सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

काठमाडौँको खानेपानी संकटको दिगो समाधान

गोविन्द शर्मा पोखरेल
बुधबार, चैत ०४, २०८२ | १६:५१:५० बजे

काठमाडौँ द्रुत गतिमा बढ्दै गरेको सहर हो। हरेक सहरका लागि अपरिहार्य वस्तु भनेको पानीको उपलब्धता र फोहोरमैला व्यवस्थापन हो। हालको काठमाडौँमा यी दुवै कुरा सन्तोषजनक नभएको हामी सबैले अनुभूति गरेका छौँ। धेरै जनाले सहरको परिभाषामा बाटोघाटो, सञ्चार सुविधा, बिजुलीको सुविधा आदि पनि राख्ने गरेका छन्, जुन एक किसिमले ठीकै हो। तर आवश्यकता अनुसार शुद्ध पानीको आपूर्ति र सन्तोषजनक रूपमा फोहोरमैलाको व्यवस्थापन प्रत्येक सहरका लागि सबैभन्दा अग्रस्थानमा रहनुपर्छ। नेपालमा यो कुरा धेरै सजिलो बनाइएको छ, किनभने सहरको परिभाषामा केवल जनसंख्यालाई हेरिन्छ। यति भन्दा बढी जनसंख्या भयो भने त्यो बस्ती “सहर” भयो। त्यसैले त नेपालमा बाँदर लड्ने किसिमका भीरहरूलाई पनि अन्य बस्तीहरूसँग गाभेर सहर बनाउने प्रचलन छ। यहाँ गाउँपालिका र नगरपालिकाबीच केवल राजनीतिक फरक मात्र छ।

तर जे-जस्तो बने पनि ठूला बस्तीहरू, चाहे ती सहर हुन् वा सहर नहुन्, तिनमा पानीको आपूर्ति गर्ने व्यवस्था नेपालमा पनि हुनुपर्छ, चाहे त्यो हप्तामा एक पटक केवल एक घण्टाका लागि किन नहोस्। त्यसैले काठमाडौँमा पानीको आपूर्तिको कुरा गर्दा निकालिने पानीको परिमाण एकदमै फरक आउन सक्छ। जस्तै, प्रति व्यक्ति प्रति दिन औसत १ लिटर पानी वितरण गर्ने हो भने काठमाडौँको करिब ३० लाख जनसंख्यालाई दैनिक ३० लाख लिटर वा ३,००० घनमिटर पानी आवश्यक पर्ने रहेछ। अब यही हिसाबले काठमाडौँ उपत्यकामा केयूकेएलले हिउँदका महिनामा वितरण गर्ने पानीको औसत परिमाण करिब ७५,००० घनमिटर भनेको प्रति व्यक्ति दैनिक करिब २५ लिटर हो। यो परिमाणमध्ये कम्तीमा पनि ३० प्रतिशत चुहावट हुने हिसाब गर्दा दैनिक करिब १७–१८ लिटर प्रति व्यक्ति प्रतिदिन मात्र पर्न जान्छ। यस परिमाणको पानीमा सरसफाइ र वातावरणीय खर्चसमेत समावेश भएकाले काठमाडौँमा हिउँदका महिनामा औसत दैनिक करिब ८ लिटर पानी प्रति व्यक्ति उपयोगका लागि उपलब्ध हुने गरेको देखिन्छ।

केयूकेएलको २०८१ को वार्षिक प्रतिवेदनअनुसार आ.व. २०८०/८१ मा मासिक रूपमा निम्नबमोजिम मिलियन लिटर प्रतिदिनका हिसाबले पानी उपलब्ध गराइएको थियो (महिनालाई अंकमा देखाइएको छ, जस्तै ४ भनेको श्रावण महिना हो)।

४–१६७.५४ ५–१७८.४३ ६–१६५.३० ७–१५९.९१ ८–१२९.२८ ९–११४.२६
१०–२४३.४९ ११–२४४.०६ १२–२२४.७३ १–२३२.८९ २–२१५.०५ ३–१३२.४३

यस तथ्यांकअनुसार अधिकतम दैनिक २४.४४ करोड लिटर र न्यूनतम ११.४३ करोड लिटर प्रतिदिन पानी उपलब्ध गराइएको थियो। काठमाडौँ उपत्यकाको सालाखाला जनसंख्या ३० लाख मानेर तथा प्रणालीको चुहावट ३० प्रतिशत मानेर हिसाब गर्ने हो भने प्रति व्यक्ति प्रति दिन अधिकतम ५६.९५ लिटर र न्यूनतम २६.६७ लिटर पानी वितरण गरिएको हिसाब निस्कन्छ। माथि प्रस्तुत गरिएका तथ्यांकहरूले हिउँदका महिनामा अधिकतम तथा वर्षाका महिनामा न्यूनतम परिमाणमा केयूकेएलले पानी उपलब्ध गराउने गरेको देखाउँछन्। केही वर्षअघिसम्म यो क्रम उल्टो थियो, किनभने हिउँदका महिनामा काठमाडौँको पानी वितरण काठमाडौँको भूमिगत पानीमा आधारित थियो। तर अहिले यो क्रम मेलम्ची खोलाबाट हिउँदका महिनामा पानी ल्याउन सकिएकाले उल्टिएको हो। केयूकेएलको यो उपलब्धिले काठमाडौँवासीलाई हिउँदका महिनामा केही राहत त दिन सकेको छ, तर यो एकदमै न्यून छ। किनभने कुल ५६.९५ वा ६० लिटर प्रति व्यक्ति प्रतिदिन पानीमध्ये ठूलो परिमाण वातावरणीय कार्यमा, सरसफाइमा तथा ढल निकासमा खर्च हुन्छ। त्यसैले काठमाडौँवासीले पाउने सालाखाला पानीको परिमाण करिब ३०–३२ लिटर प्रतिदिन मात्र हो। यो एकदमै न्यून हो। यो परिमाणको पानी पनि सबै ठाउँमा तोकिएको समयमा दैनिक वितरण नहुने, कुनै-कुनै स्थानमा त अप्ठेरो समयमा मात्र प्राप्त हुने भएकाले यसको उचित प्रयोगका लागि काठमाडौँवासीले धेरै संघर्ष गर्नुपरेको देखिन्छ।

वास्तवमा काठमाडौँजस्ता मेगा सहरहरूका लागि प्रति व्यक्ति प्रतिदिन कम्तीमा पनि १०० लिटर प्रशोधित पानी हुनुपर्ने हो। यसरी हिसाब गर्दा दैनिक रूपमा आवश्यक पानीको खुद परिमाण ३ लाख घनमिटर हुनुपर्ने देखिन्छ। यसअनुसार काठमाडौँको वार्षिक पानी आवश्यकता करिब १०.९५ करोड घनमिटर हुन्छ। यस परिमाणमा ३० प्रतिशत चुहावट हुने तथा करिब १० प्रतिशत सरसफाइका लागि आवश्यक हुने मानेर हिसाब गर्दा काठमाडौँको वार्षिक पानीको आवश्यक परिमाण करिब १५ करोड घनमिटरभन्दा बढी हुन आउँछ। यो परिमाण हालको काठमाडौँको जनसंख्यालाई आधार मानेर हिसाब गरिएको भएकाले समयसापेक्ष रूपमा यसमा थप हुनुपर्ने देखिन्छ। तर केयूकेएलका अनुसार काठमाडौँमा पानीको दैनिक आवश्यकता ४ लाख ३० हजार घनमिटर भनी उल्लेख गरिएको हिसाबले वार्षिक आवश्यकता करिब १५ करोड ७० लाख घनमिटर हुन्छ। त्यसैले माथि उल्लिखित परिमाणहरूलाई एकअर्कासँग तुलना गरी पुनः जाँच गर्नुपर्ने देखिन्छ।

केयूकेएलद्वारा प्रकाशित माथि प्रस्तुत तथ्यांकका आधारमा केयूकेएलले काठमाडौँ उपत्यकामा वार्षिक करिब ६ करोड ६२ लाख घनमिटर पानी उपलब्ध गराएको देखिन्छ। यो परिमाणको अधिकांश भाग काठमाडौँ उपत्यकाबाहिरबाट ल्याइएको पानी भएको देखिन्छ। मेरो विचारमा यस्तो किसिमको बाहिरबाट ल्याइने पानी आपूर्ति व्यवस्था साधारणतया दिगो हुन सक्दैन। वैकल्पिक उपायहरू अनुपस्थित हुने हो भने जुन उपाय अपनाएर भए पनि खानेपानीको आपूर्ति त गर्नैपर्छ। तर त्यस्तो उपाय अपनाउनुभन्दा अगाडि अन्य सुलभ वैकल्पिक उपायहरू छन् वा छैनन् भन्ने यकिन गर्नु जरुरी हुन्छ। त्यसैले मेरो विचारमा यस्तो वैकल्पिक व्यवस्था भनेको काठमाडौँ उपत्यकाकै भूमिगत जलभण्डारको व्यवस्थापन र प्रयोग हो।

हालको काठमाडौँको खानेपानी आपूर्तिको मेरुदण्डमध्ये एक हो काठमाडौँको भूमिगत जल दोहन। यसैका कारण काठमाडौँको जमिनको सतह दिनानुदिन भासिँदै गएको र केही छोटो समयमै खतराको बिन्दुसम्म पुग्ने तथ्यांकहरूले देखाउँछन्। यसको मतलब काठमाडौँका हाल दोहन गरिएका जलभण्डारहरूको दोहन बन्द गर्नुपर्‍यो भनेको होइन, तर तिनको स्वास्थ्यको उचित ख्याल गर्नुपर्छ भन्नेचाहिँ पक्कै हो। यस्तो स्वास्थ्य सुधारभित्र दोहन गरिएका जलभण्डारहरूमा पानीको उचित पुनर्भरणसहितको व्यवस्थापन पनि पर्छ। तर यहाँ मेरो प्रमुख आशय दोहनका क्रममा रहेका भूमिगत पानीका स्रोतहरूबारेको चर्चाभन्दा हाल दोहनको दायरामा नपरेका काठमाडौँ उपत्यकाका वरिपरि रहेका पहाडी क्षेत्रका जलभण्डारहरूको समुचित व्यवस्थापन तथा प्रयोग हो।

काठमाडौँ उपत्यकाका वरिपरिका पहाडहरूको क्षेत्रफल करिब ४५० वर्गकिलोमिटर छ र तिनमा जडान गरिएका वर्षा मापन यन्त्रहरूले वार्षिक सालाखाला २०८० मिलिमिटरभन्दा बढी वर्षा मापन गरेका छन्। यसको मतलब काठमाडौँका वरिपरिका पहाडहरूमा वार्षिक करिब ९३.६ करोड घनमिटर पानी वर्षाबाट उपलब्ध हुन्छ। यो परिमाणको वर्षामध्ये करिब २० प्रतिशत, अर्थात् १८.७२ करोड घनमिटर पानी हिउँदका महिनामा नै काठमाडौँलाई घेर्ने पहाडी क्षेत्रमा उपलब्ध हुने देखिन्छ। त्यसैले वर्षात्को समयमा वर्षाबाट प्राप्त हुने पानीको ५० प्रतिशत, अर्थात् ९.३६ करोड घनमिटर पानी प्रशोधन गरी वितरणमा ल्याउन सकिए उक्त परिमाणको पानीले केयूकेएलद्वारा हालका वर्षहरूमा वार्षिक रूपमा वितरण गरिने ६.६ करोड घनमिटर पानीभन्दा करिब ४२ प्रतिशत बढी पानी हिउँदका महिनामा मात्र वितरण गर्न सक्छ। यसरी पानीको प्रशोधन तथा वितरण गर्दा काठमाडौँका हाल अत्यधिक दोहनका कारण अस्वस्थ बनेका भूमिगत जलभण्डारहरूमा पुनर्ताजगी आउन सक्थ्यो। फलस्वरूप जमिन भासिने क्रम घट्ने तथा भूमिगत जलभण्डारको अवस्थामा सुधार हुने भएकाले काठमाडौँको वातावरणमा पनि निकै सुधार हुने पक्कापक्की देखिन्छ। जहाँसम्म वर्षात्को समयमा वर्षाबाट प्राप्त हुने करिब ८४.२४ करोड घनमिटर पानीको कुरा छ, काठमाडौँ उपत्यकाका वरिपरि विभिन्न स्थानमा आवश्यकताअनुसार धापड्यामजस्ता वर्षात्को भेलको गति केही कम गर्न सक्ने साधारण संरचना निर्माण गरी वर्षाको पानी व्यवस्थापन गर्न सकिए, वर्षात्को याममा प्राप्त हुने पानीको केही अंश भूमिगत जलभण्डारमा सञ्चिति हुने तथा बाँकी केही अंश प्रशोधन गरी वितरण गर्न सकिने देखिन्छ। यसो गर्न सके काठमाडौँ उपत्यकामा पानी वितरणको दिगो समाधान सम्भव हुन सक्छ। यसबाट काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान हुने मात्र होइन, राम्रोसँग परिकल्पना गरिएका यस्ता ससाना परियोजनाले काठमाडौँको वातावरणमा पनि उल्लेख्य सुधार गर्ने क्षमता राख्न सक्छन्। यस्तै ससाना बाढी व्यवस्थापनसँग सम्बन्धित परियोजनाले काठमाडौँ उपत्यकाको वातावरण सुधार गर्न तथा महानगरपालिकाको एक प्रमुख उद्देश्यका रूपमा रहेको “हराभरा काठमाडौँ” लाई वास्तविक रूपमा सार्थकता दिन पनि मद्दत पुग्न सक्छ।

प्रकाशित मिति : बुधबार, चैत ०४, २०८२ | १६:५१:५० बजे

लेखकको बारेमा

गोविन्द शर्मा पोखरेल
वरिष्ठ फेलो, नेपाल पानी सदुपयोग फाउण्डेशन

प्रतिक्रिया