सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दैलेखको ग्यास र नेपाली आशा

गोविन्द शर्मा पोखरेल
शुक्रबार, चैत ०६, २०८२ | १४:२४:०१ बजे

नेपालमा प्राकृतिक तेल र ग्यासको खानीको अध्ययन अनुसन्धान सुरु भएको धेरै दशक भइसक्यो। सुरुवातमा यो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गहिरो छिद्र (बोरहोल) बनाई काठमाडौं खाल्डोभित्रको प्राकृतिक ग्यासको प्रकार, परिमाण, अवस्थितिको अध्ययनमा केन्द्रित थियो। काठमाडौंका विभिन्न स्थानमा यस्ता प्राकृतिक ग्यासका भण्डारबाट सिधै ग्यास निकाली विभिन्न व्यक्ति तथा संस्थाले ग्यासको प्रयोग गरेको कुरा पनि विभिन्न समयमा मिडियाहरुले प्रसारित गरेका छन्। तर हालसम्मको अध्ययनको नतिजाले काठमाडौं उपत्यकामा पाइएको प्राकृतिक ग्यास व्यावसायिक रुपमा उत्खननयोग्य नदेखिएरै होला यो श्रोतको उत्खननमा कुनै सरकारी वा निजी क्षेत्रले यस विषयमा थप चासो नदेखाएको।

यसैगरी नेपालको तराईका विभिन्न स्थानमा नेपाल सरकारको अगुवाईमा विभिन्न अन्तर्राष्ट्रिय निजी क्षेत्रका पेट्रोलियम व्यावसायी संस्थाहरुमार्फत पेट्रोलियम पदार्थको अध्ययन अनुसन्धान गरिएको थियो, तर उक्त अध्ययन अनुसन्धान कार्य केही वर्षदेखि ठप्प भएको मेरो बुझाइ छ। यसबारे विभिन्न छापा तथा मिडियाले विभिन्न प्रकारका सूचनाहरु सामाजिक सञ्जालमा उपलब्ध गराएका छन तर यस विषयमा नेपाल सरकारका सो कार्य गर्ने गराउने आधिकारिक संस्थाहरु यस विषयमा मौन छन्। पेट्रोलियम पदार्थको व्यावसायिक परिमाणमा उपलब्धता एक व्यापारिक वा आर्थिक कुरा मात्र होइन, यसको गहिरो सामरिक तथा भू-राजनैतिक पाटो सवैभन्दा शक्तिशाली पाटोका रुपमा हेर्नुपर्ने कुरा वर्तमान इतिहासले समेत टड्कारो रुपमा देखाउँछ। त्यसैले, सुरु गरिएको अध्ययन अनुसन्धान हठात रोकिनुले ठूलो प्रश्न खडा गरेको छ- किन? र शंका गर्ने ठाँउ पनि प्रदान गरेको छ।

नेपालका अन्य स्थानहरुमा पनि प्राकृतिक ग्यास पाइएको छ, जस्तै कि मुस्ताङको मुक्तिनाथ क्षेत्र। मुक्तिनाथ क्षेत्रमा ग्यासमा अखण्ड बत्ती बालिएको छ धेरै समयदेखि। पहिले पहिले यस स्थानमा अध्ययन अनुसन्धान गर्न पहुँच मार्ग नहुनाले त्यत्ति सजिलो थिएन, तर अब त वास्तवमा सरकारले चाहने हो भने अध्ययन अनुसन्धानको थालनी गरे हुन्छ। यथेष्ट अध्ययन अनुसन्धान पछि मात्र यसबारे थप कुरा गर्न सकिन्छ।

त्यस्तै नेपालमा विभिन्न ठाँउमा तातोपानीका कुण्डहरु रहेका तथा तिनीहरुमध्ये प्रायजसो कुण्डहरु तथा प्राकृतिक तातोपानीका धाराहरु स्थानीय तथा स्थानीय पर्यटकहरुको आकर्षणका रुपमा रहेका पाइन्छन। यस्ता तातोपानीका श्रोतहरु अधिकतर रुपमा मिनेरलाइज्ड हुने हुनाले तिनीहरुमा धेरै किसिमका रोग निको पर्ने क्षमता हुन्छ। खास गरेर चर्मरोगका लागि यस्ता पानीका श्रोतहरु निकै उपयोगी भएको कुरा विश्वका विभिन्न ठाँउहरुमा रहेका त्यस्तै प्रकारका श्रोतहरुबारे उल्लेख गरिएको पाइन्छ।

दैलेखस्थित पेट्रोलयम खानीमा पेट्रोलियम पदार्थ होइन तर प्राकृतिक ग्यासको भण्डार रहेको कुरा हालसालै नेपाल सरकारले चिन सरकारको सहयोगमा गरिएको सो स्थानको अनुसन्धानले देखाउँछ। तर, उक्त श्रोतको अघिल्लो चरणको उत्खनन सकिएको पनि निकै समय भइसक्यो तैपनि नेपाल सरकार यस स्थानमा थप अनुसन्धान गर्न गराउन त्यति उत्साहित भएजस्तो देखिदैन। यस स्थानमा रहेको प्राकृतिक ग्यासको परिमाण करिव ८० करोड घनमिटर रहेको पनि यस अघिको अनुसन्धानले देखाएको छ। करिब ४ किलोमिटर गहिराइमा रहेको यस परिमाणको ग्यास खानी साधारणतया आर्थिक रुपमा सम्भाव्य हुनसक्तछ। यसलाई कम आकर्षक बनाउन केवल उक्त ग्याससँग मिसिएका अन्य सम्भावित ग्यास वा तरल पदार्थहरुले मात्र सक्तछन। तर, यस खानीमा त्यस्तो हानिकारक वा घातक वस्तु रहेकोबारे केही उल्लेख नगरिएबाट यो ग्यास साधारण रुपमा उपलब्ध छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ। दैलेखमा गरिएको अन्वेषण प्रारम्भिक अन्वेषण हो, थप विस्त्रृत अध्ययन अनुसन्धानले यस श्रोतको बारेमा थप तथ्यांक उपलब्ध गराउने नै छ। त्यस्ता तथ्यांकले दैलेखको ग्यास खानीको उत्खननयोग्यता वा त्यसको आर्थिक-सामाजिक-वातावरणीय मुल्याङ्कन प्रस्तुत गर्नेछन नै। यस्तो आर्थिक-सामाजिक-वातावरणीय मूल्याङ्कनले उक्त खानीको सही आकर्षकता देखाउछ नै। तर माथि उल्लेख गरिए झै यस्तो प्रकारको प्राकृतिक श्रोतको आर्थिक-सामाजिक-वातावरणय पक्ष मात्र होइन अपितु यसको सामरिक तथा भूराजनैतिक महत्वसमेत हुने हुनाले यस बहुमूल्य श्रोतबारे अविलम्ब आवश्यक थप अन्वेषण अनुसन्धान गरी यसको अधिकतम उपयोग गर्नु नेपालको हितमा हुने मेरो विश्वास छ।

यस्तो ग्यासको प्रयोग खाना पकाउने अलावा गाडी चलाउन, ऊर्जा उत्पादन गर्न, रासायनिक मल उत्पादन गर्न आदि विभिन्न कार्यमा गर्न सकिन्छ। ठूलो वस्ती वा सहर नजिक रहेका यस्ता प्राकृतिक श्रोतको उपयोग धेरै सजिलो हुन्छ भने दैलेख जस्तो ठूला सहरबाट अलि टाढा रहेका, प्राय पातलो वस्ती भएका स्थानहरुमा ग्यासलाई थिचेर (कम्प्रेस गरेर) सिलिण्डरमा भर्ने (एलपिजी जस्तै तर एलपिजीको सिलिण्डर सानो हुन्छ ग्यास तरल अवस्थामा हुने हुनाले तर प्राकृतिक ग्यासको सिलिण्डर निकै ठूलो हुन्छ, ग्यास ग्यासै अवस्थामा हुने हुनाले) र सिलिण्डरमार्फत प्रयोग गर्ने प्रचलन छ। पातलो आवादी भएकाले ग्यास उत्खनन क्षेत्र नजिक पाइपलाइनबाट ग्यास उपलब्ध गराउन अलि खर्चिलो होला जस्तो मेरो अनुमान छ। सिलिण्डरमा भरेर खपतहुने स्थानसम्म ढुवानी गर्नुपर्ने भएकाले पहुँचमार्गको उपयुक्त तवरले स्तरोन्नति गर्नुपर्ने हुन्छ, यसको मरमत संभार पनि महंङ्गो नै हुन्छ। यी सवै प्यारामिटरले उत्खनन गरिएको ग्यासको आर्थिक पक्ष देखाँउछन। तर, मेरो विचारमा यस ग्यास खानीलाई सकेसम्म चाँडो उत्खननयोग्य बनाई पहिलो चरणमा सानो क्षमतामा चलाउने र दोश्रो चरणमा यसलाई पूर्ण क्षमतामा चलाउने गरी व्यवस्थापन गर्न उपयुक्त देखेको छु।

दैलेखको ग्यासको प्रयोगका लागि उत्खननमा संलग्न चिनिया प्रविधि तथा लगानी अन्तर्गत नै रहेर  पहिलो चरणमा सानो परिमाणको ग्यासमा आधारित विध्युत गृह को निर्माण गरी सकेसम्म चाँडो संचालनमा ल्याउने ता कि नेपालको विद्युत् प्रणालीले खेप्नु परेको हालको अवस्थामा तत्काल केही सुधार हुन सकोस। दोश्रो चरणमा यस ग्यास खानीमा आधारित करिव २,००० मेगावाट क्षमतासम्मको तापीय विद्युत केन्द्र स्थापना गरी नेपालको हालको सुख्खायामको साधारण मागसहित उच्चतम माग हुने पिक समयको माग व्यवस्थापन गर्न उचित देख्छु। यस्तो तापिय विद्युत केन्द्रको निर्माण गर्न सालाखाला २ वर्ष लाग्ने हुनाले नेपालको विद्युत् प्रणालीमा सुख्खायाममा हाल प्रक्षेपण गरिएको २५०० मेगावाट तथा आगामी २ वर्षमा थपिने करिव ५०० मेगावाट गरी जम्मा ३००० मेगावाटको पिक समयको माग धान्न प्रणालीमा आगामी २ वर्षमा अपुग देखिने करिव १,५०० मेगावाट यसै तापीय केन्द्रबाट उपलव्ध गरी माग व्यवस्थापन गर्न उचित देख्छु।

अस्तु........

प्रकाशित मिति : शुक्रबार, चैत ०६, २०८२ | १४:२४:०१ बजे

लेखकको बारेमा

गोविन्द शर्मा पोखरेल
वरिष्ठ फेलो, नेपाल पानी सदुपयोग फाउण्डेशन

प्रतिक्रिया