सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विद्युतीय गाडी आयातले चम्कियो कोरलानाका, १५ दिनमै भित्रिए २ हजारबढी ईभी

जलसरोकार
आइतबार, कात्तिक १६, २०८३ | १३:४५:१४ बजे

 

मुस्ताङ : नेपाल–चीन उत्तरी कोरलानाका पछिल्लो समय व्यापारिक कारोबारको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट हुने आयात–निर्यात कारोबारमा उल्लेख्य वृद्धि भएको छ । यसको प्रत्यक्ष प्रभाव मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा देखिएको छ । कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक १३ गतेसम्म ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जबकि चालु आर्थिक वर्षका लागि कार्यालयलाई नौ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । यसरी आर्थिक वर्षको साढे तीन महिना नबित्दै कार्यालयले निर्धारित लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार उक्त अवधिमा कोरलानाका हुँदै चीनबाट २६ अर्ब एक करोड २३ लाख रुपैयाँ मूल्यबराबरका मालवस्तु नेपाल भित्रिएका छन् । त्यसैगरी नेपालबाट २८ करोड ६३ लाख रुपैयाँ मूल्यबराबरका वस्तु चीनतर्फ निकासी भएका छन् । आयातको तुलनामा निर्यात निकै कम रहे पनि चीनबाट हुने वस्तु आयातले भन्सार राजस्वमा ठूलो योगदान पुर्‍याएको देखिन्छ ।

यस अवधिमा कोरलानाका हुँदै चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी) भन्सार जाँचपास भएर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । विद्युतीय सवारीसाधनको ठूलो सङ्ख्यामा आयात हुनुले पनि यस नाकाबाट हुने व्यापारिक गतिविधि तीव्र बनेको देखाउँछ ।

दसैँपछि कोरलानाकाबाट हुने आयात र राजस्व सङ्कलनमा थप वृद्धि भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । असोज २७ गतेसम्म कार्यालयले आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । तर दसैँपछि थप १५ दिनको अवधिमा मात्रै तीन अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार अधिकृत सिंहले जानकारी दिनुभयो । यसले चाडपर्वपछि नाकाबाट हुने व्यापारिक कारोबार थप बढेको पुष्टि गर्छ ।

आयाततर्फ पनि दसैँपछि उल्लेख्य वृद्धि भएको छ । असोज २७ गतेसम्म कोरलानाका हुँदै १० अर्ब ४० करोड ६९ लाख रुपैयाँ मूल्यबराबरका चिनियाँ मालवस्तु नेपाल भित्रिएका थिए । दसैँपछिको अवधिमा थप छ अर्ब ७० करोड ५४ लाख रुपैयाँ मूल्यबराबरका सामान आयात भएका छन् । यसरी छोटो समयमै ठूलो परिमाणमा मालवस्तु आयात हुँदा भन्सार राजस्वसमेत तीव्र रूपमा बढेको हो ।

विद्युतीय सवारीसाधनको आयातमा पनि दसैँपछि उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज २७ गतेसम्म कोरलानाका हुँदै तीन हजार ९२६ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए । तर दसैँपछिको १५ दिनमा मात्रै थप दुई हजार ५७५ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको भन्सार अधिकृत सिंहले बताउनुभयो । यसअनुसार साढे तीन महिनाको अवधिमा भित्रिएका कुल विद्युतीय सवारीमध्ये ठूलो सङ्ख्या दसैँपछिको छोटो अवधिमै भित्रिएको देखिन्छ ।

भन्सार अधिकृत सिंहका अनुसार रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकातर्फ व्यापारिक गतिविधि केन्द्रित भएको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चीनसँगको व्यापारिक मार्ग प्रभावित हुँदा सयौँ कन्टेनरमा रहेका मालवस्तुको आयात मार्ग परिवर्तन गरी कोरलानाकाबाट हुन थालेको उहाँले जानकारी दिनुभयो । यसले कोरलानाकाको व्यापारिक चहलपहल बढाउनुका साथै राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव पारेको छ ।

चीनसँगको व्यापारका लागि वैकल्पिक नाकाका रूपमा कोरलानाकाको महत्व बढ्दै जाँदा यसबाट विभिन्न प्रकारका वस्तु नेपाल भित्रिने क्रम जारी छ । चीनबाट तयारी पोसाक, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल तथा दसैँ–तिहारजस्ता चाडपर्व लक्षित सामग्री आयात भइरहेका छन् । यसका अतिरिक्त विद्युतीय सवारीसाधनको आयातले पनि नाकाको व्यापारिक कारोबार विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपाल–चीन उत्तरी कोरलानाका सरकारले गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो । सञ्चालनमा आएको छोटो अवधिमै यस नाकाबाट हुने आयात तथा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिनु यसको व्यापारिक सम्भावनाको सङ्केत हो ।

रसुवागढी र तातोपानी नाका बन्द हुँदा कोरलानाकाले चीनसँगको व्यापारलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर अन्य प्रमुख नाकाको कारोबारसमेत यही नाकामा केन्द्रित हुन थालेपछि यसको पूर्वाधार, भन्सार व्यवस्थापन र ढुवानी क्षमतामा थप सुधार गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । हालकै गतिमा कारोबार कायम रहे कोरलानाका आगामी दिनमा नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वारका रूपमा थप स्थापित हुने देखिन्छ ।

प्रकाशित मिति : आइतबार, कात्तिक १६, २०८३ | १३:४५:१४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया