जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपालमा वायु प्रदूषण स्वास्थ्यका लागि नम्बर एक जोखिम कारक : विश्व बैंक

जलसरोकार
बुधबार, असार ०४, २०८२ | १३:०५:३५ बजे

काठमाडौं :  नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको पहिलो जोखिम कारक हो। कुनै पनि स्वच्छ वायु लक्ष्य हासिल गर्न एकल क्षेत्रीय समाधानहरू पर्याप्त छैनन्। सार्वजनिक नीतिहरू र लगानीले सबै क्षेत्रहरूमा वायुको गुणस्तर सुधार गर्ने उपायहरूलाई समायोजन गर्नुपर्ने, र लागत-प्रभावकारी उपायहरूलाई प्राथमिकता दिनुपर्ने विश्व बैंकले नयाँ प्रतिवेदनमा उल्लेख गरेको छ।

'नेपालमा स्वच्छ वायुतर्फ: लाभ, प्रदूषणका स्रोतहरू, र समाधानहरू' शीर्षकको उक्त प्रतिवेदनले नेपाल र इन्डो-ग्याङ्गेटिक समथर भूभाग तथा हिमाली फेदी (IGP-HF) को वायुमण्डलीय क्षेत्रको वायु प्रदूषणको आधारभूत मूल्याङ्कन प्रस्तुत गरेको छ।

काठमाडौं उपत्यका र तराई क्षेत्र नेपालका वायु प्रदूषणका मुख्य केन्द्रबिन्दु हुन्, जसमा पछिल्लो दशकमा खासै सुधार देखिएको छैन। वायु प्रदूषणका कारण एक सामान्य नेपालीको औसत आयु ३.४ वर्षले घटेको छ र वार्षिक झण्डै २६ हजार अकाल मृत्युलाई निम्त्याउने गरेको छ।

स्वास्थ्यका अतिरिक्त, वायु प्रदूषणले श्रम उत्पादकत्व, पर्यटन र हवाइ क्षेत्रलाई पनि असर गर्छ। खराब वायु गुणवत्ताको आर्थिक लागत नेपालका कुल गार्हस्थ उत्पादन (जीडीपी) को ६ प्रतिशतभन्दा बढी बराबर छ।

वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरी भन्छन्, 'स्वच्छ वायु र आर्थिक विकास एक अर्काका विरोधी होइनन्। वास्तवमा, प्रदूषणप्रति आजै ठूला कदम चाल्न नसक्दा भोलिका लागतहरू अझै धेरै हुनेछन्। उद्योगका लागि कडाभन्दा कडा उत्सर्जन मापदण्ड लागू गर्नुहोस्, विद्युतीय यातायातलाई प्रवर्द्धन गर्नुहोस् — सरकार नेपालको वायु सफा गर्न कटिबद्ध छ।'

वायु प्रदूषणको बहु-क्षेत्रीय र बहु-आञ्चलिक स्वरूपले धेरै मोर्चामा कार्यवाही आवश्यक बनाउँछ:

सवारी साधनको उत्सर्जन:
गाडी, मोटरसाइकल, बस र ट्रकहरूजस्ता सवारी साधनहरूलाई विद्युतीकरण गर्ने काम निरन्तर अगाडि बढाउनु वायु प्रदूषण समाधानका लागि अत्यन्त आवश्यक छ। यसलाई सवारी निरीक्षण तथा मर्मत प्रणालीलाई बलियो बनाउने र सडकको धुलो न्यूनीकरण गर्ने कामले साथ दिनुपर्छ।

उद्योगजन्य उत्सर्जन:
सानातिना तथा मध्यम आकारका उद्योगहरूमा विद्युत र प्यालेट बोइलर्स र भट्टीजस्ता सफा प्रविधि र इन्धनको प्रयोगलाई  प्रवर्द्धन गर्नु स्वच्छ उद्योगतर्फको महत्त्वपूर्ण कदम हुनेछ। इँटा र सिमेन्ट कारखानाजस्ता उद्योगहरूलाई पनि स्वच्छ र प्रभावकारी इन्धन जलाउने प्रविधिको लागि सहयोग पुर्‍याउन आवश्यक छ।

गृह उपयोगका चुल्होहरू:
घरायसी वायु प्रदूषण घटाउन सफा र सम्भव भएसम्म विद्युतीय चुल्हो प्रयोग गर्न परिवारहरूलाई समर्थन गर्नु आवश्यक छ। बायोमास (दाउरा, गोबर आदि) जलाउने चुल्होहरूले घरभित्र र बाहिर दुबै स्थानमा वायु प्रदूषण सिर्जना गर्छन्।

वन डढेलो:
डढेलोका कारण वायु प्रदूषण न्यूनीकरण गर्न वनमा दाउरा तथा जलनशील पदार्थको मात्रा घटाउने, र जनचेतना कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्नु अत्यावश्यक छ। साथै, डढेलो निभाउने प्रभावकारी आपतकालीन प्रतिक्रिया प्रणाली पनि विकास गर्नुपर्ने आवश्यकता छ।

सीमापार प्रदूषण:
छिमेकी देशहरूसँग प्रभावकारी साझेदारी गर्नु अत्यावश्यक छ, किनभने सीमापार हावा प्रवाहले प्रदूषक तत्वहरू एक देशबाट अर्को देशमा लैजान्छ। इन्डो-ग्याङ्गेटिक समथर क्षेत्र र हिमाली फेदी क्षेत्र एउटै वायुमण्डलीय क्षेत्र (airshed) मा पर्दछ, जसले गर्दा एक देशको प्रदूषणले अन्य देशको वायु गुणस्तरमा असर पुर्‍याउन सक्छ। नेपालको विशेष भौगोलिक बनावट — विशेषगरी चारैतिर पहाडले घेरिएको काठमाडौँ उपत्यका —ले यो समस्या झन गम्भीर बनाएको छ।

'नेपालको वायु गुणस्तर सुधार कार्यक्रमलाई थप सशक्त बनाउन विश्व बैंक वित्तीय तथा प्राविधिक सहायता र क्षमता अभिवृद्धिको माध्यमबाट सहयोग गर्न प्रतिबद्ध छ,' माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देश डिभिजन निर्देशक डेभिड सिसलेनले भने, 'स्वास्थ्य र समृद्धिका लागि स्वच्छ वायुको निरन्तर पक्षपातीको रूपमा, विश्व बैंकले नेपालमा स्वच्छ वायुको प्रयासलाई प्रभावकारी र दिगो बनाउने लक्ष्यका साथ विश्वभरबाट प्राप्त व्यापक ज्ञान र अनुभवलाई प्रयोग गरिरहेकै छ।'

 

प्रकाशित मिति : बुधबार, असार ०४, २०८२ | १३:०५:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया