नेपालजस्तो विद्युत् माग तथा आपूर्ति असन्तुलन भएको मुलुकका लागि पम्प स्टोरेज आयोजनाहरुको सम्भाव्यता उच्च भएको अनुमान गरिए पनि यस बिषयमा खासै अध्ययन अनुसन्धान भएको पाइँदैन । धेरै जलश्रोतविदहरु यस्तो सम्भावनालाई नकार्न नसके पनि यसको समर्थन पनि गर्दैनन् । पम्प स्टोरेज आयोजनालाई धेरैले सौताको जस्तो व्यबहार गर्छन् । पम्प स्टोरेज आयोजनाको मुख्य सुन्दरता भनेको के भने यस्तो आयोजनाको लागि कुनै थप पानीको आवश्यकता पर्दैन । यस्ता आयोजनाको नेपालजस्तो पहाडी भू–बनौट भएको ठाउँमा प्राकृतिक रुपमा नै प्रचूर सम्भावना हुन्छ तर यो गहन रुपमा सम्भाव्यता अध्ययनको विषय अझै बनेको छैन ।
पम्प स्टोरेज आयोजनाहरु प्रत्येक प्रकारका जलविद्युत् आयोजनाहरुमा थप लाभकारी हुन्छन् । यस्तो लाभको मात्रा साधारण आयोजनालाई बहुउद्देश्यीय बनाउने सम्भावनासँग एकदमै नजिकबाट जोडिएको हुन्छ । विभिन्न प्रकारका जलविद्युत् आयोजनाहरुमा पम्प स्टोरेज आयोजनाको संयोजनबारे तलका हरफहरुले थप पुष्टि गर्छन् ।
साधारण नदीमा आधारित जलविद्युत् आयोजनाहरुमा विद्युत्को न्यूनतम माग भएको रातिको समय वा अर्को कुनै समय वा ऊर्जाको न्यूनतम मूल्य भएको समयमा नदीको केही पानी पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको पोखरीमा भण्डारण गरी ऊर्जाको अत्यधिक माग भएको वा अर्को कुनै उचित समयमा वा ऊर्जाको अत्यधिक भाउ भएको समयमा यसरी भण्डारण गरेको पानीको प्रयोग गरी करिब–करिब नदीकै सतहमा निर्माण गरिएको विद्युत् गृहमा जडान गरिएको विद्युत् उत्पादन उपकरणको प्रयोग गरी थप विद्युत् उत्पादन गर्न सकिन्छ । साधारण नदीमा निर्माण गरिने यस्तो पम्प स्टोरेज आयोजनाको मुख्य विशेषता भनेको नै साधारण नदीमा आधारित जलविद्युत् आयोजनालाई आयोजनाको मूल सिभिल संरचनामा केही परिवर्तन नगरी अर्धजलाशययुक्त (पिकिङ) आयोजनामा रुपान्तरण गर्ने हो । यस्ता आयोजनाहरुबाट उत्पादन हुने विद्युत्को उत्पादन वर्षातको समयमा अत्यधिक हुने तर खास गरेर रात्री समयमा न्यूनतम माग हुनसक्ने भएकाले सो अवस्थाको फाइदा उठाउन यस्ता आयोजनाहरुमा जडित पम्प मार्फत पम्पस्टोरेज आयोजनाको लागि निर्माण गरिएको पोखरीमा पानी भण्डारण गरी सो पानीलाई जलविद्युत्को सट्टा कृषिमा प्रयोग गर्न सकेमा यसबाट विद्युत्बाट भन्दा अधिक आर्थिक फाइदा लिन सकिन्छ । यसरी, साधारण नदीमा आधारित जलविद्युत् आयोजनालाई अर्धजलाशययुक्त बहुउद्देश्यीय आयोजनामा परिणत गरी माथि उल्लेख गरिएझंै थप फाइदा लिन सकिन्छ ।
अर्धजलाशययुक्त आयोजनामा आधारित पम्पस्टोरेज आयोजनाको मुख्य उद्देश्य भनेको सो अर्धजलाशययुक्त आयोजनाबाट बिजुलीको उच्चतम माग भएको समयमा अत्यधिक ऊर्जा (इनर्जी, वा पावर वा दुवै) उत्पादन गर्नसक्ने क्षमता थप पानीको आवश्यकताबिना नै गर्न सक्ने बनाउने हो । अर्धजलाशययुक्त आयोजनाहरुमा पम्प स्टोरेज आयोजनाको विद्युतको उच्च माग भएको समयमा थप विद्युत् उत्पादनमा अलि कम उपयोगिता हुने भए पनि हिउँदको समयमा केही हदसम्म दिउसोको बेस लोडको समयमा जलविद्युत् उत्पादनमा र वर्षातको समयमा यस्तो सुविधालाई खाद्य उत्पादनमा प्रयोग गरी अत्यधिक लाभ लिन सकिन्छ । अर्धजलाशययुक्त आयोजनाहरुको अनुकूलन गर्दा रात्रिको समयको पानी जलाशयमा जम्मा गरी बिहानको समयको अधिक माग हुने समयमा विद्युत्को आपूर्ति गर्ने गरी साधारणतया गरिने परिपाटी भएकाले यस्ता आयोजनाहरुमा आधारित पम्प स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन तथा अनुकुलन गर्दा यस्तो आयोजनाबाट हुन सक्ने दिउँसोको समयको विद्युत् उत्पादन र थप कृषि उत्पादनबाट हुन सक्ने मुनाफासमेतको सही हिसाब हुन आवश्यक देखिन्छ ।
पम्प स्टोरेज आयोजना र जलाशययुकत आयोजनालाई संयोजन गरी सञ्चालन व्यवस्थापन गर्न सके नेपालजस्तो पहाडी देशको ऊर्जा क्षेत्रमा कायापलट गर्न सकिन्छ । यस्तो कायापलट हुन सक्ने स्थितिको सिर्जना तल्लो तटीय क्षेत्रका वासिन्दाहरुको जोखिममा केही पनि वृद्धि नगरी गर्न पम्प स्टोरेज आयोजनाको माध्यमबाट मात्र सम्भव हुन्छ । जलाशययुक्त आयोजनाका जलाशयमा भण्डारण गरिएको पानीलाई पटक–पटक पुनर्प्रयोग गरी यस्तो सम्भावनालाई वास्तविकतामा परिणत गर्न सकिन्छ ।
उदाहरणका लागि कुलेखानी जलाशयका वरिपरीका पहाडी क्षेत्रहरुका उच्च भागमा अवस्थित विभिन्न समतल जग्गामा पम्प स्टोरेज आयोजनाका लागि अनेकन साना ठूला पानी भण्डारण गर्ने पोखरी निर्माण गर्ने सम्भावना रहेको हुन सक्तछ । यस्तो संभावनाको पहिचान गरी अधिकभन्दा अधिक यस्ता पोखरीहरुको निर्माण र सो पोखरीहरु मार्फत विभिन्न पम्प स्टोरेज जलविद्युत् योजनाहरुको निर्माण र संचालन गर्दा जलाशययुकत आयोजनासँग गासिएको जोखिम नबढ्ने तर पम्प स्टोरेज आयोजनाहरुबाट यस्तो व्यवस्था गरिएको सिस्टमको विद्युत् उत्पादन क्षमता जलाशयमा सञ्चिित पानीको पुनर्प्रयोगबाट नै अत्यधिक रुपमा बढाउन सकिन्छ । यसरी निर्माण गरिएका पानी पोखरीहरुको आवश्यकता अथवा पम्प स्टोरेज जलविद्युत् आयोजनाको आवश्यकता वर्षातको समयमा त्यत्तिको नहुने अवस्थामा सोही पोखरीहरुमा वर्षातको भल पानी संकलन गरी सो पानीलाई वरिपरि अवस्थित खेतीयोग्य जमिनमा प्रयोग गर्न सके सोही लागतमा थप कृषि उत्पादन पनि गर्न सक्ने सम्भावना रहन्छ ।
यस्तो पम्प स्टोरेज आयोजनाको सीमा (लिमिटेशन) भनेको यस्तो आयोजना केवल दैनिक रुपमा ऊर्जाको उच्चतम मागको आपूर्तिका लागि मात्र उपयुक्त हुन्छ, यसले पानीको दैनिक नियमन मात्र गर्न सक्तछ । तर, यस्तो आयोजनाको सुन्दरता नै यही हो । किनभने, दैनिकभन्दा लामो समयको नियमनका लागि पोखरीको क्षमता अत्यधिक रुपमा बढाउनु पर्ने हुन्छ र यस्तो अवस्थाले आयोजनाको जोखिमलाई निकै बढाउन सक्तछ ।
तर पम्प स्टोरेज आयोजनाका लागि निर्मित संरचनाहरु प्रयोग गरी नदीभन्दा निकै माथि अवस्थित जग्गाहरुमा यसरी पम्प गरेर माथि लगेको पानीलाई केही सानोतिनो लागतमा खेतीमा प्रयोग गरी खाद्य उत्पादनबाट अधिकतम लाभ लिन पनि सकिन्छ । त्यसैले, वर्तमान समयमा बिद्यमान रहेका जलविद्युत् आयोजनास्थल वरपर पम्प स्टोरेज आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अधिकतम लाभ लिनु आजको नेपालको आवश्यकता हो ।
यसबाहेक, नेपालमा विभिन्न अन्य ३ प्रकारका पम्प स्टोरेज (विद्युत्) आयोजनाहरुको सम्भाबना देखिन्छ । यस्ता आयोजनाहरुमाः
१. उच्च पहाडी क्षेत्रमा नदीको माथिल्लो भागमा रहेका केही समतल जमिनहरुलाई पोखरी बनाउने कार्यमा प्रयोग गरी साधारण पम्प स्टोरेज आयोजनाको निर्माण गर्न सकिन्छ ।
२. नेपालका उच्च पहाडी क्षेत्रमा प्राकृतिक रुपमा अवस्थित तालहरुमा आधारित पम्प टोरेज आयोजना, जस्तै रारा ताल, से–फोक्सिन्दो ताल, तिलिचो ताल, श्यार्पु दह आदि ।
३. नेपालका हिमाली क्षेत्रमा अवस्थित हिमतालहरु, खास गरेर छिटो गतीमा बढदै गरेका हिमतालहरु जस्तै इसिमोडले हालसालै पहिचान गरेका यस्ता करिव २० वटा हिमतालहरु, त्सो–रोल्पा हिमताल, थुलागी हिमताल आदि ।
माथि उल्लिखित उच्च हिमाली तालतलैयाहरुमध्ये प्रस्तावित विद्युत् गृहस्थलसम्म मोटर बाटो पुगेको स्थानमा वा सो स्थान नजिकै बाटो पुगेको अवस्थामा यस्ता हिमाली तालमा आधारित पम्प स्टोरेज आयोजनाहरुको निर्माण गर्न सकिन्छ । यसै पंक्तिकारको संलग्नतामा केही त्यस्ता पम्प स्टोरेज आयोजनाहरुको सर्वे अनुमतिपत्रको लागि आवेदन दिने कार्यसम्म गरिएको भए पनि नेपालको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा अन्य संरक्षित क्षेत्रलगायत क्षेत्रहरुमा विकासको काम गर्न नदिने गलत नीतिका कारण यस विषयमा प्रवेश पाउन पनि सम्भव भएन । यस्ता उच्च क्षेत्रमा अवस्थित सम्भावित पम्प स्टोरेज आयोजनाहरुको पहिचान रारा ताल, तिलिचो ताल, श्यार्पु दहमा गरिएको तथा त्सो–रोल्पा हिमतालमा पनि गरिएको थियो ।
रारा तालमा प्रस्तावित पम्प स्टोरेज आयोजनाको मुख्य आधार यस तालमा वर्षातको समय तथा हिउँदको समयमा साधारणतया प्राकृतिक रुपमा हुने पानीको सतहको फरक थियो । यस्तो आयोजनाको सञ्चालन तालमा प्राकृतिक रुपमा हुने पानीको अधिकतम र न्यूनतम सतहबीचको पानी प्रयोग गरी सो पानीलाई नजिकैबाट बग्ने मुगु कर्णालीमा खसाउँदा करिव १३०० मिटरको हेड प्राप्त हुने तथा बाह«ै महिना चौबीसै घण्टा चलाउने हिसाबले आयोजना डिजाइन गर्दा करिव १० मेगावाट जलविद्युत् जडित क्षमता बनाउन सकिने र यस्तो आयोजनाले कर्णाली क्षेत्रका अति दुर्गम स्थानका विपन्न नेपाली जनताको जीवनस्तरमा नाटकीय सुधार गर्न सकिने कुरालाई हचुवाका भरमा गलत नीति बनाई कर्णालीका जनतालाई यस्तो सुविधाबाट बञ्चित गर्ने अराष्ट्रिय नीति खारेजीको भागी हुनुपर्छ । किनभने, कुनै पनि राष्ट्रिय नीतिले मानिसको भोकाएको बच्चाको मुखमा जान लागेको आहार वन्यजन्तुका मुखमा हाल्ने कार्य गर्दछ भने त्यस्तो नीति सर्वथा गलत तथा त्यस्तो नीतिका नीतिकार सजायको भागी हुनुपर्छ । यसको मतलव वन्यजन्तुको संरक्षण नगर्ने भन्ने होइन तर यस्तो संरक्षण र स्थानीय विकास एक अर्काको दुश्मन होइन, साथी र सहयात्री हुनुपर्छ । नेपालका प्राय सवै संरक्षित क्षेत्रहरुको त्यस्तै हालत छ । के यही हो राष्ट्रले चाहेको ? यसैका लागि जनताले लोकतन्त्र ल्याएको हो ??
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का पानी पर्ने
चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात