि छन् । विदेशी लगानीकर्ताले उत्पादन गरेको बिजुली जहाँसुकै लैजान वा निर्यात गर्न पाउँछ । स्वदेशका लगानीकर्ताले विद्युत् प्राधिकरणबाहेक अरुलाई दिन पाउँदैनन् । ठाउँ पनि छैन ।
यी सबै गरेर मात्र पुगेको छैन । विदेशी लगानीवालाले आयोजना बनायो भने प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान राज्यले दिन्छ, जुन कुरा पीडीएमा लेखिएको हुन्छ । स्वदेशीले यस्तो सुविधा पाउँदैनन् । ऊर्जा संकट घोषणाअनुसार संसदबाट पारित भएको स्वदेशी लगानीको भ्याट फिर्ता र प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने निर्णय कार्यान्वयन हालसम्म भएको छैन ।
आयोजना निर्माणका क्रममा वन क्षेत्रमा रुख काट्नुपर्ने हुन्छ । स्वदेशी वा राज्यकै स्वामित्व रहेको विद्युत् प्राधिकरणले कुनै एउटा रुख काट्नु पर्यो भने इलाका वन, डिभिजन वन, क्षेत्रीय (हाल प्रदेश) वन, विभाग, मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुग्नुपर्छ । एउटा फाइल मन्त्रिपरिषद् पुग्न न्यूनतम दुई वर्ष लाग्छ । तर विदेशी लगानीका आयोजनाले रुख काट्नुपर्यो भने ठाडै मन्त्रिपरिषदमा फाइल पुर्याएर निर्णय गरिन्छ ।
अझ पूर्व माओवादीको भागमा परेका ऊर्जा, वन जस्ता मन्त्रालयबाट रुख कटानसम्बन्धी गएका फाइल प्रधानमन्त्री केपी ओलीले रोक्ने वा फिर्ता गर्ने गरेका छन् । विदेशी लगानीका आयोजनास्थलमा स्थानीयले चियाउनसमेत पाउँदैनन् । राज्यले सेना, सशस्त्र र नेपाल प्रहरीको राम्रै बन्दोबस्त गरिदिएको हुन्छ । स्वदेशीले यस्तो सुरक्षा सेवा पाउन हम्मे पर्छ ।
यसैगरी जलविज्ञानसम्बन्धी दण्ड (हाइड्रोलोजिकल पेनाल्टी) मा पनि व्यापक भेदभाव छ । खोलामा पानी नै नभए पनि पानी छ भन्ने देखाएर बढी ऊर्जा उत्पादन गरेको भन्दै पीपीएको दोब्बर मूल्य असुल्ने खिम्तीको उदाहरण अग्रपंक्तिमा आउँछ ।
स्वदेशी प्रवर्द्धकले उत्पादन गरेका आयोजनामा सम्झौता गरिएको ऊर्जाभन्दा कम उत्पादन भएमा दण्ड लाग्छ । सम्झौताभन्दा बढी उत्पादन भएमा त्यसको पैसा पाउँदैनन् । तर विदेशीका हकमा जलविज्ञानजन्य दण्डलाई उन्मुक्ति दिइएको छ । बिजुली प्रसारण हुँदा हुने प्राविधिक चुहावट (लस) पनि विदेशीले बेहोर्नुपर्दैन । स्वदेशीका लागि प्रसारण लस १२ प्रतिशतसम्म लाग्छ ।
विद्युत् उत्पादन अनुमति (लाइसेन्स) मा पनि यस्तै भेदभाव छ । विदेशको लाइसेन्स अवधि जति पनि हुन्छ वा भनौ बढी नै हुन्छ । तर स्वदेशीको किटानै गरिएको छ– ३५ वर्ष । जबकि विदेशीको ५० वर्षसम्म लाइसेन्स दिइएको छ— खिम्तीमा ।
विदेशीले आयोजना हात पार्न कुनै प्रतिस्पर्धा गर्नुपर्दैन । प्रधानमन्त्री र ऊर्जा मन्त्रीले चाहेको व्यक्ति वा कम्पनीलाई विद्युत् ऐनको दफा ३५ प्रयोग गरी ठाडै दिइन्छ । तर स्वदेशीले लाइसेन्स लिन प्रतिस्पर्धा गरी राज्यलाई अधिकतम शुल्क तिरी कलिनुपर्छ । यति मात्र होइन, विदेशी लगानीका आयोजनालाई चाहिने विस्फोटक पदार्थ सरकार आफैले उपलब्ध गराइदिन्छ । स्वदेशी लगानीलाई दसवटा निकायतिर धाइरहनुपर्छ ।
नाेट : पत्रकार विकास थापा द्वारा लिखित विचारहरूकाे संग्रह
मंसिर २९, २०७७ सोमवार १६:३७ बजे
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का