बड्कापथ सिँचाइ आयोजनाको काम ७० प्रतिशत पूरा, चार हजार हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य
जलसरोकार
तुलसीपुर (दाङ) : दाङमा निर्माण भइरहेको बड्कापथ सिँचाइ आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । लामो समयदेखि निर्माणाधीन आयोजनाले गति लिन थालेसँगै सिँचाइ पूर्वाधार विस्तार भइरहेको छ । आयोजनाका केही संरचना निर्माण सम्पन्न भई खेतीयोग्य जमिनमा पानीसमेत पुग्न थालेको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामार्फत निर्माण भइरहेको यस आयोजनाको मुख्य मुहान राप्ती नदीमा रहेको छ । आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार हालसम्म एउटा साइड इन्टेक संरचना, १७ किलोमिटर मूल नहर र साना–ठूला गरी ५४ वटा नहर संरचना निर्माण सम्पन्न भएका छन् ।
त्यसैगरी दुई दशमलव ३७६ किलोमिटर शाखा नहर निर्माण र १४ दशमलव ५६९ किलोमिटर नहर लाइनिङको काम पूरा भएको छ । आयोजनाअन्तर्गत चेनेज १५ हजार ९९० सम्मको निर्माण कार्य सम्पन्न भइसकेको सूचना अधिकारी वलीले जानकारी दिए। नहर निर्माणसँगै नदी कटान तथा बाढीबाट संरचना र खेतीयोग्य जमिन जोगाउन नौ दशमलव ५४५ किलोमिटर तटबन्धसमेत निर्माण गरिएको छ ।
आयोजनाको केही संरचना निर्माण सम्पन्न भएसँगै हालसम्म ६१० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । उक्त क्षेत्रमा किसानले सिँचाइको सुविधा उपयोग गर्दै रोपाइँसमेत गरेका छन् । आयोजनाको काम थप विस्तार हुँदै जाँदा गढवा गाउँपालिकाका थप खेतीयोग्य जमिनमा नियमित सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
बड्कापथ सिँचाइ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पाँच अर्ब ७० करोड ४० लाख रुपैयाँ लागतमा तयार गरिएको हो । कार्यालयका लेखा अधिकृत नवराज वलीका अनुसार हालसम्म आयोजनामा दुई अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबरको वित्तीय प्रगति भएको छ ।
आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरु गरिएको यस आयोजनाबाट सात हजार परिवारका करिब ४५ हजार जनसङ्ख्या लाभान्वित हुने लक्ष्य राखिएको छ । गढवा क्षेत्रको कृषि उत्पादन वृद्धि गर्ने र खेतीयोग्य जमिनमा सिँचाइको भरपर्दो व्यवस्था गर्ने उद्देश्यले आयोजना अघि बढाइएको हो ।
आयोजनाको डिपिआरअनुसार कुल ३० किलोमिटर मूल नहर, १३ वटा शाखा नहर र ५३ वटा प्रशाखा नहर निर्माण गर्नुपर्नेछ । यी संरचना पूरा भएपछि चार हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार हुनेछ । यसले किसानलाई आकाशे पानीको भर पर्नुपर्ने अवस्थाबाट मुक्त गर्दै बाह्रै महिना खेतीपाती गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा आयोजनाले वार्षिक लक्ष्यअनुसार भौतिक प्रगति शतप्रतिशत हासिल गरेको थियो । त्यसैगरी वित्तीय प्रगति ९९ दशमलव ८८ प्रतिशत पुगेको लेखा अधिकृत वलीले जानकारी दिए । गत आर्थिक वर्षमा निर्माण कार्यले लक्ष्यअनुसार प्रगति हासिल गरेपछि चालु तथा आगामी चरणका कामलाई पनि अघि बढाइएको छ ।
आगामी वर्षका लागि चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्मको नहर तथा संरचना निर्माण गर्न ठेक्का सम्झौता भइसकेको छ । उक्त खण्डमा हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको सूचना अधिकारी वलीले बताउनुभयो । त्यसैगरी चेनेज २२ हजार २०० देखि ३० हजारसम्मको नहर निर्माणका लागि पनि प्रक्रिया अघि बढाइएको छ ।
आयोजना कार्यालयका अनुसार निर्माण सुरु भएदेखि हालसम्म मुख्य निर्माण, मर्मत तथा बचावटसम्बन्धी कुल ३१ वटा ठेक्का सम्झौता भएका छन् । तीमध्ये २८ वटा ठेक्काको काम सम्पन्न भइसकेको छ । हाल दुईवटा ठेक्का निर्माणाधीन अवस्थामा छन् ।
निर्माणाधीन ठेक्कामध्ये मूल नहरको चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्मको नहर तथा संरचना निर्माण कार्यमा २० प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै गढवास्थित सबडिभिजन कार्यालय भवन निर्माणको काममा २६ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ ।
दुई दशक नजिक पुग्न लागेको आयोजनाको निर्माणले पछिल्ला वर्षमा गति लिन थाले पनि निर्धारित चार हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन अझै बाँकी काम सम्पन्न गर्नुपर्नेछ । हालसम्म निर्माण भएका संरचनाबाट ६१० हेक्टरमा सिँचाइ पुग्नु सकारात्मक उपलब्धि भए पनि आयोजनाको पूर्ण लाभ लिन बाँकी नहर तथा शाखा संरचनाको निर्माण समयमै सम्पन्न हुनु आवश्यक छ ।
पाँच अर्बभन्दा बढी लागतको यस आयोजनाले पूर्णता पाए गढवा क्षेत्रको कृषि प्रणालीमा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ । सिँचाइ सुविधा विस्तारसँगै धानलगायतका बालीको उत्पादन बढ्ने, खेतीयोग्य जमिनको उपयोग विस्तार हुने र कृषि पेसामा आबद्ध हजारौँ परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भारतमा आपत्कालीन बिजुली उत्पादनको लागत प्रतियुनिट भारु ४६ पुग्यो
-
बड्कापथ सिँचाइ आयोजनाको काम ७० प्रतिशत पूरा, चार हजार हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य
-
३० करोडको लगानीमा खेतखेतमा बिजुली, डिजेलको महँगो सिँचाइबाट किसानलाई मुक्ति
-
विद्युतीय गाडी आयातले चम्कियो कोरलानाका, १५ दिनमै भित्रिए २ हजारबढी ईभी
-
नहर बन्यो, पानी आएन : भारतीय अवरोधले पाँच हजार हेक्टर जमिन बाँझै
-
एकैदिन सुन तोलामा ८ हजार ३०० रुपैयाँ सस्तियो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?