सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भारतमा आपत्‌कालीन बिजुली उत्पादनको लागत प्रतियुनिट भारु ४६ पुग्यो

कोइला अभाव र बढ्दो माग धान्न राजस्थानले महँगो ग्यास विद्युत् केन्द्र चलायो, तमिलनाडुले पनि प्रतियुनिट भारु ३७ मा बिजुली किन्यो

जलसरोकार
आइतबार, कात्तिक १६, २०८३ | १६:४७:५२ बजे

काठमाडौं : भारतमा विद्युत् माग र आपूर्तिबीचको असन्तुलन बढ्दै जाँदा आपत्‌कालीन अवस्थामा बिजुली उत्पादन तथा खरिदको लागत असाधारण रूपमा महँगिएको छ। 

राजस्थानको ३३० मेगावाट क्षमताको धौलपुर ग्यास विद्युत् केन्द्रमा विद्युत् उत्पादनको लागत अक्टोबरमा प्रतियुनिट भारु ४६.०९ पुगेको छ। भारतको टाइम्स अफ इण्डिया काअनुसार धौलपुर केन्द्र अहिले देशकै सबैभन्दा महँगो विद्युत् स्रोत बनेको छ।

समाचारअनुसार राजस्थानले बढ्दो विद्युत् माग र बजारमा पर्याप्त बिजुली उपलब्ध नभएको अवस्थामा धौलपुर ग्यास विद्युत् केन्द्रको सहारा लिइरहेको छ। अक्टोबरका पहिलो १२ दिनमा उक्त केन्द्रबाट ३० करोड रुपैयाँभन्दा बढी मूल्यको विद्युत् उत्पादन भएको थियो। त्यस अवधिमा उत्पादन लागत प्रतियुनिट भारु ४१ देखि ४६ सम्म पुगेको थियो।

धौलपुर केन्द्रको विद्युत् उत्पादन लागत जुलाईमा प्रतियुनिट करिब भारु ३० रहेको थियो। सेप्टेम्बरमा कोइला अभाव र तापीय विद्युत् केन्द्रका केही एकाइ बन्द हुँदा लागत ३५ रुपैयाँभन्दा माथि पुगेको थियो। अक्टोबरमा भने यो बढेर ४६.०९ रुपैयाँ पुगेको हो।

उत्पादन लागत उठाउनै कठिन

धौलपुर ग्यास विद्युत् केन्द्र सञ्चालन गर्ने राजस्थान राज्य विद्युत् उत्पादन निगमले विद्युत् खरिदकर्ता वितरण कम्पनीबाट उत्पादन लागत उठाउन कठिनाइ भोगिरहेको छ।

टाइम्स अफ इण्डिया का अनुसार केन्द्रको विद्युत् खरिदका लागि लागतअनुसार खर्च उठाउन सकिने स्वीकृत दरसहितको प्रभावकारी विद्युत् खरिद सम्झौता (पीपीए) छैन। त्यसैले आपत्‌कालीन अवस्थामा विद्युत् उत्पादन गर्दा लागेको खर्च वितरण कम्पनीबाट असुल गर्न नसक्ने र आर्थिक भार उत्पादन निगमले नै बेहोर्नुपर्ने अवस्था छ।

यसले आपत्‌कालीन अवस्थामा विद्युत् उत्पादन गरेर प्रणालीलाई संकटबाट जोगाउने केन्द्रसमेत वित्तीय जोखिममा पर्न सक्ने देखाएको छ।

तमिलनाडुमा पनि महँगो विद्युत् खरिद

राजस्थान मात्र होइन, भारतको तमिलनाडु राज्यले पनि विद्युत् अभाव पूर्ति गर्न महँगो दरमा बिजुली खरिद गरेको छ।

टाइम्स अफ इण्डिया का अनुसार तमिलनाडु विद्युत् वितरण निगमले प्रतियुनिट भारु ३७ सम्मको दरमा विद्युत् खरिद गर्न सहमति जनाएको छ। केन्द्रीय विद्युत् केन्द्रहरूमा मर्मतसम्भारका कारण उत्पादन घट्नु र वायु ऊर्जाको उपलब्धता कम हुनुका कारण राज्यमा करिब ४ हजार मेगावाट विद्युत् अभाव भएको थियो।

त्यस समयमा तमिलनाडुको विद्युत् माग करिब २० हजार मेगावाट पुगेको थियो। कोइलाबाट उत्पादित विद्युत् खुला बजारमा पर्याप्त उपलब्ध नभएपछि राज्यले महँगो विकल्प रोज्नुपरेको समाचारमा उल्लेख छ।

उत्पादन क्षमता मात्र पर्याप्त हुँदैन

ऊर्जा क्षेत्रका जानकारहरूले राजस्थान र तमिलनाडुको अवस्थाले विद्युत् प्रणालीमा माग र आपूर्तिबीचको सन्तुलन कायम गर्नु कति महत्त्वपूर्ण छ भन्ने देखाएको बताएका छन्।

समाचारमा उद्धृत समता पावरका निर्देशक डीडी अग्रवालका अनुसार विद्युत् उत्पादन क्षमता सुनिश्चित गर्नु मात्र पर्याप्त हुँदैन। अचानक माग बढ्दा वा उत्पादन घट्दा तत्काल परिचालन गर्न सकिने लचिलो ऊर्जा स्रोत आवश्यक हुन्छ। यस्तो व्यवस्था नभए आपत्‌कालीन विद्युत् उत्पादन तथा खरिदको लागत अत्यधिक बढ्न सक्छ।

भारतको पछिल्लो अवस्थाले विद्युत् प्रणालीमा ऊर्जा सुरक्षाका लागि नियमित उत्पादनसँगै माग बढेको समयमा तत्काल आपूर्ति गर्न सक्ने स्रोतको आवश्यकता पुनः उजागर गरेको छ।

नेपालका लागि पनि यो विषय महत्त्वपूर्ण छ। हिउँदमा जलविद्युत् उत्पादन घट्ने र विद्युत् माग बढ्ने समयमा भरपर्दो वैकल्पिक स्रोत, जलाशययुक्त आयोजना तथा ऊर्जा भण्डारणको भूमिका कति निर्णायक हुन सक्छ भन्ने प्रश्न यस घटनाले उठाएको छ।

 

भारतमा विद्युत् माग र धौलपुर केन्द्रको उत्पादन लागत

अक्टोबरसन् २०२६ खपतसन् २०२५ खपतधौलपुर केन्द्रको उत्पादन लागत (भारु/युनिट)
१३,३४६२,९६२४४.३१
२३,२६७२,९३२४२.२६
३३,३३३३,०२३४३.५६
४३,२९८२,९७२४६.०९
५३,३८४२,८२७४२.३०
६३,३९४२,४८३४१.३६
७३,४२२२,२८६४२.७२
८३,४१७२,२९३४३.९८
९३,४१९२,२७३उपलब्ध छैन (NA)
१०३,३५२२,३४५४४.५३
११३,३०२२,३५३उपलब्ध छैन (NA)
१२३,४०६२,३७७उपलब्ध छैन (NA)
१३३,४८५२,४७८४२.९४
१४३,५१४२,५५७४३.५३
१५३,३५५२,६१६४३.४३

स्रोत : Times of India मा प्रकाशित तथ्यांक।

 

प्रकाशित मिति : आइतबार, कात्तिक १६, २०८३ | १६:४७:५२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया