सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

३० करोडको लगानीमा खेतखेतमा बिजुली, डिजेलको महँगो सिँचाइबाट किसानलाई मुक्ति

जलसरोकार
आइतबार, कात्तिक १६, २०८३ | १४:४८:५७ बजे

 

सुनसरी : कृषि उत्पादनको लागत घटाउँदै किसानलाई सिँचाइमा सहज पहुँच पुर्‍याउने उद्देश्यले सुनसरीको देवानगञ्ज गाउँपालिकाले खेतखेतमा विद्युत् विस्तारको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा करिब ३० करोड रुपैयाँको लगानीमा सञ्चालन भइरहेको कृषि सिँचाइ विद्युतीकरण आयोजना सम्पन्न भएपछि किसानले डिजेल पम्पसेटको महँगो खर्चबाट मुक्ति पाउने भएका छन् ।

लामो समयदेखि डिजेल पम्पसेटको भरमा सिँचाइ गर्दै आएका किसानका लागि यो आयोजना राहतको माध्यम बन्ने अपेक्षा गरिएको छ । डिजेलबाट पानी तान्दा लाग्ने खर्चको तुलनामा विद्युत्‌बाट सिँचाइ गर्दा लागत निकै कम पर्ने भएकाले किसानको उत्पादन खर्च घट्ने र कृषि पेसा थप लाभदायक बन्ने गाउँपालिकाको विश्वास छ ।

देवानगञ्ज गाउँपालिका–६ का कृषक हिरा मेहता तीन बिघाभन्दा बढी क्षेत्रफलमा धान खेती गर्दै आएका छन् । विगत चार वर्षदेखि धानको बीउवृद्धि गर्दै आएका उनले सिँचाइका लागि डिजेल पम्पसेट प्रयोग गर्दा प्रतिघण्टा करिब ३०० रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता रहेको बताए । तर विद्युत्‌बाट सिँचाइ गर्न पाउँदा प्रतिघण्टा ५० रुपैयाँभन्दा कम खर्च हुने उनकाेअनुभव छ ।

सिँचाइमा लाग्ने खर्च घटाउन सके कृषि उत्पादनबाट किसानले प्राप्त गर्ने आम्दानी बढ्ने उनकाे अपेक्षा छ । खेतीका लागि आवश्यक पर्ने पानी समयमै उपलब्ध नहुँदा उत्पादनमा समेत असर पर्ने गरेको अवस्थामा खेतसम्म विद्युत् पुगेपछि सहज हुने उनकाे भनाइ छ ।

गाउँपालिका–२ का कृषक रमेश मेहता आठ बिघा जमिनमा धान, मकै, गहुँ, तोरी र जुटलगायतका बाली लगाउँदै आएका छन् । उनले पनि डिजेल पम्पसेटबाट सिँचाइ गर्दा खेतीको लागत निकै बढ्ने गरेको कताए । डिजेलको खर्च बढी लाग्ने र आवश्यक परेको समयमा पानी लगाउन नसक्दा बालीको उत्पादनमा समेत असर पर्ने गरेको उनकाे अनुभव छ ।

आफ्नै पम्पसेट नभएका किसानले अरूको पम्पसेट प्रयोग गर्नुपर्दा डिजेल खर्चबाहेक प्रतिघण्टा करिब २०० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उनले बताए । सिँचाइका लागि नियमित रूपमा ठूलो रकम खर्च गर्नुपर्ने भएकाले खेतीपाती महँगो बन्दै गएको अवस्थामा गाउँपालिकाले अघि बढाएको कृषि विद्युतीकरण योजनाले किसानलाई ठूलो राहत पुग्ने उनकाे विश्वास छ ।

किसानको यही समस्या समाधान गर्ने उद्देश्यले गाउँपालिकाले खेतीयोग्य जमिनसम्म विद्युत्का पोल र तार विस्तार गरी विद्युतीय मोटरबाट पानी तान्ने व्यवस्था मिलाउन लागेको हो । आयोजनाअन्तर्गत खेतखेतमा विद्युत् पुर्‍याउने काम तीव्र गतिमा भइरहेको छ । यसले किसानलाई सिँचाइका लागि डिजेल खरिद गर्ने, पम्पसेट सञ्चालन गर्ने र त्यसको नियमित खर्च धान्नुपर्ने बाध्यताबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार कृषि सिँचाइ विद्युतीकरण आयोजना अन्तिम चरणमा पुगेको छ । बाँकी क्षेत्रमा विद्युत्का पोल गाड्ने तथा तार विस्तार गर्ने काम भइरहेको छ । आगामी मङ्सिरदेखि आयोजनाको औपचारिक शुभारम्भ गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

गाउँपालिकाका सातवटै वडाका खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित आयोजना अघि बढाइएको अध्यक्ष मेहताले बताए । हाल वडा नम्बर ४, ६ र ७ मा विद्युतीकरणको काम भइरहेको छ भने अन्य क्षेत्रमा पनि विस्तारको काम अघि बढाइएको छ । आयोजना सम्पन्न भएपछि किसानले सिँचाइका लागि डिजेल पम्पसेटमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य हुने उनकाे भनाइ छ ।

विद्युतीकरणसँगै गाउँपालिकाले किसानलाई सिँचाइका लागि विद्युतीय मोटर वितरणलाई पनि प्राथमिकता दिएको छ । यसअघि नै किसानलाई विद्युतीय मोटर उपलब्ध गराउँदै आएको गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा एक हजार १६ वटा मोटर वितरण गरिसकेको छ । अब करिब ५० वटा मोटर वितरण गर्न बाँकी रहेको अध्यक्ष मेहताले जानकारी दिए ।

खेतसम्म विद्युत् विस्तार र किसानलाई विद्युतीय मोटर उपलब्ध गराउने दुवै कार्यक्रम एकसाथ अघि बढ्दा सिँचाइ सुविधाको पहुँच विस्तार हुने गाउँपालिकाको अपेक्षा छ । विद्युत् पुगेपछि किसानले आफ्नो आवश्यकताअनुसार मोटर सञ्चालन गरी समयमै खेतमा पानी पुर्‍याउन सक्नेछन् । यसबाट विशेषगरी धान, मकै, गहुँलगायतका बालीको खेतीमा सहजता आउने विश्वास गरिएको छ ।

देवानगञ्ज गाउँपालिकाको कृषि शाखाका अनुसार यहाँका छ हजार ४५ परिवार कृषि पेसामा आबद्ध छन् । गाउँपालिकामा चार हजार ६२५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये तीन हजार ५८२ हेक्टरमा धान, तीन हजार ३४६ हेक्टरमा हिउँदे मकै र एक हजार ३२ हेक्टरमा गहुँ खेती हुने गरेको छ ।

गाउँपालिकाका करिब ९० प्रतिशत बासिन्दा कृषि पेसामा निर्भर छन् । यहाँ धान, मकै, गहुँ, जुट, उखु, केरा तथा काउली, बन्दा, ब्रोकाउली, टमाटर र करेलालगायतका तरकारी खेती हुँदै आएको छ । ठूलो जनसङ्ख्या कृषिमा निर्भर रहेको यस क्षेत्रमा सिँचाइ सुविधा विस्तार हुनु कृषि उत्पादन र ग्रामीण अर्थतन्त्रका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

विशेषगरी सिँचाइमा लाग्ने खर्च बढी हुँदा किसानले खेतीबाट अपेक्षित लाभ लिन नसकेको अवस्थामा विद्युतीय सिँचाइले उत्पादन लागत घटाउन सहयोग पुग्ने देखिन्छ । डिजेल पम्पसेटबाट प्रतिघण्टा करिब ३०० रुपैयाँ खर्च गर्नुपर्ने किसानले विद्युत्बाट ५० रुपैयाँभन्दा कम खर्चमा सिँचाइ गर्न पाउने भएपछि खेतीको लागतमा उल्लेख्य बचत हुने अपेक्षा गरिएको छ ।

आयोजना सम्पन्न भएपछि वर्षायाममा मात्र नभई आवश्यकताअनुसार अन्य समयमा समेत खेतमा पानी पुर्‍याउन सहज हुनेछ । यसले किसानलाई वर्षभरि खेती गर्न, बाँझो जमिनको उपयोग बढाउन र कृषि उत्पादन विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाको भनाइ छ ।

करिब ३० करोड रुपैयाँको लगानीमा अघि बढाइएको यो आयोजना सफलतापूर्वक सञ्चालनमा आए देवानगञ्जका हजारौँ किसान प्रत्यक्ष लाभान्वित हुनेछन् । खेतसम्म विद्युत् पुर्‍याएर सिँचाइको लागत घटाउने गाउँपालिकाको प्रयासले कृषि पेसालाई कम खर्चिलो र उत्पादनमुखी बनाउने अपेक्षा गरिएको छ । किसानले वर्षौँदेखि भोग्दै आएको महँगो सिँचाइको समस्या समाधान हुनु नै यस आयोजनाको महत्वपूर्ण उपलब्धि हुनेछ ।

 

 

प्रकाशित मिति : आइतबार, कात्तिक १६, २०८३ | १४:४८:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया