चार दिनको भारी वर्षामा ५४२ विपद्का घटना, २७ जनाको मृत्यु
जलसरोकार
काठमाडौं : पछिल्लो भारी वर्षाका कारण चार दिनमा देशभर ५४२ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार असोज ८ देखि ११ गतेसम्म भएका विपद्का घटनामा २७ जनाको मृत्यु, चार जना बेपत्ता र आठ जना घाइते भएका छन् ।
विपद्का घटनाबाट एक हजार ८२ परिवार प्रभावित भएका छन् भने ११४ वटा पशुचौपाय क्षति भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ३०४ वटा घटना भएका थिए । पहिरोमा परी २० जनाको मृत्यु, चार जना बेपत्ता र सात जना घाइते भएका छन् । बाढीका ८७ वटा घटनामा चार जनाको मृत्यु भएको छ भने भारी वर्षासँग सम्बन्धित १५१ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
भारी वर्षाका कारण २२७ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोका कारण ३१ वटा पुलमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
डेढगाउँमा ५४४ मिलिमिटर वर्षा
चार दिनको वर्षाका क्रममा देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा सबैभन्दा बढी ५४४ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको थियो ।
त्यस्तै कास्कीको पञ्चासेमा ५०० दशमलव दुई मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन भएको प्राधिकरणले जनाएको छ ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण उक्त अवधिमा देशका विभिन्न भूभागमा भारी वर्षा भएको प्राधिकरणको भनाइ छ ।
करिब १० लाखलाई पूर्वसूचनामार्फत चेतावनी
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि प्राधिकरणले वर्षा सुरु हुनुअघि नै पूर्वसूचना र पूर्वतयारीलाई चुस्त बनाएको जनाएको छ ।
वर्षाको अवधिमा प्राधिकरणको ‘सिचुएसन रुम’बाट ७६ घण्टा निरन्तर मौसम तथा विपद् जोखिमको अनुगमन, सूचना सम्प्रेषण र अन्तरनिकाय समन्वय गरिएको थियो ।
दूरसञ्चार सेवा प्रदायकमार्फत करिब नौ लाख ८० हजारभन्दा बढी नागरिकलाई लक्षित गरी बाढीसम्बन्धी चेतावनी एसएमएस पठाइएको थियो । त्यसमध्ये पाँच हजारभन्दा बढी प्रतिकार्यमा संलग्न व्यक्ति तथा करिब नौ हजार पर्यटकलाई समेत मौसम तथा विपद् जोखिमसम्बन्धी सतर्कता सूचना प्रवाह गरिएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
प्राधिकरणले प्रमुख नदीको बाढी पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन तथा साना नदी तथा खोलामा आउने आकस्मिक बाढीको पूर्वानुमान अवधि २४ घण्टाबाट बढाएर ४८ घण्टा पुर्याएको थियो ।
करिब दुई हजारको उद्धार
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वर्षाजन्य विपद्का कारण जोखिममा परेका करिब दुई हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
जाजरकोट, म्याग्दी र बागलुङलगायत दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । खोज, उद्धार तथा राहत कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालित भएका थिए ।
महतका अनुसार असोज ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जोखिममा रहेका ७८ जनालाई हेलिकोप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । जाजरकोटमा भेरी नदीबीचको टापुमा फसेका चार जनाको समेत हवाई उद्धार गरिएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
मनाङ र मुस्ताङमा नदी थुनिएपछि सतर्कता
भारी वर्षापछि असोज ११ गते साँझ मनाङको चामेमा पहिरोका कारण मर्स्याङ्दी नदीको जलप्रवाहमा अवरोध सिर्जना भएको थियो । त्यस्तै, मुस्ताङको थासाङ गाउँपालिका–३ मा पहिरोका कारण कालीगण्डकी नदीको जलप्रवाहमा अवरोध भएको प्राधिकरणले जनाएको छ ।
दुवै नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्ला तथा स्थानीय तहका प्रतिकार्यकर्तालाई प्राधिकरणले सूचना पठाएको थियो ।
असोज १२ गतेपछि भने नारायणीसहित देशका प्रमुख नदीमा जलसतह क्रमशः घट्दै गएको र अवस्था सामान्यतर्फ उन्मुख रहेको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
चार दिनको भारी वर्षामा ५४२ विपद्का घटना, २७ जनाको मृत्यु
-
चार दिनपछि खुल्यो बिपी राजमार्ग
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले माउण्टेन र दरमखोला जलविद्युत् आयाेजनाकाे विद्युत् उत्पादन र प्रसारण ठप्प,नेप्सेलाई पठाइयाे छुट्टाछुट्टै पत्र
-
दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीले बगाएपछि…